वीरेन्द्रनगरको फोहोरले बराहताल दुर्गन्धित

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट संकलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो ।

गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको स्थानीय जानुका आचार्यले बताइन् । जथाभाबी रूपमा फोहोर फाल्दा हिँड्डूल गर्न समेत समस्या भएको उनको भनाइ छ । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँदै आएका छन् । तर सुनुवाई हुन सकेको छैन । ‘वीरेन्द्रनगरको फोहोर जति जथाभाबीरूपमा जंगलमा फालिएको छ । सडक छेउमा पनि सर्वत्र फोहोर छरिएको छ । हामीलाई हिँड्डूल गर्न समेत समस्या भइरहेको छ,’ उनले भनिन्, ‘प्लाष्टिकजन्य फोहोर जलाउँदा दैनिकी थप कष्टकर बनेको हो ।’

जथाभाबी फोहोर जलाउँदा दैनिक कामकाजमा समेत बाधा पुगेको अर्का स्थानीय निर्मला थापा बताउँछिन् । धुँवाले गर्दा आखा पोल्ने लगायतका समस्या देखिएको भन्दै उनले दिनप्रतिदिन कामका असहज भइरहेकोे जनाइन् । ‘दुर्गन्ध फैलिएर घरमा बसीसक्नु हुँदैन । मेलापातदेखि बजारतिर जादासमेत धौ–धौ हिँड्नुपर्छ’ थापाले भनिन्, ‘प्लाष्टिक जलाउँदा धुँवाले हैरानी खेप्न बाध्य छौँ ।’ प्लाष्टिक र बोतलबाट निस्कने धुँवा मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । तर त्यहाँ दैनिक रूपमा फोहोर जलाउने गरिएको उनले बताइन् ।

बस्ती नजिकै फोहोर जलाउँदा आफूहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीय दुर्गबहादुर लामिछानेले बताए । जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिएको र त्यसमाथि प्लाष्टिक र बोतल जलाउने गरिएको उनको भनाइ छ । लामिछानेले भने, ‘फोहोरले दुर्गन्ध फैलिएपछि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । सुनुवाई भएन । अहिले झन समस्या थपिएको छ ।’

प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईबस्तु एवम् कृषिउपज, वातावरणमा नै नकरात्मक असर परेको जनाइएको छ । प्रभावित क्षेत्र बराहताल १० का वडा अध्यक्ष हरिलाल सलामीले गर्मीयाम सुरु भएसँगै दुर्गन्ध झनै फैलिएको बताए । वीरेन्द्रनगरको फोहोर आफूहरूको क्षेत्रमा जथाभाबी फाल्ने गर्दा स्थानीयबासीको स्वास्थ्यमा असर परेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो समयमा नागरिकहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेको छ । यसको प्रमुख कारण फोहोर रहेको छ । फोहोर व्यवस्थापनका सवालमा पटक–पटक सचेत गराउँदा पनि वीरेन्द्रनगर नगरपालिकाले बेवास्ता गरेको छ ।’ वीरेन्द्रनगर नगरपालिकाले हेपाह प्रवृत्ति देखाएको भन्दै उनले जनस्वास्थ्यको सवालमा गम्भीर बन्नुपर्ने समेत बताएका छन् । सलामीले भने, ‘बेला–बेला यस विषयमा जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई भएन, जथाभाबी फोहोर फाल्दा हिँड्डूल गर्नसमेत निकै सास्ती भइरहेको छ ।’

 

 

ल्याण्डफिल्ड साइट निर्माण कार्य सुस्त

वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्याण्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । न्यून बजेटका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

दिसाजन्य लेदो व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण थालिएको हो । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । अहिलेसम्म पनि काम अधुरै छ । बजेट अभावमा निर्माणका काम अघि बढाउन समस्या भएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्रोतको खोजी गरिरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाखमा केही निर्माणका काम गरिनेछ । नगरको फोहोर व्यवस्थापनका लागि करिब ३५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । न्यून बजेटका कारण काममा ढिलाइ भइरहेको पौडेलले जानकारी दिए ।

पर्याप्त बजेट नहुँदा थप काम अघि बढाउन समस्या भएको नगरपालिकाले जनाएको छ । पालिकाले आफ्नै लगानीमा सडक स्तरोन्नति र केही पूर्वाधारका काम सम्पन्न गरेको छ । ठूला पूर्वाधारका काम अघि बढाउन बजेट अभाव भएको जनाइएको छ । कमजोर फोहोर व्यवस्थापनका कारण वीरेन्द्रनगर दिनप्रतिदिन कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले बजार क्षेत्रको फोहोरसमेत समयमै उठाउन सकिरहेको छैन । नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिका समेत पूर्णरूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसंख्याको चापले वीरेन्द्रनगरमा फोहोर मैला व्यवस्थापन चुनौती बन्दै गएको छ ।

प्लान्ट निर्माण गरेर दिसाजन्य लेदो व्यवस्थापन गरिए पनि प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा चुनौती रहेको नगरपालिकाले जनाएको छ । अहिले फोहोर डम्पिङ साइडमा फाल्ने गरिएको नगरपालिकाले स्वीकार गरेको छ । ल्याण्डफिल्ड साइट निर्माण नहुँदासम्म फोहोर व्यवस्थापन चुनौती बनेको अधिकृत पौडेलले बताए । उनले भने, ‘अहिले सबै संरचना निर्माण भइसकेका छैनन । खाल्डोमा सबै फोहोर जलाउने गरिएको छ । संरचना नबन्दा समस्या भएको हो ।’

प्रकाशित मितिः   १६ फाल्गुन २०८०, बुधबार ०५:०५