अवसरबाट वञ्चित
प्रदेश राजधानी वीरेन्द्रनगर–१० स्थित पठान टोलमा पाँच दशकअघिदेखि बसोबास गरिरहेको बस्ती छ । तर राजधानीभित्रकै यो बस्ती राज्यबाट भने उपेक्षित छ । यहाँका नागरिकले विकासका आधारभूत पूर्वाधारसमेत उपभोग गर्न पाएका छैनन् । शौचालय, स्वच्छ खानेपानी, बिजुली, बाटोघाटो, विद्यालयलगायतका भौतिक पूर्वाधार उपलब्ध हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरबाट वञ्चित छन् । अझ ठूलो समस्या त तीन पुस्तादेखि उपभोग गरिरहेको जमिन समेत यहाँका नागरिकको नाममा छैन । सुकुम्बासी जीवन बिताइरहेका छन् । सुकुम्बासी हुनुको पीडा एकातिर छँदैछ अर्कोतिर राज्यले प्रदान गर्नुपर्ने न्यूनतम सेवाबाट समेत वञ्चित भइरहेका छन् ।
जग्गाधनी पुर्जा नभएकै कारण विभिन्न सेवाबाटसमेत वञ्चित हुनु परेको बस्तीका नागरिक बताउँछन् । जग्गाधनी पुर्जा नहुँदा आर्थिक कारोबार गर्न समस्या हुने गरेको छ । जग्गाधनी पुर्जा नहुँदा बसिरहेको जमिनमा व्यवस्थित र सुरक्षित घर बनाउन पनि समस्या भइरहेको छ । त्यति मात्रै होइन कुनै व्यवसायका लागि आवश्यक रकम जोहो गर्न ऋण लिनसमेत नसकिएको पीडाबाट गुज्रिनु परेको छ । सुकुम्बासी बस्तीका नागरिक आर्थिकरूपमा पनि कमजोर छन् । आम्दानीका अवसर छैनन् । कतिसम्म भने कैयन् परिवारलाई बिजुलीको मिटर जोड्नसमेत समस्या भइरहेको छ । पठान टोलका करिब नौ वटा घरधुरीले धरौटी रकम बुझाउन नसकेका कारण बिजुलीको मिटर जोड्न पाएका छैनन् । सुकुम्वासी बस्ती अस्थायी भएको भन्दै अन्य पूर्वाधारको विकासका योजना नपार्ने गरेको देखिन्छ । अशिक्षा, गरिबीलगायतका कारण आधारभूत आवश्यकता परिपूर्तिका लागि यहाँका युवाहरू रोजगारीको खोजीमा भारत जाने गरेका छन् । बस्तीमा गुणस्तरीय बीउ, मल, आधुनिक कृषिका उपकरण र थप सरकारी स्रोत साधनहरूमा पहुँच पुग्न सकेको छैन । सिँचाइ सुविधा नहुँदा समुदायले खाद्य असुरक्षाको सामना गरिरहेको छ । शिक्षाको सुविधाबाट नागरिकहरू वञ्चित हुनुपरेको छ भने सरकारी स्रोतहरूमा नागरिकको सहज पहुँच अझै पुग्न सकेको छैन ।
एकातिर पुर्जा नहुँदा राज्यले प्रदान गर्ने सेवा लिनबाटै पठान टोलका नागरिक वञ्चित छन् भने अर्कोतर्फ जनचेतना र सामाजिक पहुँचको अभावका कारण पनि थप समस्या झेलिरहेका छन् । गास र बासकै चिन्ता हुनेगरेकाले आधारभूत आवश्यकताबाटै वञ्चित भइरहेको अवस्था छ । पठान टोलका एक सय १७ परिवारसँग जग्गाधनी पुर्जा छैन । नागरिकहरूलाई न्यूनतम अधिकार वा अवसरबाटै वञ्चित हुन नदिन राज्य गम्भिर हुनुपर्दछ । विकासको अवसर समानरूपमा वितरण गर्न जरुरी हुन्छ । विकासमा अघि रहेका मानिने सहरी क्षेत्र आसपासकै बस्ती यतिसम्म विकराल अवस्थामा हुनुले हाम्रो विकासको गति र पहुँच कति कमजोर छ भन्ने देखाउँछ ।
प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १४:३९
सम्पादकीय ।