तीन लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि

सुर्खेत, ३० फागुन ।
अघिल्ला वर्षमा जस्तै सुर्खेतमा यसपाली पनि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । यसपाली जिल्लाका करिब तीन लाख भन्दा बढी व्यक्तिहरूलाइै यो औषधि खुवाउने लक्ष्य रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने अभियान यही चैत्र ५ गतेदेखि सुरु हुनेछ । अभियानबारे जानकारी दिँदै जिल्ला स्वास्थ्य कार्यालयले त्यसको सबै तयारी पूरा भएको जनाएको छ । कार्यालयका अनुसार यो वर्ष पनि स्वास्थ्यकर्मीले घरघरमै पुगेर औषधि खुवाउने छन् । सुर्खेत जिल्लामा तीन लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य राखेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।
यो औषधि गर्भवती महिला र दुई वर्षभन्दा मुनीका बालबालिका बाहेक अरुलाई खुवाइनेछ । यो औषधिको बारेमा भ्रम र त्रास रहेको भन्दै कार्यालयले ढुक्क भएर सेवन गर्न आग्रह गरेको हो । जिल्ला स्वास्थ्य प्रमुख अधिकारीले अभियान अन्तर्गत जिल्लामा तीन दिनसम्म औषधि वितरण गरिने बताए । यसका लागि महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामार्फत् पनि औषधि खुवाइनेछ । स्वयम्सेविकाहरूलाई औषधि खुवाउने सम्बन्धी तालिम दिएर कार्यक्रममा खटाउने अधिकारीको भनाइ थियो । चैत ५ गते पहिलो दिन स्वास्थ्य स्वयम्सेविकाले खडा गरेको क्याम्पमा औषधि खुवाइने र चैत ६ र ७ गते छुटेकाहरूलाई औषधि खुवाउन घरदैलो कार्यक्रम गरिनेछ ।
दुई वर्ष मुनीका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, रातो भइ दुख्नु, हातगोडामा निला र काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।
हात्तीपाइले रोग क्यूलेक्स या अन्य जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्दछ ।
सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइ सक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठ, उदयबहादुर बिसी, प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, स्थानीय विकास अधिकारी अमृत लम्साल, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १ चैत्र २०७३, मंगलवार १७:२५