चलचित्रका तिता–मीठा अनुभव

 

 

ठूला मान्छेहरूले स्यानिमा खेल (सिनेमा) को कुरा गर्दा अचम्म लाग्थ्यो । गाडी मोटर र जहाज भित्तामै चलेको–उडेको देखिने, मान्छे पनि भित्तामै बस्ने, हिँड्ने । बोल्ने भनेको सुन्दा पत्याउनु ! भित्तामा त्यो सम्भावना हुनै सक्दैन कसरी पत्याउनु ! नपत्याउनु मान्छेहरू आपसमा स्वाद चपाएर त्यसरी बात मारेका थिए ।

स्यानिमा खेल नदेख्दासम्म त्यो उत्सुकताले खुब सताइरह्यो । जिद्दी गरिरहेको थिएँ, एकदिन साँझको खाना सबेरै खाएर म पनि गएँ आमासँग स्यानिमा खेल हेर्न । हामीले जस्तै छिमेकमा सबैले दैलामा ताल्चा मारेर हिँड्थे खेल हेर्न । सुर्खेतमा राजाको स्वारी (सवारी) हुँदा देखाइँदा रहेछन् त्यस्ता खेल । कहिले बजार, कहिले नौलापुर त कहिले अन्यत्र पनि देखाइँदा रहेछन् । सेतो पर्दा टाँगेर प्रोजेक्टरको माध्यमबाट लाइट हालेर देखाइने डकुमेन्टरी (वृत्तचित्र) हामीलाई त्यतिबेला के थाहा ! ए हो त रहेछ, साँच्चै त रहेछ सबै खेल भित्तामै पो देखिएको थियो । राजारानी भित्तामा कसरी आए, मोटर कसरी दौडियो ? खेल हेर्ने उत्सुकता मेटियो तर कौतुहलता थपियो । घर आएपछि अनगिन्ती प्रश्न गरिरहेँ आमालाई । आमालाई पनि के थाहा र ! सकेसम्म मेरो जिज्ञासा मेटिदिने काम गर्नुहुन्थ्यो आमाले । विद्युतीय सञ्चार, मनोरञ्जन र प्रविधिबाट त्यति टाढाथियो हाम्रो बाल्यकाल ।

आमासँग जाँदा मैले हेरेको पहिलो नेपाली चलचित्र ‘आमा’ हो । गजब थियो त्यसले मन खिचिदियो । साथीसँग हेरेको पहिलो हिन्दी चलचित्र ‘शोले’ हो, हिन्दी भाषा पूरै नबुझे पनि भाव बुझिन्थ्यो । त्यहाँ अमिताभ बच्चन घाइते भएर मरेको देख्दा बालसुलभ मन पग्लेर बरर आँसु झ¥यो । पछिपछि सुर्खेतमा सशुल्क भिडियो देखाउन थालियो । तब स्कुलको पढाइलाई थाँती राखेर हिन्दी भाषाका भिडियोले तन, मन र धन तान्न थाल्यो । एउटा शो हेर्न पाँच रूपैयाँ पो चाहिन्थ्यो ।

चलचित्रको कथा व्यहोरा बुझ्ने ल्याकत भएपछि साथीभाइसँग हिन्दीमा बात मारिन्थ्यो । किशोर अवस्थाबाट उमेर उकालो लागेपछि सम्पर्क र घुमफिरको दायरा पनि बढ्यो । नेपालगञ्जमा सिनेमा हल थियो, तब त्यहाँ कहिलेकाहीँ नेपाली चलचित्र हेर्न पाइन्थ्यो । सिनेमा देखाउने घर देख्दा चकित परेको थिएँ किनभने त्यत्रो घर हुन्छ भनेर चिताएकै थिइनँ । तल–माथि, अघि–पछि बालकोनी अचम्म !

