‘तेस्रो पटक विवाह गर्ने रहर’
कालो रंगको फ्रक, वैजनी रंगको टिसर्ट, कानमा झुम्का अनि दुई चुल्ठी बाटेको कपालले मोहित बनायो गणेश कार्कीलाई । कार्कीलाई वीरेन्द्रचौकमा पानीको गाग्री समातेर हिँडेको एक युवतीले मोहित बनाइन् । उनलाई अझ धेरै मोहित त ती युवतीको हाँस्दा गालामा बस्ने डिम्पलले बनायो । पहिलो भेटमा कार्कीको नजरमा पर्न सफल ती युवती अरु कोही नभएर शोभा थिइन् । उनले भने, ‘उनको गालामा बस्ने डिम्पलले साह्रै मोहित बनायो ।’ कार्कीले धेरै युवतीलाई देखेका थिए तर, शोभा जस्तो रूपमा राम्रो मात्र होइन मन पनि सफा, इमान्दार युवती पहिलो पटक भेटेका थिए । कार्कीलाई लाग्यो यतिको मान्छे जीवनसाथी बनाए जीवन सहजै काट्न सकिन्छ । कार्की शोभालाई हेर्नकै लागि वीरेन्द्रचौकमा गितार बजाएर बस्ने गर्थे । विस्तारै शोभाले पनि कार्कीलाई मन पराउन थालिन् ।
माया भन्ने चिज नै यस्तो हो कि कसैले कसैलाई गर्छु भनेर गरिदैंन त्यो आफै हुन्छ । शोभाले पनि विस्तारै गणेशलाई मन पराउन थालिन् । सुरुमा कार्कीको एकतर्फी माया अब दुई तर्फी नै भएको थियो । विस्तारै दुवै जना एकअर्काे सँग नजिक हुँदै थिए । भेटघाट बाक्लिदै गएको थियो । त्यतिबेला शोभा जन माविमा पढ्थिन् । कार्की भने एसएलसी दिइसकेका थिए । शोभालाई भेट्नको लागि उनी विद्यालयको पर्खाल नाघी–नाघी भागेर जाने गर्थे । उनले भने, ‘अघिपछि भेट्न पाइदैनथ्यो स्कुलमा उनको हाफछुट्टी भएको बेलामा नास्ता खाने निहुँमा पर्खालबाट भागेर भित्र जाने गर्थे ।’ शोभालाई खाजा खाना बोलाउने र भेट्ने गर्थे । पिता लोकराज कार्की र माता धनकुमारी कार्कीको कोखबाट २०४० सालमा वीरेन्द्रनगरमा जन्मिएका कार्कीको बाल्यकाल सामान्य तरिकासँग बित्यो । उनको बाल्यकालमा अलि बढी नै चकचक गर्ने स्वभाव थियो । बाल्यकालमा उनी साथीहरू जम्मा बनाएर अरुको बारीमा काँक्रा चोर्न जाने गर्थे ।
आर्थिक अवस्था कमजोर भएका कारण नर्सरी र केजीसम्म इगरब्रिजमा पढेका कार्कीले कक्षा पाँचसम्म नेरा माविमा पढे । बाल्यअवस्थामा अभाव धेरै झेलेका कार्कीले सानै उमेरदेखि जिम्मेवारी सम्हाल्नुप¥यो । कक्षा ६ देखि जन माविमा पढेका उनले जन माविबाट नै एसएलसी पास गरे । एसएलसी पास गरेको तीन वर्षपछि मात्र उच्च शिक्षाका लागि बहुमुखी क्यापसमा पढेका कार्कीले बीचमा नै पढाइ छोड्नुप¥यो । पहिलो परीक्षा दिन नपाउँदै उनको पिताको निधन भयो । त्यसपछि घरको सबै जिम्मेवारी उनको काँधमा नै आइप¥यो । उनले पढाइ छोडेर पसललाई निरन्तरता दिए । घरको सबै जिम्मेवारी सम्हाल्नुपर्ने थियो ।
