आलोच्य निर्णय
पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई गाडीसहितको सुविधा दिने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । कर्णाली प्रदेश सरकारले शाहीलाई गाडीसहितको अतिरिक्त सुविधा दिने निर्णय गरेको थियो । गत पुस २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको हो । सरकारको निर्णयविरुद्ध अधिवक्ता खगेन्द्रबहादुर खनालले रिट दायर गरेका थिए । उनले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै कानुन नै नभएकोले उक्त निर्णय बदर गर्नुपर्ने मागसहित रिट दिएका हुन् । सोही रिटमाथि सोमवार न्यायाधीशद्धय लोहितचन्द्र शाह र खड्कबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
नेपालको संविधान–२०७२ को धारा १७१ मा मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा प्रदेश ऐनबमोजिम हुने भनिएको छ । त्यसैगरी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ मा बहालवाला मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधाको सम्बन्धमा मात्र व्यवस्था गरिएको छ । तर कर्णाली प्रदेश सरकारले भने मन्त्रिपरिषद्बाट निर्णय गरेर संविधान तथा प्रदेशका कुनै पनि कानुनमै नभएको सुविधा दिने खोजेको हो । अब उच्च अदालतबाट अन्तिम फैसला नहुँदासम्म उक्त निर्णय कार्यान्वयन नहुने भएको छ । निर्णयका आधारमा गरिएका परिपत्रसमेत कार्यान्वयन नगरेर यथास्थितिमा राख्नु अदालतले आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘रिट निवेदक माग बमोजिम प्रस्तुत रिट निवेदनमा अन्तिम आदेश नहुँदासम्म कर्णाली प्रदेश मन्त्रीपरिषद्ले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेगरी गरेको निर्णय र सो निर्णयका आधारमा गरिएका परिपत्र कार्यान्वयन नगर्नु÷नगराउनु, तत्काल यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली–२०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’ रिटमा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मुख्यमन्त्री राजकुमार शर्मा र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसमेत पाँच जनालाई विपक्षी बनाइएको छ ।
सरकारले प्रदेशसभाको कार्यकालभर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट यातायात सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । जसवापत एक थान गाडीसहित सवारी चालक उपलब्ध गराउने भनिएको छ । त्यसैगरी गाडी मर्मत खर्चवापत वार्षिक बढीमा एक लाख ५० हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मासिक दुई सय लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेको हो । कानुन नै नबनाएर हचुवाका भरमा सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने निर्णय विवादमा परेको छ । प्रदेशलाई व्यवभार मात्रै बढाउने भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
प्रकाशित मितिः १६ फाल्गुन २०८०, बुधबार ०५:०३
सम्पादकीय ।