अपेक्षा भन्दा थोरै मात्र आवेदन

सुर्खेत, २७ फागुन ।
सरकारले गाउँगाउँमा युवा उद्यमी उत्पादन गर्ने योजना ल्यायो । एउटा वडामा १० जना युवा उद्यमी उत्पादन गर्ने सरकारी योजना अनुसार सुर्खेतमा पनि आवेदन मागियो । युवालाई उद्यमशील बनाउन पाँच लाख रूपैयाँसम्म विना धितो रकम उपलब्ध गराइने भन्दै सूचना प्रकाशित पनि भयो । तर सुर्खेतमा यसतर्फ युवाहरूको आकर्षण देखिएन ।
जिल्ला युवा समितिले सार्वजनिक सूचना नै प्रकाशित गरेर युवाहरूसँग आवेदन माग्यो । तर पहिलो चरणमा अपेक्षा अनुसार आवेदन नआएपछि पुनः दोसो पटक सूचना निकालियो । दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि कार्यालयमा ऋण माग्दै आवेदन दिनेको संख्या एकदम न्यून भयो । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट जम्मा १० वटा आवेदन प्राप्त भए । अपेक्षा भन्दा एकदम कम मात्र आवेदन प्राप्त भएपछि युवा समितिका कर्मचारीहरू पनि सन्तुष्ट हुन सकेनन् । कारण विना धितो ऋण भनेपछि ठूलो संख्यामा आवेदन आउने अपेक्षा कर्मचारीहरूको थियो । तर यो अवधिमा जिल्ला भरबाट केवल १० वटा आवेदन परे ।
युवा समितिको कार्यालयका अनुसार जिल्लाको क्षेत्र नम्बर १ बाट दुई वटा, क्षेत्र नम्बर २ बाट सात र क्षेत्र नम्बर ३ बाट एउटा गरी जम्मा १० वटा निवेदन परेका छन् । यो संख्या एकदमै न्यून भएको कार्यालयको भनाइ छ । कार्यालयका सूचना अधिकारी चित्रानन्द तिवारीले आफूहरूले अपेक्षा गरेभन्दा कम मात्र आवेदन प्राप्त भएको बताए । उनले भने, ‘हामीले जिल्लामा धेरै आवेदन पर्ने अनुमान गरेका थियौं, तर कम आवेदन आए । आवेदन कम आउनुमा प्रक्रिया झन्झटिलो भएर पनि हुनसक्छ, युवाहरूको आकर्षण देखिएन ।’ विना धितो ऋण दिने प्रक्रिया झन्झटिलो भएकै कारण निवेदन कम आएको हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।
प्रक्रिया सजिलो नहुँदा युवाहरूले ऋणका लागि आवेदन नदिएको बताएका छन् ।
यसपटक एउटा निर्वाचन क्षेत्रमा एउटा समूह छनौट गरिनेछ । कार्यालयले यसअघि १० जना युवाको समूह बनाएर आवेदन दिन भनेको थियो । तर एउटा वडाबाट १० जनाको समूह बनाउन मुस्किल भएको र त्यो सम्भव नभएका कारण पनि युवाहरूले कार्यालयमा निवेदन दिन सकेनन् । हाल गाउँमा युवाहरूको संख्या कम भएको र अधिकांश लक्षित युवाहरू रोजगारीका लागि विदेश भएकाले पनि अपेक्षाकृत निवेदन नपरेको हुन सक्ने बताइएको छ । पाँच लाख विना धितो लिएर व्यवसाय गर्न इच्छुक भए पनि प्रक्रिया सहज नहुँदा आवेदन दिन नसकिएको युवाहरू बताउँछन् । सरकारले युवाहरूलाई स्वरोजगार बनाउन पाँच लाखसम्म ऋण प्रदान गर्ने योजना अगाडि सारेको छ । तर सुर्खेतमा यसतर्फ युवाहरू खासै आकर्षित भएको पाइएन ।
अब प्राप्त भएका १० वटा आवेदनहरूमध्ये छनौट गरेर एउटा निर्वाचन क्षेत्रमा एक समूहलाई रकम उपलब्ध गराइनेछ । ती १० वटा समूहले प्रक्रिया पूरा गरेर आवेदन दिएका छन् । प्रदान गरिएको रकम युवाहरूले उत्पादनमूलक काममा लगानी गर्नुपर्नेछ । १० जना युवाको एउटा समूह बनाउनुपर्ने, त्यसमा पनि ५० प्रतिशत महिला सहभागिता गराउनुपर्ने, कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने, समूह दर्ता गराउनुपर्ने, समूहमा रहेकाहरू बेरोजगार भएको गाविस तथा नगरपालिकाबाट सिफारिस ल्याउनुपर्ने र पाँच वर्षको कार्ययोजनाको ढाँचासमेत बनाउनुपर्ने भएकाले पनि युवाहरूले चासो नदिएको कार्यालयको भनाइ छ । तिवारीले भने, ‘शिक्षित युवाहरू विदेशमा छन्, स्वदेशमा भएका धेरै जसो युवाहरू आधारभूत शिक्षा पास नगरेकोले पनि निवेदन कम परेको हो ।’
अब कार्यालयले प्रति निर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा दश युवालाई पाँच लाख रूपैयाँको निब्र्याजे ऋण उपलब्ध गराउनेछ । त्यो ऋण तीन किस्तामा गरी पाँच वर्षमा सरकारलाई चुक्ता गर्नुपर्ने प्रावधान रहेको छ । निवेदन दिएका मध्येबाट पनि केन्द्रीय छनौट समितिले छनौट गरी पठाएपछि मात्र पहिलो किस्तामा ५० प्रतिशत र दोस्रो किस्तामा ५० प्रतिशत गरी दुई किस्तामा रकम उपलब्ध गराइने सूचना अधिकारी तिवारीले जानकारी दिए । यो रकम युवाहरूले गाउँमा उद्यम सञ्चालनमा लगानी गर्नुपर्नेछ । सरकारले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले यो योजना अगाडि सारेको हो ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७३, शनिबार १७:२२