शैक्षिक पूर्वाधार कार्यक्रम प्रभावकारी

 

 

सुर्खेत: कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका दश वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु ग¥यो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयहरूको पूर्वाधार सुधारमा उल्लेख्य प्रगतिसमेत देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले सबै स्थानीय पालिकामा विद्यालयका भवन धमाधम निर्माण भइरहेका छन् । हरेक स्थानीय तहका एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सुरु गरेको थियो । यो वर्ष पनि कार्यक्रमले निरन्तरता पाएको छ ।

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कर्णालीका ७९ स्थानीय तहलाई ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षभन्दा बजेट थप गरेर कार्यक्रम कार्यान्वयन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अघिल्ला वर्षहरूमा प्रत्येक पालिकालाई तोकिएको विद्यालयमा पूर्वाधार निर्माण गर्न ४० लाखका दरले बजेट दिने गरिएको थियो । यो वर्ष बजेट बढाएर ५० लाख बनाइएको छ । विद्यालयहरूले प्राप्त बजेटबाट साविकको शिक्षा विभागले तोकेको भवन डिजाइन मापदण्डमा रहेर पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मापदण्ड तोक्ने र स्वीकृती दिने काम गर्दै आएको छ ।

यो वर्ष सुर्खेतका नौ स्थानीय तहमा नौ वटा विद्यालय छनोट भएका छन् । चार कोठे भवन निर्माणका लागि नौ वटा विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । पछिल्लो वर्षहरूमा विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम प्रभावकारी बन्दै गएको निर्देशक दिपा हमालले बताइन् । उनका अनुसार चार कोठे भवन निर्माणका लागि अघिल्ला वर्षहरूमा ४० लाख दिने गरिएको थियो । यो वर्ष बजेट बढाएर ५० लाख पु¥याइएको छ । ‘यो कार्यक्रम निकै प्रभावकारी मानिएको छ,’ हमालले भनिन्, ‘प्रत्येक वर्ष यसको आवश्यकता बढिरहेको छ । एउटै पालिकामा संख्या थप गरेर कार्यान्वयन गर्नुपर्छ ।’ सरकारले कार्यक्रमको आवश्यता बुझेर विद्यालयको संख्या थप्नुपर्ने हमालले बताइन् ।

सल्यानका दश पालिकामा भवन निर्माणको काम धमाधम भइरहेको छ । चार कोठे भवन निर्माणको काम भइरहेको सामाजिक विकास कार्यालय सल्यानले जनाएको छ । यो वर्ष समयमै भवन निर्माणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी हरिप्रसाद सापकोटाले बताए । दैलेखमा ११ स्थानीय तहमा ११ वटै विद्यालय शैक्षिक पूर्वाधार निर्माणका लागि छनोट भएका छन् । अहिले भवन निर्माणको काम धमाधम भइरहेको सामाजिक विकास कार्यालय दैलेखले जनाएको छ । जाजरकोटका सात वटा स्थानीय तहमा सात वटा विद्यालयका भवन निर्माण भइरहेका छन् । गत वर्षहरूमा ढिलागरी विद्यालय छनोट गरिँदा केही जिल्लाको बजेट फ्रिज हुनेगरेको थियो । यसवर्ष भने समयमै विद्यालय छनोट गरेर बजेट पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसले गर्दा अहिले काम धमाधम अघि बढेको छ ।

गत वर्षहरूमा आवश्यकताभन्दा पनि पहुँचका आधारमा विद्यालयहरूमा बजेट दिँदा लक्षित विद्यालयहरू मर्कामा परेका थिए । कार्यक्रमको उद्देश्य पूर्वाधार नभएका एक स्थानीय तहका एउटा विद्यालयमा शैक्षिक पूर्वाधार निर्माण गर्ने हो । तर, पहुँचका भरमा एकै पालिकाका धेरै विद्यालयले कार्यक्रम पाउने र कोही पालिका खाली हुने अवस्था विगतमा रहेको थियो । सुर्खेतमा नौ वटा स्थानीय तह भएपनि गतवर्ष २२ विद्यालय छनोट भएका थिए । यो वर्ष भने नौ वटा विद्यालय छनोट गरिएको छ । यो वर्ष अन्य जिल्लाहरूमा पनि एक पालिकामा एक मात्र विद्यालय छनोट गरिएको जनाइएको छ ।

प्रदेश सरकारले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ थप व्यवस्थित बनाउँदै छ । सुरुको आर्थिक वर्ष २०७६/०७७ मा ६ कोठे भवन निर्माणका लागि ५० लाख दिने गरिएको थियो । त्यसपछि आर्थिक वर्ष २०७७/०७८ देखि चार कोठे भवन निर्माण गर्नेगरी ४० लाख दिनेगरिएको थियो । अघिल्ला वर्षहरूमा ढिलागरी विद्यालय छनोट हुँदा बजेट कार्यान्वयनमा समस्या हुनेगरेको थियो । गत आर्थिक वर्षहरूबाट समयमै बजेट सुनिश्चित गरेर पालिकामा पठाउने गरिएको छ । यो वर्ष विद्यालय भवन निर्माणको काम समयमै सुरु गरिएको छ । शैक्षिक पूर्वाधार कार्यक्रमलाई व्यवस्थीत बनाउन यो वर्ष बजेट थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख खडानन्द खत्रीले समयमै विद्यालय छनोट गरेर भवन निर्माणको काम सुरु गरिएको बताए । कार्यक्रम कार्यान्वयनका लागि यो वर्ष ७९ स्थानीय तहलाई ३९ करोड ५० लाख बजेट पठाइसकिएको उनले जनाए ।

प्रकाशित मितिः   २८ फाल्गुन २०८०, सोमबार ०५:०५