माफ गर्नुस्, यसमा मेरो भद्र असहमति छ !
समाज जहिलेसुकै विभाजित हुन्छ । विभाजनका बरु विभिन्न कारण, आयाम र पक्षहरू हुन्छन् तर समाज जहिलेसुकै विभाजित नै हुन्छ । हाम्रो समाज पनि विभाजित छ, हाम्रो सामाजिक संरचना पनि विभाजित छ । झन् हाम्रो जस्तो बहुभाषा, बहुधर्म, बहुसंस्कृति, बहुदल र बहुवर्ग भएको समाज विभाजित हुनु अस्वभाविक र असामान्य पक्कै पनि होइन । यति हो नेपाली समाज हिजो आर्थिक र सामाजिक रूपले मात्र विभाजित थियो । विस्तारै राजनीतिक रूपले विभाजित भयो । कुनै समय सामञ्जस्यतापूर्ण समाजको नमुनाका रूपमा रहेको नेपाली समाजमा हुँदाहुँदा अहिले धार्मिक रूपले, दार्शनिक रूपले, आध्यात्मिक रूपले, भौगोलिक रूपले अनि भावनात्मक रूपले विभाजनका धाँजाहरू फाट्दै र बढ्दै जान थालेका छन् ।
हो, समाज विभाजित हुनुपर्छ । विभाजनका पनि आप्mना सिद्धान्त र मूल्यमान्यताहरू छन् । विभाजित पक्षहरूका बीच हुने वादविवाद, छलफल, द्वन्द्व, तर्क र बहस इत्यादिका कारण समाजको चेतनास्तर उकासिन्छ, सहि गलत पर्गेल्न सिक्छ । एवम्रितले समाज अगाडि बढ्छ । यो सामाजिक सिद्धान्त हो । तर कुनै यस्ताखालका विभाजन पनि हुन्छन् जसले समाजका हरेक क्षेत्रमा क्षयीकरण मात्र गर्छन । ठीक त्यस्तै व्यहोराको विभाजनको अभ्यास पछिल्लो समय नेपालमा भइरहेको छ । कहिले दल विशेषका नाममा, कहिले धर्म विशेषका नाममा, कहिले वर्ग विशेषका नाममा, कहिले जाति विशेषका नाममा, कहिले भूगोल क्षेत्र विशेषका नाममा । हुँदा–हुँदा पछिल्लो समय विभाजनको ठूलो र गहिरो खाडल खनिदैंछ, राष्ट्रवादी र लम्पसारवादीका नाममा । त्यही खाल्डोमा एकले अर्कालाई कहिले नउकासिने गरी पुर्ने प्रयास भइरहेको छ राष्ट्रवादी र लम्पसारवादीका नाममा । समाजको अग्रगामी रूपान्तरणको ‘नेतृत्व’ हैन, स्वघोषित रूपमा ‘ठेक्का’ लिएका ठेकेदारहरूलाई हामी यो समाजमा विभाजनको कस्तो लकिर खिचिरहेका छौं भन्ने कुराको हेक्का सायद त्यतिबेला मात्र होला जतिबेला उनीहरूकै एउटा खुट्टो त्यही खाल्डोको ढिकमा पुग्ला । (नोटः नेतृत्व लिनेले विभाजन र विविधतालाई एकतावद्ध गरी समाजलाई प्रगतिमा डो¥याउँछ न कि आप्mनो फाइदा घाटा हेरेर समाजलाई लडाउने भिडाउने गर्छ । त्यसैले यहाँ त्यस्ता प्रवृत्ति भएका व्यक्तिलाई ठेकेदार भनिएको हो, अन्य कुनै पेशा विशेषलाई इंगित गर्न खोजिएको होइन ।)
खैर, विभाजनकै प्रसंग उप्काइ रहँदा भन्नैपर्ने हुन्छ विभाजनको थोरबहुत बाछिटा स्वभाविक रूपले समाजका हरेक आधारभूत संरचनामा त पर्छ नै । एकाघर परिवारमै पनि कुनै विषय वा मुद्दा विशेषमा बाबुआमाले छोराछोरी र छोरीछोरीले बाबुआमामध्ये कुनै एकलाई मात्र समर्थन गर्ने अवस्था आउँछ भने बाह्य संसारमा त्यसलाई अनौठो मान्नुपर्ने कुनै कारण नै छैन । पछिल्लो समय फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोगले आफ्नो घरपरिवार, समाज र आफ्नो देशमा मात्र होइन, देश विदेशका सानाठूला हरेक घटनाक्रमबारे जानकारी लिने र तत्काल प्रतिक्रिया जनाउन पाउने प्रक्रियालाई बेहद छरितो बनाइसकेका छन । आजकल अधिकांश सार्वजनिक चासोका विषयहरूमा केन्द्रीत बहस र छलफल चिया चौतारीमा कम फेसबुकका भित्तामा बढि हुने गरेका छन् । भलै तीमध्ये केही अति अचाक्ली, अभद्र, अमर्यादित, असभ्य र अश्लिल होलान् । तर अधिकांश जसो तार्किक, मननयोग्य र प्रशंसनीय पनि हुन्छन् ।
यसरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका विचारहरूलाई कसरी लिने ? व्यक्तिगत रूपमा पोखिने यस्ता विचारहरूले संस्थागत प्रतिनिधित्व गर्छन् कि गर्दैनन् ? संस्थागत मान्यता पाउँछन् कि पाउँदैनन् ? यस्ता विचारहरू विशुद्ध व्यक्तिगत हुन्छ कि संस्थागत पनि ? यो प्रश्न भने गम्भीर रूपमा उठेको छ । किनकी कुनै एउटा संस्थामा आवद्ध भएको व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोगको सामाजिक सञ्जालमा गर्ने टिप्पणी वा जनाउने प्रतिक्रियालाई लिएर उसको सिंगो संस्थाको संस्थागत एवम् आधिकारिक धारणा मान्ने कि नमान्ने ? उसले व्यक्त गरेका प्रतिक्रिया वा टिप्पणीका आधारमा ऊ आवद्ध संस्था, कार्यालय वा राजनीतिक दललाई गाली गर्न या प्रशंसा गर्न मिल्ने कि नमिल्ने ? यो प्रश्न किन पनि मेरो मथिंगलमा उठ्यो भने, विभाजनकै विषय र सन्दर्भमा कुरा गरिराख्दा पत्रकारिता पेशा अपनाई रहेका मेरा कतिपय मित्रहरूले आ–आफ्नो सामाजिक सञ्जालमार्फत् बेलाबखत राजनीतिक विषयमा विभाजित टिकाटिप्पणीहरू गरेको मैले पनि देखेको छु, पढेको छु । उहाँहरूको टिप्पणी पश्चात् आउने अधिकांश प्रतिक्रियाको मूलमर्म एउटै हुन्छः ‘पत्रकारले राजनीति गर्नु हुँदैन, राजनीति गर्ने भए पत्रकारिता छोडेर पार्टीको झोला र झण्डा समाउनुस् ।’ यी र यस्तै सुझावरूपी प्रतिक्रिया बढी आइरहेको पाउँछु । जुन अचाक्ली र अस्वभाविक पनि लाग्दैनन् । तर के उसो भए पत्रकारले व्यक्तिगत रूपमा कुनै दल विशेषका बारेमा सकारात्मक वा नकारात्मक टिप्पणी गर्नै नपाउने हो त ? उसलाई चित्तबुझेको विषयमा समर्थन जनाउने र मन नपरेको कुरामा विमति राख्नै नपाउने हो त ? आफ्नो व्यक्तिगत रूपमा सञ्चालन गरिएको सामाजिक सञ्जालमार्फत् आफ्ना व्यक्तिगत भावना पोख्नै नपाउने हो त ?
पत्रकार पनि यही समाजको एउटा पक्ष हो भने पत्रकारिता पनि यही समाजको एउटा संरचना हो । विषयगत विभाजनको बाछिटाले जसरी एउटा स्वतन्त्र व्यक्तिलाई समेत छुन्छ भने यो समाजमा हुने हरेक गतिविधि र सार्वजनिक चासोका विषयमा उसले त आफ्नो मत राख्न पाउँछ भने पत्रकारिता पेसा अपनाएकै कारण कसैलाई त्यो अधिकारबाट वञ्चित गरिनुपर्छ भन्ने मान्यता लोकतन्त्रमा सुहाउँदो होइन, माफ गर्नुहोला यसमा मेरो भद्र असहमति छ । किनकी नेपालको संविधानले समेत वाक स्वतन्त्रता सुनिश्चित गरिसकेको खण्डमा कुनै सार्वजनिक विषयवस्तुमा आफ्नो धारणा राख्न सबैले पाउनुपर्छ भन्ने मान्यतालाई सहज रूपले आत्मसात् गरौं, स्वीकारौं । बरु, पत्रकारिता पेशा अपनाएको कुनै व्यक्तिले आफू आवद्ध सञ्चारमाध्यमार्फत् बिना आधार, प्रमाण कसैको भजनकीर्तन त कसैको मानमर्दन गर्छ भने औला त्यतिबेला ठड्यायौं, त्यतिबेला त्यस्ता पत्रकार र सञ्चारगृहलाई बहिष्कार गरौं, नपढौं, नसुनौं । त्यो अधिकार पनि हामीलाई छ । तर ख्याल गरौं पत्रकारले व्यक्तिगत रूपमा सामाजिक वा राजनीतिक विषयवस्तुमा टिकाटिप्पणी गर्नका लागि पार्टीको झोला भिर्नैपर्छ भन्नु र मान्छे धार्मिक हुनका लागि खरानी घसेर, गेरु वस्त्र धारण गरेर आलोक निरञ्जन ! भन्दै हिँड्नुपर्छ भन्नु उस्तै उस्तै हो । माफ गर्नुहोस्, यसमा मेरो भद्र असहमति छ ।