विवाह पछि झन् उनमा थप जिम्मेवारी थपियो । साथीभाइको साथबाट नै २०५९ सालबाट पत्रकारितामा प्रवेश गरे । करिब १४ वर्ष पत्रकारितामा बिताएका कार्कीले अझै पनि समय–समयमा लेख रचनाहरू लेखिरहन्छन् । उनी भन्छन्, ‘पूर्ण रूपमा म पत्रकारिताबाट टाढा भएको होइन, पत्रकारिताबाट टाढा हुन पनि सक्दिन ।’ उनको बाल्यकालदेखि भविष्यको सपना यो त्यो बन्छु भन्ने त थिएन । किनकी बाल्यकालदेखि नै उनले अभावलाई झेल्दै आएका थिए । जीवनमा धेरै दुःख र अभाव झेलेका कार्कीले भविष्यको सपना बुनेका थिएनन् । तर, पनि उनलाई भविष्यमा फुटबल खेलाडी बन्ने सपना थियो । उनले बाल्यकालमा देखेको सपना पूरा पनि गरे । उनले फुटबल खेलेर नै पाँच चोटीसम्म बेस्ट किप्पर भएका थिए । क्षेत्रीयस्तरको खेलसम्म खेलेका कार्की दुई पटकसम्म दोस्रो भएका थिए । अहिले उनी जिल्ला फुटबल संघको महासचिव, उद्योग वाणिज्य संघको कार्यक्रम संयोजक, प्रेस युनियनको सचिव, टे«ड युनियनको सचिव लगायत विभिन्न संघ–संस्थामा आवद्ध छन् ।
पिता चन्द्रसिंह खत्री र माता मीना खत्रीको कोखबाट २०४२ सालमा अर्घाखाँचीमा जन्मिएकी शोभाको बाल्यकाल राम्रोसँग नै बित्यो । बाल्यकालमा शान्त र धेरै नबोल्ने स्वभावकी थिइन् । उनले भनिन्, ‘बाल्यकालदेखि नै अहिलेसम्म कम बोल्ने स्वभाव छ ।’ उनी कक्षा ५ सम्म अर्घाखाँचीमा पढेकी शोभा कक्षा ६ देखि सुर्खेतमा पढ्न आइन् । उनको सानीआमा बिरामी भएकाले उनको हेरचाहको लागि सुर्खेत आएकी शोभाको मन कार्कीले चोरे । अब शोभालाई सुर्खेत छोडेर फेरि अर्घाखाँची फर्कने मन थिएन ।
कार्की र शोभाको प्रेम शोभाको सानीमाले थाहा पाएर उनलाई घर फर्काउने तयारी भइरहेको थियो । तर, शोभालाई घर फर्केर जाने मन नै थिएन । किनकी उनको मन र माया सुर्खेतमा नै थियो । त्यसैले कार्की र शोभाले भागेर विवाह गर्ने सल्लाह गरे अनुसार २०५८ सालमा भागी विवाह गरे । कार्कीले शोभालाई भगाएर गुमीमा साथीको काकाको घरमा सात दिन बसेर फेरि वीरेन्द्रनगर आए । शोभालाई ईत्राम अन्टीको घरमा राखेर कार्की घरमा आउँदा घरमा विवाहको तयारी भइरहेको थियो । बिहेको कार्ड समेत छापिसकेको थियो । उता शोभाको आमा अर्घाखाँचीबाट आएकी थिइन् छोरीलाई भेट्न । ईत्राम अन्टीको घरमा बसेकी शोभालाई उनको माइतीले जबरजस्ती घरमा थुनेर राखेका थिए । अब छोरीलाई अर्घाखाँची पढाउने भन्ने कुरा कार्कीले सुने । उनलाई साथीहरूले समेत जिस्काउन थाले । घरमा बिहेको सम्पूर्ण तयारी भइसकेको छ तर दुलही छैनन् । कार्कीलाई तनाव नै भयो । अनि उनले बहिनीसँग शोभालाई आउने कि नआउने भनेर खबर पठाए । उताबाट आउँछु भन्ने खबर आएपछि कार्कीलाई ढुक्क भयो । शोभाले कार्कीलाई आउँछु भन्ने खबर त पठाइन् तर, जाने कसरी भनेर बहाना खोजिन् । उनले अब कार्कीसँग लाग्दिन भनेर घरमा सबैको सामु भनेपछि धारामा पानी लिन जाने निहुँ पारेर फेरि कार्कीसँगै भागिन् ।
कार्की भन्छन्, ‘हाम्रो त दुई पटक बिहे भएको हो ।’ दुई पटक भागेर विवाह गरेको हुनाले यो जोडीले एनिभर्सरी पनि दुई पटक नै मनाउने गर्छन् । कार्कीको चिना हेरेर ज्योतिषले तीन वटा बिहे गर्छ भनेका थिए रे । कार्कीले भने, ‘ज्योतिषले तीन पटक बिहे गर्छ भनेका थिए रे दुई पटक त गरिसकेका अब तेस्रो पटक विवाह गर्ने रहर छ ।’ शोभासँग नै दुई पटक विवाह गरिसकेको कार्कीलाई फेरि पनि विवाह गरेको २५ वर्ष पुगेपछि शोभासँग नै तेस्रो विवाह गर्ने रहर छ ।
