सरकारले नै बिर्सिन्छ ‘लोकप्रिय कार्यक्रम’

सुर्खेत: कर्णाली प्रदेश सरकारले घोषणा गरेका धेरै लोकप्रिय कार्यक्रम ओझेलमा परेका छन् । खासगरी बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन हुनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा कतिपय ठूला र लोकप्रिय कार्यक्रम कागजमै सीमित बनेका हुन् । अघिल्लो सरकारले घोषणा गरेका धेरै त्यस्ता कार्यक्रम हाल अलपत्र अवस्थामा छन् । हचुवाको भरमा विनाअध्ययन कार्यक्रम घोषणा गरिँदा समस्या भइरहेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकारले विद्यालयमा स्वास्थ्य र पोषणसम्बन्धी सेवालाई प्रवद्र्धन गर्न भन्दै ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रम घोषणा ग¥यो । स्थानीय सरकारको समन्वयनमा दोहोरोपन नपर्नेगरी कार्यक्रम सञ्चालन गर्ने जनाइएको थियो । कर्णालीका दश वटै जिल्लामा लागू गर्नेगरी कार्यक्रम घोषणा भयो । कार्यक्रम कार्यान्वयनका लागि उक्त आर्थिक वर्षमा प्रदेश सरकारले चार करोड बजेट विनियोजनसमेत गरेको थियो । तर बजेट कार्यान्वयन हुन सकेन ।

कार्यविधि निर्माणमा ढिलाइ हुँदा पहिलो वर्ष कार्यक्रम कार्यान्वयनमा समस्या भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । पर्याप्त बजेट हुँदाहुँदै पनि समयमै कार्यविधि नबन्दा पहिलो वर्ष कार्यक्रम कार्यान्वयन हुननसकेको निमित्त निर्देशक दिपा हमालले बताइन् । उनका अनुसार सामाजिक विकास मन्त्रालयले ढिलागरी कार्यविधि निर्माण गर्दा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन ।

सोही कार्यक्रमको निरन्तरताका लागि आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारले न्यून बजेट विनियोजन ग¥यो । सुरुको वर्षमा पर्याप्त बजेट भएपनि कार्यविधि नहुँदा बजेट कार्यान्वयन भएको थिएन भने पछिल्लो वर्ष न्यून बजेट हुँदा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको निर्देशनालयले जनाएको छ । दोस्रो वर्ष ४० लाख मात्र विनियोजन गरिएको थियो । निर्देशनालयका अनुसार उक्त बजेट कार्यक्रमका लागि पर्याप्त भएन । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरिएपनि कार्यक्रम कार्यान्वयन भएको थिएन । चालु आर्थिक वर्षमा उक्त शीर्षकमा बजेट नै विनियोजन गरिएको छैन । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा भने कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । यो वर्षपनि सार्वजनिक विद्यालयमा स्वास्थ्य र पोषणसम्बन्धी सेवा प्रवद्र्धन गर्न ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रमलाई निरन्तरता दिइने भनिएको छ । तर बजेट विनियोजन गरिएको छैन ।

नीति तथा कार्यक्रममा समेटिएको भएपनि बजेटमा नसमेटिँदा कार्यक्रम ओझेलमा परेको जनाइएको छ । सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख बलवीर सुनारले बजेट विनियोजन नहुँदा ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रम ओझेलमा परेको बताए । उनले भने, ‘सुरुको वर्षमा चार करोड बजेट थियो । दोस्रो वर्ष बजेट न्यून विनियोजन भयो । यो वर्ष बजेट नै विनियोजन गरिएको छैन ।’ उनका अनुसार यो वर्ष शिक्षा क्षेत्रका धेरै कार्यक्रम कटौती गरिएको छ । सामाजिक विकास मन्त्रालयले नै शिक्षा क्षेत्रका धेरै कार्यक्रममा बजेट विनियोजन गरेको छैन । मन्त्रालयले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेको भएपनि शिक्षाका कार्यक्रम बजेटविहीन बनाइएको छ । जसले गर्दा धेरै कार्यक्रम ओझेलमा परेका छन् ।

कर्णाली प्रदेशका दश जिल्लामा कार्यान्वयन हुनेगरी ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले कार्यविधि निर्माण गरेको छ । मन्त्रालयले कार्यविधि निर्माण गरेर शिक्षा विकास निर्देशनालयलाई कार्यक्रम कार्यान्वयन गर्ने जिम्मा दिएको छ । पहिलो वर्ष एक सय माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने भनिएको थियो । तर हालसम्म कुनैपनि विद्यालयमा कार्यक्रम लागू गरिएको छैन । यो वर्ष बजेट नै छुट्टयाइएन । विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि नियमित स्वास्थ्यका कुरा समावेश गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको भएपनि कार्यक्रम ओझेलमा परेको छ । कार्यक्रम कार्यान्वन नभएपनि प्रदेश सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममा यस्ता लोकप्रिय कार्यक्रम घोषणा गर्न छोडेको छैन । आफूले लोकप्रिय घोषणा गरेको कार्यक्रम सरकार आफै बिर्सन्छ ।

प्रकाशित मितिः   २१ फाल्गुन २०८०, सोमबार ०५:०५