सञ्चारगृह भनेको मन्दिर जस्तै हो । जसरी हामी मन्दिर प्रवेश गर्नुअघि हामीसँग भएका धेरै चिजवस्तु छडाएर बाहिरै राखेर भित्र पस्छौं न्यूजरुम पनि त्यही मन्दिर जत्तिकै पवित्र हुनुपर्छ, राख्नुपर्छ । त्यहाँ प्रवेश गर्नुअघि हरेक किसिमका राजनीतिक वाद, आदर्श, सिद्धान्त र मान्यतालाई ढोकाभन्दा बाहिरै राख्नुपर्छ । त्यो एउटा असल पत्रकारका लागि नैतिक वन्धन भन्नुस् या आधारसंहिता नै हो । यदि तपाईं (पत्रकार)ले समाचारको ए,बी,सी अनि यसका मूल्यमान्यता र आदर्शलाई नलत्याइकन आफ्नो पेशागत धर्म निर्वाह गरिरहनु भएको छ भने तपाईंले सार्वजनिक रूपमा राजनीतिक विषयमा बहस गर्दा तपाईंलाई तेरो पेशा छोड भनेर कसैले भन्न सक्दैन, मिल्दैन । तर, तपाईं पत्रकारिताको ए,बी,सी विपरित आफ्नो पत्रिका वा रेडियोमा पनि कसैको मानमर्दन र कसैको भजनकीर्तन मात्र गर्नुहुन्छ अनि सामाजिक सञ्जालमा पनि त्यै मात्र गर्नुहुन्छ भने मलाई माफ गर्नुस् यसमा मेरो भद्र असहमति छ, तपाईंलाई पत्रकारिता गर्ने नैतिक अधिकार छैन । बरु पार्टीकै झोला बोकेर ‘जय नेपाल’, ‘लालसलाम’ भन्दै गरे राम्रो होला । आफ्नो पेसागत जिम्मेवारी पूरा गर्ने नाममा तपाईं (पत्रकार) कुनै नेताको जति तलुवामुनी जानु हुन्छ, तपाई आफ्ना पाठक स्रोताको नजरमा त्योभन्दा पनि मुनी पुग्नु हुन्छ । त्यतिबेला तपाईंले आफूलाई मात्र होइन सिंगो पेसाको मानमर्यादा, गरिमा र महत्वलाई पातालमा पुर्याउनु हनेछ । माफ गर्नुस यसमा मेरो भद्र असहमति छ । मजस्ता तपाईंका हजारौं पाठक र लाखौं स्रोताहरूको भद्र असहमति छ ।
खासगरी पत्रकारितालाई मूल पेशाका रूपमा निरन्तरता दिइरहनुभएका साथीहरूले सामाजिक सञ्जालमा विचार पस्किदा पनि ख्याल गर्नुस्, तपाईको विचार विशुद्ध व्यक्तिगत हुँदाहुँदै पनि समाजले तपाईंलाई हेर्ने दृष्टि अलि फरक छ । तपाईंले अपनाएको पेसाकै कारण तपाईं शिक्षित, बुद्धिजीवि र सभ्य नागरिकमा दरिनु हुन्छ । तपाईंले व्यक्तिगत रूपमा लेख्ने र बोल्नु कुराले पनि धेरै अर्थ र मायना राखेको हुन्छ । तपाईंको विषयवस्तुप्रतिको धारणा अनुसार आमनागरिकले पनि आप्mनो धारणा बनाउने गर्छन् । त्यसैले सक्नुहुन्छ भने सामाजिक सञ्जालमा आफ्ना विचार विमर्श गर्दा पत्रकारिताको मूल्य मान्यतालाई आत्मसात् गर्नुस् । विभिन्न कारण र बहानामा हुने विभाजनलाई बढावा दिनेभन्दा पनि एकताबद्ध हुने सूत्र पहिल्याउनुस्, जसबाट जनमत र जनदबाब बढ्नसक्छ नीति निर्माताहरूलाई । यसो गर्दा तपाईंको बौद्धिक क्षमता, सामाजिक प्रतिष्ठा र पेशागत मर्यादापनि बढेर जान्छ । हैन कसैको समर्थन र विरोध गर्ने नाममा झन् विभाजन र विद्वेष फैलाउने गरी छुच्चा, छिद्रा या भद्धा कुरा गर्नुभयो भने मान्नुस् तपाईं आफ्नो बौद्धिक दरिद्रता मात्र प्रदर्शन गरिरहनुभएको छैन, आफू आवद्ध पेसाप्रति आम नागरिकको इज्जत विश्वास र पत्रकार हुँ भनेर हुँकार्ने आफ्नो नैतिकता स्वखलित गराइ रहनुभएको छ । र, अन्त्यमा फेरि पनि भन्छु, माफ गर्नुस् यसमा मेरो भद्र असहमति छ ।
(लेखक नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व सचिव हुन् ।)
प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार ११:०२
साझा बिसौनी ।