‘हामी शैक्षिक मुद्दामा केन्द्रित हुनेछौं’

लामो प्रयासपछि हालैमात्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले भाग लिए । मध्यपश्चिमको सबैभन्दा ठूलो सुर्खेत क्याम्पस (शिक्षा)मा पनि चुनाव भयो । जिल्लाबासीले नै निकै चासोका साथ हेरेको शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववियुले बहुमत प्राप्त ग¥यो । नवनिर्वाचित स्ववियुको आगामी योजना, अबको शैक्षिक मुद्दा, अन्य संगठनहरूसँगको सम्बन्ध र विद्यार्थी राजनीतिको विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले सुर्खेत क्याम्पस (शिक्षा)का स्ववियु अध्यक्ष चक्रबहादुर शाहीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ कुराकानीको सारांशः

चुनाव जित्छु जस्तो लागेको थियो ?
एकदमै लागेको थियो । किनकी यसभन्दा अगाडिका चुनावमा पनि शिक्षा क्याम्पसमा म आवद्ध रहेको संगठन अनेरास्ववियुले नै चुनाव जित्दै आएको थियो । क्याम्पसमा हाम्रो संगठनले विद्यार्थीको मन जित्न सफल भएको थियो । यसअघि पनि हामीले विद्यार्थी र क्याम्पसको हितका राम्रो काम गरेर देखाइ सकेको हुँदा यसपटक पनि विद्यार्थीले अनेरास्ववियुलाई नै चुन्ने छन् भन्ने विश्वास थियो । त्यसैले नतिजा पनि हाम्रै पक्षमा आयो । जुन विश्वास हामीले विद्यार्थीबाट गरेका थियौं, त्यो विश्वास अनुसार विद्यार्थीले हामीलाई भोट दिएर जिताउनु भयो ।
यहाँको प्यानल विजयी घोषणा हुँदा कस्तो अनुभूति भएको थियो ?
त्यतिबेला निकै हर्षित भएँ । मेहेनतको नतिजा हात लाग्ला स्वभाविक रूपमा नै साथीहरूसँग खुशी साटें । विद्यार्थीहरूले कुन संगठनलाई जिताउँदा विद्यार्थी र क्याम्पसका हितका लागि काम गर्नसक्छ भन्ने राम्रो मूल्यांकन गर्नुभएछ भन्ने लाग्यो । विद्यार्थीहरूले वास्तविक रूपमा राम्रो काम गर्ने संगठनलाई जिताउनुभयो र अनेरास्ववियुप्रति विद्यार्थीको ठूलो विश्वास छ भन्नेमा ढुक्क भएँ ।
यो विश्वासलाई हामी आउँदा दिनमा पनि गुम्न दिनेछैनौं ।
मतदान हुनुअघि सबै विद्यार्थीसँग भोट माग्ने अवसर पाउनु भएको थियो त ?
चुनाव हुनुभन्दा अघि हामी सबै विद्यार्थीहरूकै साथमा निरन्तर थियौं । विद्यार्थीसँग भोट माग्ने मौका पनि पाएको थिएँ । एक महिनाअघि नै चुनावको मिति घोषणा भएको हुँदा हामीले त्यो एक महिनासम्म विद्यार्थीहरूसँग भोट माग्ने अवसर पनि पायौं । चुनावको बेलामा मात्र होइन, हामी सधैं विद्यार्थीहरूको समस्या बुझेर समाधान गर्नतर्फ पनि लाग्नेछांै ।
यो राजनीतिमा तपाईंलाई लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
मलाई राजनीतिमा लाग्ने प्ररेणा कसैबाट मिलेको होइन । म आफैभित्रबाट नै राजनीतिमा लाग्ने ऊर्जा आयो । राजनीति सम्मान र सबैको सेवा गर्न पाउने अवसर भएकाले पनि म यसमा होमिएको हुँ । म कक्षा ८ मा पढ्दा स्कुलमा विभिन्न विद्यार्थी संगठनहरू थिए । साथीहरू त्यसमा आवद्ध पनि भएका थिए । त्यतिबेलादेखि नै राजनीति भनेको सबैले मान्ने रहेछन् र समाजसेवा गर्न पनि पाइन्छ भन्ने सोच आयो । त्यसपछि म राजनीतिमा प्रवेश गरें । राजनीति बुझ्न जरुरी छ भनेर नै म राजनीतिमा लागेको हुँ ।
स्ववियु अध्यक्ष निवार्चित हुनुभएको छ, अबको तीन महिनाभित्र विद्यार्थीले अनुभूति गर्नेगरी के काम गर्नुहुन्छ ?
