कर्णालीको पहिलो जित

सुर्खेत: विराटनगरमा सञ्चालित प्रथम कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । बुधवार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई तीन विकेट पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मधेशले अन्तिम बलमा अलआउट हुँदै ९० रनको सामान्य योगफल बनाएको थियो । उसका लागि प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन र अरनिको यादवले ११ रनको योगदान गरे । कर्णालीका दिवान पुनले ३, दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए ।

जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पार गरेको छ । कर्णालीका लागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ३४ रनको योगदान गर्दा अर्जुन घर्तीले १४ रन र रविन्द्र शाहीले १२ रनको पारी खेले । मधेशका रन्जित कुमारले ३ र हरिशंकर साहले २ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा भने कर्णाली प्रदेश कोशी प्रदेशसँग ३८ रनले पराजित भएको थियो । कोशीले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याउँदा कर्णाली भने एक सय दुई रनमै समेटिएको थियो ।

प्रकाशित मितिः   २४ फाल्गुन २०८०, बिहीबार ०५:०२