सिनेमा हेर्दा सुरुमा राष्ट्रिय गान बज्दोरहेछ । काठमाडौंमा झन् धेरै थिए हलहरू नेपाली चलचित्र पनि प्रशस्तै हेरियो । सुर्खेतमा धेरै पछाडि बनेको हो सिनेमा हल ।

‘मनको बाँध’, ‘हिजोआज भोली’, ‘नाता रगतको’, ‘कुसुमे रुमाल’, ‘परालको आगो’, ‘जूनी’, ‘साइनो’, ‘चिनो’, ‘बन्धकी’ लगायतका अन्य सफल सिनेमाले नेपाली मौलिकताको चिनारी राखेका छन् । चेत विनाको रहरले मात्रै सिनेमाको विकास पुग्दैन, त्यसको गहिरो ज्ञान चिन्तन अध्ययन लगनको पनि त्यत्तिकै आवश्यक पर्छ । संसारका सबै कुरा कसैले पनि पूरापूर जानेको हुँदैन । नजानेका कुरा थाँती राख्दैन र अतिजान्ने टोपलिएर विषय तोडमोड पनि गर्दैन । सफल निर्देशकले बरु सोधखोज गरेर तथ्य भेटेपछि मात्र सिनेमाको अंग बनाउँछ । पहिला हेरिएका ती नेपाली चलचित्रले मनमा गहिरो प्रभाव छोड्ने ल्याकतका हुन्थे, कथा उपकथाका छालहरू दौडन्थे कल्पनामा । अब्बल हिन्दीभन्दा कम थिएनन् ती नेपाली सिनेमा ।

ज्ञान र अध्ययन विना एकैचोटि नाम र दाम कमाउने रहर पालेर सिनेमा क्षेत्रमा जब एउटा भिड पस्यो तब यो उद्योग धराशायी मात्रै बनेन, विस्तारै दक्ष, योग्य र काबिल निर्माता निर्देशकहरू पनि ओझेल पर्दै गए । अज्ञान र अल्पज्ञानले सिनेमा क्षेत्र बर्बाद भएको कुरा लेखक र स्तम्भकारले लेखिरहे तर पनि रहरले मात्रै बनेका सिनेमाहरूकै आपसी प्रतिस्पर्धा चल्न थाल्यो । त्यतिबेला विज्ञापन सुनेका दर्शक श्रोतालाई सम्झना होला, पहिलोपटक हिमाल पारी सुटिङ गरिएको फिल्म, नेपालमा पहिलोचोटि बाँदरसँग सुटिङ गरिएको फिल्म, पहिलोपटक झरनामा नुहाउँदै गर्दा गाना गाएको फिल्म । दर्शकलाई झुक्याउन पहिलोचोटि ढिस्कानो भन्ने थेगो अनिवार्य राखिन्थ्यो । कतिले त फिल्म हेरेर रुने दर्शकलाई आँसु पुछ्न रुमाल दिने भन्ने हल्ला चलाउँथे । सिनेमाको गुणस्तर सुधार्नुको सट्टा दर्शक हलमा तान्नका लागि अनेक फण्डा गर्थे । सिनेमा जुनसुकै हेरे पनि प्रायः एउटै ढर्राका हुन्थे । सिनेमाको संवाद पनि अलिकति भिन्न तरिकाबाट बोलिनुपर्छ भन्नेमा जोड हुन्थ्यो । व्याकरणका कुरा परै सारौँ सामान्यज्ञान पनि नराखेर संवाद बोलिन्थ्यो । एउटा प्रतिकात्मक उदाहरणका लागि ‘बाघले कहिल्यै पनि रहरले घाँस खान्न बुझिस् ?’ कतिपय संवाद यस्तै ढंग, शैली र प्रकृतिका हुन्थे । संवादमा रहर शब्द किन राखियो ? त्यसले अर्थको अनअर्थ बनायो कि बनाएन ? रहरले होस् या कहरले बाघले कहिल्यै पनि घाँस खान्न यो ध्रुवसत्य हो । जाँचपास गर्ने जाँचकीहरूले समेत त्यस्ता कुरा पनि नहेर्दा नभेटाउँदा वा अज्ञानताले सामथ्र्य नराख्दा प्रोत्साहन थपिँदै गयो । दिक्दार कोटिका हुन्थे देखासिखी र रहरले बनेका ती सिनेमाहरू । हिन्दी सिनेमाको कारणले नेपाली सिनेमा चलेन, हिन्दी जसरी रोक्नैपर्छ भन्ने गनगन र हारगुहार पनि उनीहरूकै चर्को सुनिन्थ्यो ।