अबको तीन महिनाभित्र सबैभन्दा पहिला त आठ वर्षदेख थलापरेको स्ववियुलाई नियमित सञ्चालन गर्नेछौं । त्यसपछि क्याम्पसमा छात्रवृत्ति वितरण नगरेको तीन वर्ष भइसकेको छ । यसलाई निरन्तरता दिनको लागि पहल गर्नेछौं । खेलकुद र कम्प्युटरको ल्याबलाई व्यवस्थित गरेर देखाउनेछौें, अनियमित पढाइलाई नियमित गराउने, आईसीटी र विज्ञान विषयका विद्यार्थीहरूलाई इन्टरनेट चाहिने हुँदा क्याम्पसको हाताभित्र इन्टरनेटको व्यवस्था र खानेपानीको समस्यालाई अबको तीन महिनाभित्रैमा समाधान गरेर देखाउनेछौं । हाम्रो यो कामलाई विद्यार्थीले अबको तीन महिनाभित्र अनुभूति गर्नेछन् । हामी काम गरेर देखाउनेछौं ।
स्ववियुका आगामी योजनाहरू के–के छन् नि ?
स्ववियुका आगामी योजना भनेको क्याम्पसमा अहिले स्नातकमा आईसीटी र बीएडमा विज्ञान विषय पढाइ भइरहेको छ । अब यी विषयलाई स्नातकोत्तर (डीग्री) सम्म पनि अध्यापन गराउनको लागि पहल गर्नेछौं । विद्यार्थीको प्रतिभा प्रस्फूटनका लागि क्याम्पसमा अतिरिक्त क्रियाकलापहरू नियमित गराउने, पुस्तकालयको व्यवस्थापन, प्रशासनलाई व्यवस्थापन, क्याम्पसभित्र रहेको पुरुष र महिलाको होस्टेललाई पनि व्यवस्थित गराउने लगायतका योजनाहरू रहेका छन् । यी लगायत विद्यार्थीको लागि आवश्यक पर्ने अन्य तत्कालीन योजनाहरू कार्यान्वयन गर्न हामी लागि रहनेछौं ।
विद्यार्थीले क्याम्पसमा राजनीति गर्ने कि पढ्ने ?
क्याम्पसमा त विद्यार्थी पढ्नकै लागि भनेर आउने गर्छन् । विद्यार्थीले क्याम्पसमा अध्ययन नै गर्ने हो । तर, पढाइसँगै राजनीतिलाई पनि बुझ्न जरुरी छ । चासो दिने विद्यार्थीलाई राजनीतिमा लाग्नको लागि प्रेरित पनि गर्नुपर्छ । विद्यार्थीले अध्ययनसँगै समाज, देश र राष्ट्रको हितका लागि राजनीति बुझ्न आवश्यक छ । हाम्रो पहिलो काम अध्ययन नै हो । त्यसको साथसाथै राजनीतिलाई बुझेर हामी विद्यार्थीका समस्यालाई समाधान गर्नेतर्फ र विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा बढी ध्यान दिनेछौं ।
तर, स्ववियुले शैक्षिक मुद्दाभन्दा बढी राजनीतिक मुद्दा उठाउँछ भन्ने आरोप छ नि ?
यो कुरा त बाहिर कसले कसरी बुझ्छ त्यो बुझाइमा भरपर्ने हो । स्ववियुले क्याम्पसमा राजनीति गरेको छैन । हामीले शैक्षिक मुद्दालाई नै प्राथमिकता दिने हो । विद्यार्थीकै पक्षमा वकालत गर्ने हो । विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसको शैक्षिक गुणस्तरमा हामी केन्द्रित हुनुपर्दछ । हामीले अधिकारको कुरा गर्दा कसैले त्यसलाई राजनीति ठान्छन् भने त्यसलाई अब हाम्रो भन्नु केही छैन । तर मूलतः हामी शैक्षिक मुद्दामा नै केन्द्रित हुनेछौं । गुणस्तरीय शिक्षाका लागि निरन्तर रचनात्मक सहयोग र खबरदारी गर्नेछौं ।
सबै विद्यार्थीको साझा स्ववियु बनाउन के गर्नुहुन्छ ?
स्ववियु आफै पनि सम्पूर्ण विद्यार्थीहरूको साझा संस्था नै हो । किनकि यसमा शैक्षिक संस्था जोडिएकोले शिक्षा क्याम्पसमा पढ्ने सबैलाई स्ववियुले अलग र फरक व्यवहार गर्नेछैन । यसमा हामीले हाम्रा मान्छे नभइ राम्रा मान्छेलाई हरेक क्रियाकलापमा साथ र सहयोग गर्नेछौं । सबै विद्यार्थीहरूको मागलाई पूरा गर्ने प्रयास गर्नेछौं । चुनाव प्राविधिक विषय हो । चुनावको परिणामले केही साथीहरू नेतृत्वमा आउन सक्नु भएन, अब उहाँहरू सबैको भावनालाई आत्मसात् गर्दै हामी काम गर्नेछौं । सबै विद्यार्थीको भावनालाई हामी सम्मान गर्नेछौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा, मलाई आफ्नो अमूल्य भोट दिएर जिताउने सम्पूर्ण विद्यार्थीहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । मलाई चुनावको समयमा साथ र हौसला दिने सम्पूर्ण शिक्षक, विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरू र शुभचिन्तकप्रति आभार व्यक्त गर्दछु । आगामी दिनमा यहाँहरूको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता गर्न चाहन्छु । साथै आवश्यक सहयोग र सुझावको समेत अपेक्षा गर्दछु ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७३, बिहीबार १३:१५