गाउँपालिकाका पूर्वअध्यक्षसहित ११ जनाविरुद्व भ्रष्टाचार मुद्दा
सुर्खेत: सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसीसहित ११ जनाविरुद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।
सिम्ता गाउँपालिका वडा–५ मा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएको हो । बाँझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडिबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भइ निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआइ ८४ लाख ८६ हजार ६ सय ४२ रूपैयाँ बराबरको सरकारी रकम हानीनोक्सानी गरेको पुष्टि भएको अख्तियारको आरोप छ ।
डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन वन अधिकृत गोविन्दप्रसाद दहालविरुद्ध पनि मुद्दा दर्ता भएको हो । तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मी थापा क्षेत्रीमाथि सम्झौता सर्तबमोजिमको कार्य नगरेको, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको, उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडिबुटी खेती विस्तार कार्यक्रम प्रयोगमा नल्याएको आरोप छ । उनीहरूविरुद्ध ८४ लाख ८६ हजार ६ सय ४२ रूपैयाँ बिगो असुल उपर समेतको सजाय माग गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन भोजप्रसाद उपाध्यायको सिफारिसमा सिम्ता गाउँपालिका–५ मा निर्माण हुने हाइटेक नर्सरी निर्माणमा हुने सामग्रीको खरिद र ढुवानीवापतको रकम भुक्तानीका लागि ७१ लाख ६६ हजार चार सय ३५ रूपैयाँ उपभोक्ता समितिलाई भुक्तानी भएको पुष्टि हुन आएको छ । निर्माण सामग्री र ज्यामीको रकम निकासको लागि कागजात र विल भरपाइ अनुसार रकम भुक्तानी भनी तत्कालीन रेन्जर कमल चित्रकारको सिफारिसमा आठ लाख ६१ हजार तीन सय २८ रूपैयाँ उपभोक्ता समितिलाई भुक्तानी भएको देखिन आएकाले उनीविरुद्ध सोही रकम बराबरको बिगो माग गरेको अख्तियारले जनाएको छ ।
सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा र उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमालले उपकरण खरिदमा अनियमितता गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध पनि ८४ लाख ८६ हजार ६ सय ४२ रूपैयाँ बिगो मागिएको छ ।
सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष केसी, तत्कालीन वडाअध्यक्ष मोहनकुमार विसी र नाफ सिड्स कम्पनीका सञ्चालक गौतम महर्जनमाथि पनि नर्सरी निर्माणमा सरकारी रकम हानीनोक्सानी गरेको आरोप छ ।
प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।