यो जोडी एकअर्काेको जन्मदिन तथा एनिभर्सरी डेको दिनमा एकअर्काेलाई गिफ्ट र सरप्राइज पनि दिने गर्छन् । अघिल्लो एनिभर्सरीमा शोभाले कार्कीलाई गिफ्टको रूपमा बाइक दिएकी थिइन् । कार्कीले पनि शोभालाई गिफ्टको रूपमा हार दिएका थिए । यसरी एकअर्काेको जन्मदिन एनिभर्सरीमा गिफ्ट आदान–प्रदान गर्दा सम्बन्ध प्रगाढ हुने उनीहरू बताउँछन् ।
कार्कीलाई शोभाको मनपर्ने पनि र मन नपर्ने पनि एउटै बानी छ त्यो हो कम बोल्ने । कहिले काहीं कम बोल्दा राम्रो पनि हुन्छ र नराम्रो पनि हुन्छ । त्यस्तै शोभालाई कार्कीको समझदार बानी मनपर्ने गर्छ । मान्छेको अगाडि झनक्क रिसाउने बानी भने अलि मन पर्दैन । यो जोडी आ–आफ्नो काममा व्यस्त हुने गर्छन् तर, पनि समय भएसम्म घुम्न जाने गर्छन् । कार्की भन्छन्, ‘मैले जीवनमा
आरोह र अवरोह धेरै खेप्नुप¥यो त्यो दुःख र अभाव मेरो श्रीमती र दुई सन्तानलाई भोग्न दिनेछैन ।’
यो जोडीका अनुसार जीवन सोचे जस्तो हुन्न, सम्झे जस्तो नभइ जीवन जस्तो भोग्यो त्यस्तै हुन्छ । जीवनलाई आफूले यस्तो बनाउँछु भनेर र अरुले बनाइदेला भनेर नहुने भन्दै यो जोडीले जीवनमा सकारात्मक सोचका साथ अघि बढ्दा सफल हुने बताउँछन् । जीवनमा जो हार खान्छ ती मान्छेहरू जीवनमा कहिल्यै प्रगति गर्न सक्दैनन् ।
उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको जीवन रहुञ्जेलसम्म एकअर्काेको हरेक दुःख सुखमा साथ दिने साथी हो ।’ एकअर्काेको जीवनमा आइपर्ने हरेक सुख दुःखलाई आफ्नै ठानेर सँगसँगै पाइला चाल्न सक्ने साथी नै जीवनसाथी हो । उनीहरू गीतको उदाहरण दिँदै भन्छन्, ‘मेरो हाँसो बरु तिमी हाँस्नु, तिम्रो आँशु मै लिउँला…।’ जीवनसाथी भनेको यस्तो हुनुपर्छ एकअर्काेको दुःख साटासाट गर्नसक्ने हाँसो बाँड्न सक्ने हुनुपर्छ ।
उनीहरूका अनुसार वैवाहिक सम्बन्धलाई दिगोपन दिन र सफल बनाउनको लागि चार वटा जगको आवश्यकता पर्छ । विश्वास, इमान्दारिता, माया र सम्मान जुन सम्बन्धमा हुन्छ त्यो सम्बन्ध जुनीजुनीसम्मको लागि पनि बलियो हुन्छ । दाम्पत्य सम्बन्ध तथा अन्य कुनै पनि सम्बन्ध भनेको चङ्गा र धागो जस्तै हो कुन बेला उड्छ र टुट्छ पत्तै हुँदैन । सम्बन्ध पनि त्यस्तै हो । सुखका साथ जीवन एकअर्काेको साथमा जीवन्त बिताउने हो भने विश्वास, इमान्दारिता, माया र सम्मान अनिवार्य हुनै पर्छ । उनीहरू भन्छन्, ‘जहाँ प्रेम हुन्छ त्यहाँ विवाह नहुन पनि सक्छ तर, जहाँ विवाह हुन्छ त्यहाँ प्रेम हुन्छ र अनिवार्य नै हो ।’ यो जोडी नव दम्पत्ती जोडीहरूलाई विवाह पुतलीको खेलानौ होइन, सोच विचार गरेर मात्र विवाह गर्न सुझाव दिन्छन् ।
साझा बिसौनी संवाददाता ।