यही हिउँदको सुरुतिर सुर्खेतका एक प्रभावशाली वरिष्ठ रंगकर्मीबाट सामूहिक रूपमा एउटा चलचित्र हेर्नुपर्ने प्रस्ताव आएपछि म थोरै अलमलमा परेँ । किनभने आजभोलि खोजे जस्तो र भने जस्तो चलचित्र आफ्नै टेलेभीजन र ल्यापटपमा पाइने हुँदा अब हलसम्म धाएर हेर्ने जाँगर हराइसकेको थियो । साहित्य र कलाकारीताका मूर्धन्य व्यक्तित्वहरूसँग सामूहिक रूपमा हेर्न पाउनु भनेको सुखद क्षण पनि हो, यसर्थले मनमा थोरै उत्साह जाग्यो । त्यसरी उत्साह समेटेर सामुहिक रूपमा हेरिने चलचित्र उत्तम भएर मनोरञ्जन दिए त सार्थक पनि भयो, तर खत्तम भएर झन वितृष्णा मात्रै पो थपिदिन्छकी भन्ने शंका पनि मनमा तेर्सिन आइपुग्यो । चलचित्रजस्तो होला तर अवसर नछुटाउँ भन्ने हेतुले आरंग नेपालका रंगकर्मीहरूसहित गीत, संगीत र नाट्यकर्मका सुर्खेती शिखर पुरुषहरूसँग चलचित्र हेर्ने निधो भयो ।

चलचित्रसँग आफ्नो लगाव र अनुभव नभए पनि केही उम्दा सिनेमामा उत्कृष्ट भूमिका निर्वाह गरेका आफन्त रंगकर्मीहरूसँग हेर्नु बेग्लै आनन्द रहन्छ तर सिनेमा असल भइदियोस् । त्यसो त चलचित्र पनि नाटककै एउटा विस्तृत रूप न हो । रंगमञ्चीय नाटक रंगमञ्चमा नै सीमित हुन्छ भने विद्युतीय माध्यम र कारणले सिनेमाको दायरा व्यापक हुन्छ । रंगमञ्चमा अटाउन नसक्ने मोटर गाडी, रेल, जहाज समुन्द्र सागर पहाड हिमाललगायत कैयन दृश्यलाई समेटेर कलालाई यथार्थपरक र जीवन्त पारिदिन्छ । काठमाडौंमा एकपटक इच्छा नहुँदा पनि सिनेमा हेर्नैपर्ने स्थिति आयो ।

दिक्दार कोटिकै त होला भन्ने अडकल थियो, ‘लूट’ नामको सिनेमा त गजब उम्दा पो रहेछ । कथा, अभिनय, घटनाक्रम सबैसबैको बेजोड संगम । बर्बादीको समय अवधिमा पनि कुनै–कुनै सिनेमा यति जीवन्त बन्दारहेछन् । रहरका सस्ता सिनेमा यति धेरै उत्पादन भएकी असल सिनेमाहरू पनि त्यसमै डुबेर हराउन थाले । निर्माता निर्देशकलाई पनि ती असल सिनेमा दर्शकसम्म लैजान हम्मेहम्मे प¥यो । दर्शकमा विश्वास हराउँदै गएको थियो भने सिनेमामा मौलिकता र गुणस्तर पनि कायम रहन सकिरहेको थिएन ।

