कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा कठिनाइ

सुर्खेत, २५ फागुन ।
डिभिजन सहकारी कार्यालय सुर्खेतले कर्मचारी अभावमा सेवा प्रवाहमा कठिनाइ भएको जनाएको छ । आवश्यकताअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा छिटो छरितो हुन नसकेको कार्यालयको भनाइ छ ।
सुर्खेतमा रहेको कार्यालयले प्रदेश नम्बर ६ अन्तर्गतका तीन जिल्ला हेर्ने गर्दछ । यो कार्यालयले सुर्खेतसहित दैलेख र जाजरकोटमा पनि सेवा प्रवाह गर्दै आएको छ । सेवा प्रवाह गर्नुपर्ने क्षेत्र ठूलो भएको र सोही अनुसार कर्मचारी नहुँदा जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउन समस्या भएको कार्यालयले जनाएको हो ।
अहिले यस कार्यालयको मातहतमा १४ जना कर्मचारी रहेका छन् । १४ जना कर्मचारीमध्ये पनि तीन जना करारमा कार्यरत कार्यालय सहयोगी र एक जना मन्त्रालय अन्तर्गतकै कार्यक्रममा काजमा खटिएका छन् । हाल १० जना मात्र कर्मचारी कार्यरत रहेको र उनीहरूले तीन वटा जिल्ला हेर्नुपर्ने बाध्यता रहेको छ । डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत देवीप्रसाद पौड्यालले १० जना कर्मचारीले मात्रै तीन जिल्लाको काम हेर्नुपर्ने भएकाले अन्त्यन्तै कठिन भएको बताए ।
१० जना कर्मचारीले मात्रै फिल्डमा गएर काम गर्नुपर्ने भएकाले तीन जिल्लाका लागि यो अपुग भएको उनको भनाइ छ । यो कार्यालय अन्तर्गत नयाँ सहकारी संस्था दर्ता गर्ने, अभिलेखीकरण गर्ने, तीन वटै जिल्लाको अनुगमन गर्ने, विभागका कार्यक्रम अन्तर्गतका तालिमहरू सञ्चालन गर्दछ । तर यो काम गर्न कर्मचारीको यो संख्या कम भएको उनले उल्लेख गरे । पौड्यालले भने, ‘१० जना कर्मचारी त यो एउटा जिल्लाको लागि पनि कम हुन्छ, अब तीन वटा जिल्लामा कसरी सेवा दिन सकिन्छ ?’ सरकारले सफ्टवयरको व्यवस्था गरिदिए आफूहरूले अनलाइनमार्फत् नै सहकारीको निगरानी तथा अनुगमन गर्नसक्ने र यसले पनि सेवा प्रवाहमा केही सहज हुने उनको भनाइ छ ।
यदि समयमा नै यो सफ्टवेयरको व्यवस्था भएन भने सहकारी क्षेत्रमा धेरै विकृति उत्पन्न हुनसक्ने भन्दै उनले देशको अर्थतन्त्रमा नै ठूलो असर पर्ने दाबी गरे । साथै आफूहरूले मन्त्रालयमा कर्मचारी थप गर्न पटक–पटक लिखित रूपमै माग गरेको भन्दै उनले बेवास्ता गरिएको गुनासो पोखे । पौड्यालले गत आर्थिक वर्षमा तीन जिल्लामा गरी ५३ वटा सहकारी संस्था खारेज भएकोसमेत जानकारी दिए । उनका अनुसार अरु सहकारीमाथि पनि निगरानी भइरहेको छ । पछिल्लो समय नयाँ सहकारीको संख्या थपिने क्रम बढेको बताउँदै उनले सुर्खेतमा मात्रै करिब ६ सय सहकारी संस्था दर्ता भएको जानकारी दिए । दैलेख र जाजरकोटमा पनि करिब दुई÷दुई सयको हाराहारीमा सहकारी संस्था दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७३, बिहीबार १३:१७