बेवास्तामा परेको विमानस्थल

गत असोज १३ गते कालीकोटको कोटबाडास्थित सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको परीक्षण उडान गर्ने कार्यतालिका तय गरिएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई वटै विमानस्थलको एकैपटक परीक्षण उडान गर्ने बताएका थिए । तर मन्त्री किराँतीले भने अनुसार उडान हुन सकेन । त्यसअघि गत भदौ १३ गते गर्ने भनिएको परीक्षण उडान पनि स्थगित भएको थियो । दुई पटक स्थगित भएर कालीकोटको सुनथराली विमानस्थल भने फागुन १३ गते परीक्षण उडानसहित १४ गते उद्घाटनसमेत भइसकेको छ । तर डोल्पाको मसिनेचौर विमानस्थल भने परीक्षण उडानकै पर्खाइमा छ । निर्माण कार्य सम्पन्न भइसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ । निर्माण सम्पन्न भएको वर्षौसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन् । घरआगनमै विमानस्थल बनेपनि कष्टपूर्ण यात्रा गर्नुपरिरहेको छ । मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकको गुनासो छ । पटक–पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ । यद्यपि, सञ्चालनका लागि पहल भइरहेको डोल्पाका जनप्रतिनिधिहरू बताउँछन् । परीक्षण उडानमा ढिलाइ भइरहेको विमानस्थललाई थप स्तरोन्नति गर्ने तयारी अघि बढाइएको छ ।

कर्णाली प्रदेशका दश जिल्लामध्ये सात जिल्लामा विमानस्थल छन् । रुकुम पश्चिम र डोल्पामा त दुई÷दुई वटा विमानस्थल छन् । तर सबै विमानस्थल नियमित सञ्चालनमा छैनन् । चार दशकपछि कालीकोटको सुनथराली विमानस्थल उद्घाटन गरिए पनि नियमित उडान निश्चित भइसकेको छैन । डोल्पाका दुईमध्ये एउटा विमानस्थल परीक्षण उडानकै पर्खाइमा छ । रुकुमपश्चिमका पनि दुवै विमानस्थल सञ्चालन हुन सकेका छैनन् । यसरी पूर्वाधार विकास गरेर पनि सञ्चालनमा ल्याउन नसक्नु राज्यको कमजोरी हो । राज्यकोषबाट करौडौं खर्च गरेर निर्माण गरिएका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यान दिनु जरुरी छ । मसिनेचौर विमानस्थलका लागि पनि आवश्यक सुधार गर्नुपर्ने भएमा गरेर सञ्चालन हुने अवस्थामा ल्याउन सरकारले ध्यान दिनुपर्दछ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०८०, सोमबार ०५:०३