बावियाचौरमा इलाका प्रशासन

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ माघ । 
पश्चिम सुर्खेतको बावियाचौरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । नेपाल सरकारको गत असोज १ गतेको निर्णयअनुसार बावियाचौरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो । 
पश्चिम सुर्खेतका नागरिकहरूले विगत लामो समयदेखि नै बावियाचौरमा इलाका प्रशासन स्थापनाको माग गर्दै आएका थिए । चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउन लागिएको उक्त इलाका प्रशासनका लागि सरकारले तत्काल ६ जनाको दरबन्दी स्वीकृत गरिसकेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बावियाचौरमा इलाका प्रशासन स्थापनाका लागि गृह मन्त्रालयले परिपत्र पठाएर आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिएको बताए । उनले सरकारबाट तत्काल स्वीकृत ६ जनाको दरबन्दी लोक सेवासँग माग गरिएको जनाए । उनका अनुसार शाखा अधिकृत–१, नायव सुब्बा–३, सहायक लेखापाल–१ र सहायक कम्प्युटर अपरेटर–१ जनाको दरबन्दी स्वीकृत भएको छ । ‘बावियाचौरमा कार्यालय स्थापनाका लागि छिट्टै आवश्यक प्रक्रिया सुरु गर्न स्थानीय स्तरमा समन्वय भइरहेको छ’ उनले भने, ‘तत्काल लोक सेवाबाट दरबन्दी र कार्यालय सञ्चालनका लागि भवन उपलब्ध हुने वित्तिकै सेवा सञ्चालनमा आउँछ ।’
पश्चिम सुर्खेतका सेवाग्राहीलाई नागरिकता बनाउन सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गर्नका आफू निरन्तर लागिरहेको उनले जिकिर गरे । यसअघि बावियाचौरमा इलाका हुलाक, कृषि, पशु, स्वास्थ्य र वन लगायतका कार्यालयहरू सञ्चालनमा रहेका छन् । 
प्रकाशित मितिः   २६ माघ २०७२, मंगलवार ०३:२३