हचुवाका निर्णय
२०७८ असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषण गरे । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा कृषकका माझमा उनले घोषणा गरेको ‘लोकप्रिय कार्यक्रम’ अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । न कृषकले सरकारबाट उपहारमा सुनको हलो पाए, न त अहिले सरकार नै उक्त निर्णय कार्यान्वयनका लागि चासो दिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नै समावेश गरेर यो कार्यक्रम ल्याएको थियो । योजना कार्यान्वयनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ६ लाख बजेट विनियोजनसमेत गरेको थियो । तर उक्त वर्ष कार्यक्रम कार्यान्वयन हुन सकेन । कृषि पेसालाई मर्यादित बनाउन र कृषकलाई सम्मान गर्न भन्दै कार्यक्रम घोषण गरिएको हो । जिल्ला–जिल्लाबाट छनोट भएर आएका कृषकको कामका आधारमा उत्कृष्ट कृषक छनोट गरिने कार्यविधिमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷०७९ मा सबै जिल्लाबाट कृषक छनोट नै भएन । ६ वटा जिल्लाले मात्र नाम छनोट गरेर पठाएका थिए । तर प्रदेश सरकारको लोकप्रिय कार्यक्रम सुरुकै आर्थिक वर्षमा कार्यान्वयन भएन । कार्यक्रमको निरन्तरताका लागि आर्थिक वर्ष २०७९/०८० मा समेत बजेट विनियोजन भएको थियो । यो वर्ष पनि विनियोजन गरिएको ६ लाख बजेट कार्यान्वयन हुन सकेन । लगातार दुई वर्ष नै कार्यान्वयन भएपछि कर्णाली प्रदेश सरकारले यो वर्षदेखि कार्यक्रम नै कटौती गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा उक्त शीर्षकमा बजेट नै विनियोजन गरिएको छैन । प्रभावकारिता नदेखिएपछि कार्यक्रम कटौती गरिएको मन्त्रालयले जनाएको छ ।
खोज्दै जाँदा प्रदेश सरकारले हचुवामा गरेका निर्णयहरूको लामै फेहरिस्त बन्छ । हचुवाका भरमा गरिने यस्ता घोषणा र निर्णयले बरु कृषकलाई झन निराश बनाउने गरेको छ । सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउँछ । त्यसैले कार्यान्वयन हुँदैनन् । किसानलाई प्रोत्साहन नभइ हतोत्साहित बनाउने काम भइरहेको छ । पूर्वयोजना, त्यसको प्रभाव र आवश्यकताको विश्लेषण नगरी कार्यक्रम छनोट गर्दा प्रदेश सरकारका कैयौ कार्यक्रम असफल भएका छन् । उत्कृष्ट काम गर्ने कृषकलाई सुनको हलो प्रदान गर्ने कार्यक्रम पनि त्यसैको एक दृष्टान्त हो । प्रदेश सरकारको यो कार्यक्रमबाट एक जना कृषकले पनि लाभ लिएका छैनन् । बरु प्रदेश सरकारले कार्यक्रम नै कटौती गरेको छ ।
प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार ०५:०३
सम्पादकीय ।