सिट व्यवस्थापन बमोजिम हाम्रो बसाइपछि सिनेमा सुरु भएर कथासार र अभिनय थोरै बगिरहेको थियो, मनमा झर्लक्क नेपालगञ्जको घटना ताजा भएर आयो । २०६८ सालतिर नेपालगञ्जमा पनि प¥यो एकचोटि त्यस्तै बाध्यता । लखनउबाट नेपालगञ्ज सबेरै आइपुगियो । काठमाडौंका लागि रात्रीबसको टिकट पनि तुरुन्तै पाइयो । झोला बोकेर कोही आफन्तकोमा गइहाल्न पनि त्यति उचित लागेन । दिनभरको समय बिताउने खास्सा उपाए भनेको सिनेमा नै थियो । हिन्दी सिनेमाको चाहना थियो तर दुई वटै हलमा नेपाली मात्रै चलेका थिए । हिन्दी खोजिनुको परोक्ष कारण बारे माथि नै विवेचना भइसकेको छ । मनोरञ्जनका साथै ज्ञान र सन्देश पनि त हुन्छ सिनेमासँग । रकम तिरेपछि सन्तुष्टि र असुली पनि चाहिन्छ । त्यसकारणले हो हिन्दी खोजिएको । जब चल्यो नेपाली सिनेमा निर्देशक नै होटल साहुको भूमिकामा देखियो । त्यही होटल साहु नै फेरि पण्डितको भूमिकामा, अर्कोमा र अर्कोमा पनि । एउटै व्यक्ति चार वटा फरक–फरक भूमिका निभाएको मानौँ अरु खेल्ने पात्र कोही भेटिएनन् । कतैकोमा मुख बङ्गाएर, त कतै बोली लर्बराएर भूमिका फरक होनि भन्ने भान पार्न खोजिएको छ तर दर्शक त्यति मूर्ख छैनन् कि मान्छे नै नचिनुन् । कथासारले पनि दिमाग कोतर्न थाल्यो । बाल्कोनीमा बस्नुको पनि केही उपादेयता भएन, निर्धारित समय पूरा नभएसम्म गेट नखुल्ने हुँदा उठेर जान पनि नमिल्ने । कस्तो साइत परेछ कुन्नि जेलमा परेजस्तै भयो । होटेलमा गएर सुस्ताएको भए हुनेथियो भन्दै थकथकाएर समय काटियो ।

पछिल्लोपटक सामुहिक रूपमा हेरिएको सिनेमामा एउटै व्यक्तिको चार वटा भूमिका त थिएन । कथाको विषय पनि समसामयिक नै थियो तर प्रस्तुति शैली अभिनयको तारतम्य नमिल्दा कथामाथि उचित न्याय हुननसकेको जस्तो देखियो । मानौँ कोही पात्र जापान अस्ट्रेलिया गएको छ र त्यतैको दिनचर्या देखाउनु छ भने केही एउटा आइकन देखाउनुपर्छ होला । गाउँ वा सहरको बस्ती मान्छे रहनसहन देखाउनुपर्छ होला । काम गर्दा त्यहाँका मान्छेहरूसँगको घुलमिल हुन्छ होला । यस्ता कुरामा बजेट खर्च हुन्छहोला तर बजेटको मायाले यतैतिरको एउटा कोठामा पात्रलाई सीमित राखेर जापान र अस्ट्रेलियाको आभास दिन खोजिन्छ भने घटना विश्वासनीय लाग्नै सक्दैन, त्यसले सबै फितलो बनाइदिन्छ । रोदनका लागि पनि केही कारण चाहिन्छ, अकारणको रोदन हास्यास्पद हुन्छ । अकारणको हाँसो तमासा हुन्छ । सायद अज्ञानताले होला यस्ता दुर्गुणहरू समेटेको थियो सिनेमाले ।

मनमा शंका पालेर हेरेको पछिल्लो पटकको सिनेमा पनि दिकदार कोटिकै परेछ । नेपालगञ्जमा हेरेको सिनेमासँग हैरान थिएँ पछिल्लो सिनेमाले पनि उस्तै नौबत ल्याइदियो ।

कामको कृति राख्ने र दर्शकमा छाप छोड्ने विचारले भन्दा पनि दर्शकलाई छक्याएर असुल्ने उद्देश्यले मात्रै निर्माण हुन थाले दिकदार कोटिका सिनेमाहरू । बजार आफ्नो बनाउन सकिएन भनी बाहिरका सिनेमालाई धारेहात लगाउनु भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ । जाँचपास गर्ने निकाय पनि विधि पद्धतिको अनुसरण गरेर जिम्मेवार बन्न सक्नुपर्छ । पैसा तिरेर मनोरञ्जन लिन आउने दर्शकलाई झुक्याएर मुर्ख बनाउने सस्ता र गुणस्तरहीन सिनेमालाई प्रोत्साहन गर्नु वाञ्छनीय हुँदैन । अब सिनेमाको मर्म, धर्म र गरिमा जोगाउँदै यो क्षेत्रलाई गतिशील बनाउन विषयका ज्ञाता, मर्मज्ञ र कर्मशील व्यक्तित्वहरूले लत्तो छोडेर आफ्नो जाँगर मारीरहनु हुँदैनकी भन्ने लाग्छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०८०, शनिबार ०५:०४