प्रभावकारी कार्यक्रम

कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका दश वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु ग¥यो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयहरूको पूर्वाधार सुधारमा उल्लेख्य प्रगतिसमेत देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले सबै स्थानीय पालिकामा विद्यालयका भवन धमाधम निर्माण भइरहेका छन् ।

हरेक स्थानीय तहका एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सुरु गरेको थियो । यो वर्ष पनि कार्यक्रमले निरन्तरता पाएको छ । कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कर्णालीका ७९ स्थानीय तहलाई ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षभन्दा बजेट थप गरेर कार्यक्रम कार्यान्वयन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अघिल्ला वर्षहरूमा प्रत्येक पालिकालाई तोकिएको विद्यालयमा पूर्वाधार निर्माण गर्न ४० लाखका दरले बजेट दिने गरिएको थियो । यो वर्ष बजेट बढाएर ५० लाख बनाइएको छ । विद्यालयहरूले प्राप्त बजेटबाट साविकको शिक्षा विभागले तोकेको भवन डिजाइन मापदण्डमा रहेर पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मापदण्ड तोक्ने र स्वीकृती दिने काम गर्दै आएको छ । यो वर्ष सुर्खेतका नौ स्थानीय तहमा नौ वटा विद्यालय छनोट भएका छन् । चार कोठे भवन निर्माणका लागि अघिल्ला वर्षहरूमा ४० लाख दिने गरिएको थियो । यो वर्ष बजेट बढाएर ५० लाख पु¥याइएको छ ।

सल्यानका दश पालिकामा भवन निर्माणको काम धमाधम भइरहेको छ । दैलेखमा ११ स्थानीय तहमा ११ वटै विद्यालय शैक्षिक पूर्वाधार निर्माणका लागि छनोट भएका छन् । जाजरकोटका सात वटा स्थानीय तहमा सात वटा विद्यालयका भवन निर्माण भइरहेका छन् । गत वर्षहरूमा ढिलागरी विद्यालय छनोट गरिँदा केही जिल्लाको बजेट फ्रिज हुनेगरेको थियो । यसवर्ष भने समयमै विद्यालय छनोट गरेर बजेट पठाइएको छ । जसले गर्दा अहिले काम धमाधम अघि बढेको छ । गत वर्षहरूमा आवश्यकताभन्दा पनि पहुँचका आधारमा विद्यालयहरूमा बजेट दिँदा लक्षित विद्यालयहरू मर्कामा परेका थिए । कार्यक्रमको उद्देश्य पूर्वाधार नभएका एक स्थानीय तहका एउटा विद्यालयमा शैक्षिक पूर्वाधार निर्माण गर्ने हो । तर, पहुँचका भरमा एकै पालिकाका धेरै विद्यालयले कार्यक्रम पाउने र कोही पालिका खाली हुने अवस्था विगतमा रहेको थियो ।

प्रकाशित मितिः   २९ फाल्गुन २०८०, मंगलवार ०५:०३