स्थानीय चुनावको बहस, महिला सहभागिताको चिन्ता

सुर्खेत, २५ फागुन ।
विगतका वर्षहरूको तुलनामा यसपालीको अन्तर्राष्ट्रिय नारी दिवसमा फरकपना देखियो । बुधवार सुर्खेतमा मनाइएको नारी दिवसमा सबैले स्थानीय चुनावको चर्चा गरे । त्यतिमात्र होइन, उक्त चुनावमा महिलाहरूको अर्थपूर्ण सहभागिताको बारेमा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरे ।
अघिल्ला वर्षहरूमा हुने औपचारिक कार्यक्रममा केवल महिलामाथि हुने हिंसाको विषयले प्राथमिकता पाउँथ्यो । शिक्षा, सम्पत्तिमा समान अधिकार र परिवारभित्रै महिलाको सुरक्षाको बारेमा चासो दिइन्थ्यो । तर यसपाली बहस मोडिएको छ । महिलाहरूले राजनीतिमा आफ्नो अर्थपूर्ण सहभागिताको सुनिश्चितता खोजे । आगामी वैशाखमा तोकिएको स्थानीय चुनावमा महिलाहरूलाई उम्मेदवार बनाउनेतर्फ आवश्यक ध्यान दिन दलहरूलाई अधिकारकर्मीले आग्रह गरे । साथै उनीहरूले चुनावमा उम्मेदवार बनाएर मात्र नहुने भन्दै महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघका क्षेत्रीय सभापति शान्ति सिंहले वैशाख ३१ गतेको स्थानीय चुनावमा महिलाको अर्थपूर्ण सहभागिता गराउनुपर्ने बताइन् । उनले महिलाहरूको हकअधिकारका कुरा धेरै भएको भन्दै अब महिलाको राज्यका संयन्त्रमा अर्थपूर्ण सहभागिता बढाउनुपर्ने उल्लेख गरिन् । उनले भनिन्, ‘अब अधिकार र चेतानको कुरा गरेर मात्र हुँदैन, नेतृत्वमा पनि हामीले पुग्ने आँट गर्नुपर्छ ।’ अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मोहनमाया ढकालले अब महिलाहरूलाई स्थानीय तहमा सहभागिता बढाउने विषयमा सोच्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब बेला आएको छ, चुनावमा महिला उम्मेदवारलाई जिताउने गरी जुटौं । चुनावले महिला नेतृत्व स्थापित गर्नेछ, यसमा दलहरू सकारात्मक हुनुपर्छ ।’ उनले दलभन्दा माथि उठेर महिलाहरूको मुद्दामा एकजुट हुन महिलाहरूलाई आग्रह गरिन् ।
अनेम संघ क्रान्तिकारी ६ नम्बर प्रदेशका संयोजक हरिमाया शर्माले अब महिलाहरूलाई कमजोर ठान्न नहुने बताइन् । महिलाहरू सक्षम र योग्य रहेको भन्दै उनले अवसर पाएमा स्थानीय निकाय सञ्चालन गर्ने क्षमता महिलाहरूमा रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘मूल नीति भनेकै राजनीति हो, हामी पहिला राजनीतिमा समान सहभागिता खोजौं । यसले मात्र महिला नेतृत्व स्थापित हुनसक्छ, अब मागेर मात्र पुग्दैन ।’ यस्तै स्थानीय विकास अधिकारी अमृत लम्सालले महिलाहरूलाई अब दयाको दृष्टिले हेर्न नहुने बताए । राज्यको हरेक निकायमा महिलाले नेतृत्व गर्नसक्ने भन्दै उनले अब हुने स्थानीय निर्वाचनमा समान अवसर दिनुपर्ने बताए । स्थानीय सरकार सञ्चालनमा महिला सहभागिता बढाउनका लागि अब महिलाहरूले पनि अग्रसर
हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘महिलाहरूमा सशक्तीकरण बढेको
छ, पहिलाको तुलनमा शिक्षित महिलाहरू पनि धेरै छन् । अब उनीहरूलाई स्थानीय नेतृत्वको अवसर दिऔं, यसले राज्यलाई नै सफल बनाउनेछ ।’
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले सहभागिता मात्र नभइ महिलाहरूको उपस्थिति अर्थपूर्ण र निर्णायक हुनुपर्ने बताए । आउँदो स्थानीय चुनावमा महिलाको पहुँच स्थापित गर्न अहिलेदेखि नै राजनीतिक दल र महिलाहरू सचेत हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा महिला अधिकारकर्मीहरूले कमजोर छन् भन्ने सोचको अन्त्य भएमा महिलाको सहभागिता बढाउन सकिने बताए । यसअघि वीरेन्द्रनगरमा चेतानामूलक ब्यानर र प्लेकार्डसहित ¥याली निकालिएको थियो ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७३, बिहीबार १३:१९