डिजिटल कर्णली कन्क्लेभ सुरु

सुर्खेत: कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित शुक्रवारदेखि वीरेन्द्रनगरमा डिजिटल कर्णाली कन्क्लेभ सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालले कन्क्लेभको आयोजना गरेका हुन् ।

दुई दिनसम्म सञ्चालन हुने कन्क्लेभमा विभिन्न विषयमा सरोकारवाला विज्ञहरूबीच छलफल हुनेछ । आयोजकका अनुसार कन्क्लेभमा चार वटा महŒवपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् ।

पहिलो दिन शुक्रवार कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले ‘सशक्त डिजिटल कर्णालीः वर्तमान अवस्था र अब चाल्नुपर्ने कदम’ शीर्षकमा कि–नोट प्रस्तुति राखेका छन् । उनले डिजिटल प्रदेश बनाउन कर्णालीमा विभिन्न प्रयासहरू भइरहेको बताए । इगभर्नेन्स गुरुयोजनाको मस्यौदा तयार गरिएको, कार्यविधि बनाइएको, विद्यालयहरूलाई डिजिटल पठनपाठनको व्यवस्थापनका लागि काम भइरहेको शाहीले जनाए ।

यस्तै यूएनडिपीका रामकुमार यादवले स्थानगत आयोजना सूचना व्यवस्थापन प्रर्णालीबारे जानकारी गराएका थिए भने सूचना प्रविधि विज्ञ मनोहर के भट्टराईले कर्णालीका लागि डिजिटल रूपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुत गरेका थिए । त्यसैगरी कर्णालीका पूर्वमूख्यमन्त्रीद्धय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसँग छलफल पनि गरिएको छ ।

दोस्रो दिन शनिवार कर्णालीका लागि भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा प्रस्तुति र छलफल हुने जनाइएको छ । डिजिटल अर्थव्यवस्था र लगानीको वातावरणसम्बन्धी पनि छलफल हुनेछन् ।

प्रकाशित मितिः   १९ फाल्गुन २०८०, शनिबार ०५:०१