एक लाखको अक्षयकोष स्थापना
सुर्खेत: नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतले मानवसेवा आश्रममा एक लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा संगठनले बेसहारा सडक आश्रित मानवहरूको संरक्षण गर्दै आएको आश्रमलाई एक लाख ११ हजार एक सय ११ रपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोष स्थानार्थ संकलित उक्त रकमको चेक नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीले मानवसेवा आश्रमकी कर्णाली प्रदेश संयोजक संचिता गौतमलाई हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरणमा बोल्दै अध्यक्ष भण्डारीले आश्रमको मानवता प्रवद्र्धनको अभियानमा थोरै भएपनि सहयोग पुग्ने हेतुले अक्षयकोषको स्थापना गरेको बताए । गत साल आश्रममा अक्षयकोष स्थापना गर्ने संगठनको घोषणा बमोजिम संगठनमा आवद्ध शिक्षकहरूको स्वेच्छिक सहयोगबाट मानवसेवाका लागि रकम संकलन गरिएको उनले बताए ।
अक्षयकोषबाट प्राप्त हुने मासिक ब्याजबाट आश्रम शाखा सुर्खेतमा आश्रित सडक मानवहरूको पालनपोषणमा थोरै भएपनि टेवा पुगोस भनेर अभियानको थालनि गरिएको भण्डारीको भनाइ थियो । हाल आश्रममा कर्णालीका विभिन्न जिल्लाका ८९ जना साहाराविहीन मानवहरूले आश्रय लिइरहेका छन् ।
प्रकाशित मितिः २६ फाल्गुन २०८०, शनिबार ०५:०१
साझा बिसौनी ।