राजधानी सहरी सडक निर्माण अधुरै

 

सुर्खेत: कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको कार्य अधुरै छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन नसकेको हो ।

वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । साढे दुई वर्षमा १९ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ भदौ १७ गते विभिन्न १५ वटा सडक खण्डमा कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड ९४ लाख ३६ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरी शर्मा धितालले जानकारी दिए । उनका अनुसार ठेक्का सम्झौता सकिएको छ । तर, सडक निर्माण कार्य अधुरै रहेको छ ।

निर्देशनालय र कन्स्ट्रक्सनबीच यी सबै सडकहरू २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो । तोकिएको समयमा ती सडक सम्पन्न भएका छैनन् । निर्माण कम्पनीले हालसम्म निर्देशनालयबाट जम्मा एक करोड ९२ लाख रूपैयाँ लिएको छ । चालु आर्थिक वर्षमा समेत उक्त शीर्षकमा पर्याप्त बजेट रहेको निर्देशनालयले जनाएको छ ।

 

म्याद थपका लागि निवेदन

सहरी सडक आयोजनाको सम्झौता अवधि सकिएको छ । २०७९ फागुन २८ मा म्याद सकिएको हो । म्याद सकिएपनि अहिले निर्माण कम्पनीले विभिन्न खण्डमा काम गरिरहेको निर्देशनालयका सूचना अधिकारी धितालले जानकारी दिए । कन्स्ट्रक्सनले २०८१ असार मसान्तसम्म काम गर्नेगरी पूर्वाधार विकास निर्देशनालयमा प्रतिवद्धता पत्र पेस गरेको छ ।

निर्माण कम्पनीले म्याद थपको माग गर्दै प्रतिवद्धता पत्र पेस गरेको धितालले जानकारी दिए । उनका अनुसार उसले गरेको कामको आधारमा मात्र म्याद थप गर्ने तयारी भइरहेको बताए । ‘निर्माण कम्पनीले म्याद थपका लागि फाइल पेस गरेको छ । फिल्डमा गरेको कामका आधारमा म्याद थप गर्ने तयारी कार्यालयको छ’ धितालले भने । यद्यपि, उनले निर्माण कम्पनीले भौतिक प्रगति ५० प्रतिशत नकटाएको खण्डमा म्याद थप नहुने समेत बताए । ‘निर्माण कम्पनीले कम्तीमा भौतिक प्रगति ५० प्रतिशत कटाउनुपर्छ, अनि मात्र म्याद थप हुन्छ’ उनले भने, ‘अहिले केही स्थानमा निर्माणको काम चलिरहेको छ ।’

 

अधुरै छोडिएका निर्माणका काम

१५ वटा योजनाको स्तरोन्नति गर्नका लागि ठेक्का सम्झौता गरिएको थियो । सम्झौता गरिएका मध्ये कुनैको पनि निर्माण सम्पन्न भएको छैन । डिभिजन वन कार्यालय अगाडिको सडकसमेत अधुरै छ । एक सय ८१ मिटर सडक निर्माणको काममा वेस राखेर कालोपत्रे गर्न बाँकी नै छ । खारखोली–टेलिकम सडकको नाला निर्माण र सव–वेसको काम सकिएको छ भने वेस निर्माण र कालोपत्रेको काम बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

खारखोली हटलाइन सडकको समेत काम आधा मात्र भएको छ । पूर्वाधार विकास निर्देशनालय अगाडिको दुई सय ४० मिटर सडकको काम अघि बढेको छैन । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अगाडिको कामसमेत भएको छैन । दुई सय २० मिटर सडकको नाला निर्माण, सव–वेस र वेस निर्माणको काम बाँकी छ ।

विभिन्न स्थानका सडक निर्माण कार्य अधुरा छन् । इत्राम चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिको चार सय मिटर सडक, बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालयसम्मको ६ सय ३० मिटर सडक, डी.आई.जी चोकदेखि खारखोलीसम्मको एक सय ११ मिटर सडक, कालिन्चोकदेखि मिलनचोकसम्म तीन सय ८८ मिटर सडक, खजुराभित्रि मोडेल कलेज उत्तरपश्चिम सात सय ३० मिटर सडक निर्माणको काम पूरा हुन सकेको छैन ।

त्यसैगरी एक सय २० मिटर गण्डकी लाइन सडक, चार सय ४० मिटर महिला छात्राबासदेखि दैलेख रोड सडक, दुई सय मिटर लालुपाते उत्तर सडक, एक सय ६० मिटर रत्नराजमार्ग सितलनगर सडक निर्माण कार्य अधुरै रहेको छ । ती सडकमा नाला निर्माण, सव–वेस र वेस निर्माणको काम बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

यद्यपि, केही स्थानमा भने धमाधम काम अघि बढेको छ । पूर्वाधार विकास निर्देशनालयमा प्रतिवद्धता पत्र पेस गरेर निर्माण कम्पनीले काम गरिरहेको हो । जिल्ला अदालत, मुख्यमन्त्री कार्यालय अगाडि र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि नाला निर्माणको काम भइरहेको छ ।

 

 

प्रकाशित मितिः   ३ फाल्गुन २०८०, बिहीबार ०५:०५