मैत्रीपूर्ण फुटबल प्रतियोगिता

 

सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा महिला र पुरुष टिमले संयुक्त खेल खेलेका थिए । महिला टिमको कप्तानी कर्णाली प्रदेश सभा उप–सभामुख यसोदा न्यौपानेले गरेकी थिइन् भने पुरुष टिमको कप्तानी कर्णाली प्रदेश सरकारका जल श्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले गरेकी थिइन् ।

सुर्खेत वीरेन्द्रनगर कालिन्चोक स्थित रग्बी मैदानमा भएको उक्त प्रतियोगितामा दुवै टिमको एक÷एक गोलको बराबरीमा खेल टुङ्गिएको थियो । कर्णाली प्रदेशसभा उपसभामुख न्यौपानेले कर्णाली प्रदेश खेलकुद विकास परिषदले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेकोमा परिषद्लाई धन्यवाद दिइन् । ‘खेलमा हार जित स्वाभाविकै हुन्छ, आजको खेलले खेल नियमित खेल्नु पर्छ भन्ने लाग्यो’ उनले भनिन्, ‘अब कर्णाली खेलकुदमय बनाउनको लागि सबैले खेलको महत्व बुझि खेल खेल्न तिर रुचि राख्नु पर्छ ।’

जलश्रोत तथा ऊर्जा विकास मन्त्री विश्वकर्माले खेलको बास्तविक अनुभूति खेल खेलिसकेपछि मात्र थाहा हुने भन्दै सबैले एक पटक खेल्नु पर्ने बताइन् । खेलाडीहरूसँग सँगै खेल खेल्दा रमाइलो अनुभूतिको भएको भन्दै मन्त्री विश्वकर्माले यस्ता मैत्रीपूर्ण प्रतियोगिताहरू नियमित हुनु पर्ने बताइत् ।

प्रकाशित मितिः   २६ फाल्गुन २०८०, शनिबार ०५:०२