प्रदेशस्तरीय फुटबलको उपाधि जुम्लालाई

जुम्ला: कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । शुक्रवार भएको फाइनलमा हुम्लालाई ४–० गोलअन्तरले पराजित गर्दै आयोजक जुम्लाले उपाधि सुरक्षित गरेको हो ।

जुम्लाको जितमा रुवेन भण्डारीले हृयाट्रिक गरे भने महेन्द्र शाहीले एक गोल थपे । हुम्लाले पटक–पटक गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन । जुम्लाले सेमीफाइनलमा सुर्खेत र हुम्लाले कालीकोटलाई पराजित गरेर फाइनलमा पुगेका थिए । फाइनल प्रतिस्पर्धामा जुम्लाले बाजी मारेको छ ।

आगामी वर्ष कर्णालीमै आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय टिम छनोटका लागि जुम्लामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा जुम्लासहित सुर्खेत, कालीकोट, हुम्ला, मुगु र जाजरकोले सहभागीता जनाएका थिए भने अन्य जिल्लाको सहभागीता रहेन ।

प्रतियोगितामा सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडीलाई विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताए ।

 

प्रकाशित मितिः   १९ फाल्गुन २०८०, शनिबार ०५:०३