बजेट नहुँदा पुल निर्माणको काम ठप्प
सुर्खेत: बजेट अभावका कारण निर्माणाधिन पुल अलपत्र परेको छ । भेरीगंगा नगरपालिका–२ स्थित छिन्चुखोलामा पक्की पुल निर्माणको काम ठप्प भएको हो । भुक्तानी दिने रकम नभएपछि काम रोकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
छिन्चुखोलामा ९० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ फागुन १५ गते १७ करोड ७२ लाखमा अञ्जना वाई.एस.एस जेभी काठमाडौसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार २०८२ वैशाख १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दुई वटा फाउन्डेशन निर्माण सकिएको कार्यालयका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिए । उनकाअनुसार डेढ महिनादेखि भुक्तानी रकम नपाएपछि निर्माण कम्पनीले काम रोकेको छ ।
निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा दुई करोड २५ लाख ८३ हजारको बिल पेस गरेको छ । तर, हालसम्म एक रूपैयाँसमेत भुक्तानी पाएको छैन । भुक्तानी नपाएपछि अहिले पुल निर्माणको काम नै रोकिएको हो । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको हो । गतवर्ष पुल निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यो वर्ष ८९ लाख ३० हजार मात्र छुट्याइएको छ । पर्याप्त बजेट नहुँदा भुक्तानी दिन कठिनाइ भएको सडक डिभिजनले जनाएको छ ।
कार्यालयकाअनुसार पुल निर्माणको धेरै काम बाँकी नै छ । अझै दुई वटा फाउन्डेशन निर्माण, सव स्टक्चर तथा सुपर स्टक्चरको काम बाँकी छ । तर बजेट अभावका कारण काम अघि बढाउन समस्या भएको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले बताए ।
पुल निर्माणको काम अघि बढाउनका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको छ । काम नै रोकिने अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा थप बजेट माग गरिएको सूचना अधिकारी पौडेल बताउँछन् । निर्माण कम्पनीले भुक्तानीका लागि मन्त्रालयलाई ताकेता गरिरहेको छ । पुल निर्माणको थप काम अघि बढाउन बजेट माग गरिएको भन्दै उनले काम सम्पन्न भएकै रकम भुक्तानी दिन नसकिएको जनाए । उनले भने, ‘बजेट नहुँदा निर्माणको काम रोकिएको छ । काम सम्पन्न भएका योजनाको समेत कार्यालयले भुक्तानी दिन सकिरहेको छैन ।’ बजेट मागका लागि पटक–पटक अर्थ मन्त्रालयमा धाइरहनुपरेको पौडेलको भनाइ छ ।
सम्झौता अवधिमै पुल तयार गर्ने कम्पनीले पाएन भुक्तानी रकम
छिन्चुखोलामा निर्माणाधिन पुलका लागि बजेट अभाव भइरहँदा भेरीगंगाकै अर्को स्थानमा भने सम्झौता अवधिमै पुल निर्माण भइसक्दा पनि निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । भेरीगंगा नगरपालिका वडा नं. ५ को सिरेनी खोलामा २४ मिटर लामो ११ मिटर फराकिलो पुल निर्माण भएको छ । तोकिएकै समयमा पुल सम्पन्न भएको हो । पुल बनेर आउजाउ गर्न स्थानीयलाई सहज भएपनि निर्माण कम्पनीले भने भुक्तानी रकम पाएको छैन ।
पुल निर्माणका लागि २०७८ फागुन २९ गते श्री आशिष–योगेश्वर–रूचि जेभी काठमाडौंसँग ठेक्का सम्झौता गरिएको थियो । सडक डिभिजन कार्यालय सुर्खेतले २०८० असोज २५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी पक्की पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले समयअगावै निर्माण सम्पन्न गरेको छ । २०८० असोज २० मा नै पुल निर्माण गरी प्रयोगमा आइसकेको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतले तीन करोड १६ लाख ६१ हजारमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । कार्यालयले अझै ७२ लाख रकम भुक्तानी गर्न बाँकी छ । ७२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । यो वर्ष कार्यालयमा उक्त कामको भुक्तानीका लागि पाँच लाख मात्र बजेट प्राप्त भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा भुक्तानीमा समस्या भएको हो ।
प्रकाशित मितिः १ फाल्गुन २०८०, मंगलवार ११:५५
रजनी याेगी ।