संस्थापन पक्षले बाजी मा¥यो

रेग्मी तीन मतले विजयी, खड्का गृह जिल्लामै कमजोर, रातारात फेरियो समीकरण

साझा बिसौनी संवाददाता

सुर्खेत, २५ माघ । 
नेपाली कांग्रेस सुर्खेतको जिल्ला अधिवेशनमा संस्थापन पक्षले एकलौटी जीत हात पारेको छ । सोमवार वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन पक्षका उम्मेदवारहरू विजयी भएका हुन् । सभापतिमा कमलराज रेग्मी, सचिवमा टोपबहादुर रावत र कोषाध्यक्षमा अनन्तप्रसाद पौडेल विजयी भएका हुन् । उनीहरू सबै संस्थापन पक्षका हुन् ।
सभापतिमा निर्वाचित रेग्मीले तीन सय ३१ मत प्राप्त गरेका छन् । उनले प्रतिस्पर्धी यज्ञबहादुर बिसीलाई तीन मतको अन्तरले पराजित गरेका हुन् । देउवा पक्षबाट सभापतिमा उम्मेदवारी दिएका बिसीले तीन सय २८ मत प्राप्त गरे । यस्तै सचिवमा संस्थापन पक्षबाट टोपबहादुर रावत तीन सय ३० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायणप्रसाद सापकोटाले तीन सय २३ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा अनन्तप्रसाद पौडेल तीन सय २५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी झकबहादुर डाँगीले तीन सय २१ मत प्राप्त गरेका छन् । 
यसअघि सम्पन्न गाउँ, नगर तथा क्षेत्रीय अधिवेशनमा समेत संस्थापन पक्षले पकड जमाएको थियो । जिल्ला अधिवेशनमा संस्थापन पक्षले विजय प्राप्त गरेसँगै सुर्खेतमा देउवा पक्ष कमजोर बनेको छ । कांग्रेसका केन्द्रीय सहमहामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्लामा नै संस्थापन पक्षले बाजी मारेको हो । खड्काको गृह जिल्ला भएका कारण सुर्खेतमा देउवा पक्ष बलियो हुने आँकलन गरिएको थियो । तर सोमवार सम्पन्न निर्वाचनले खड्का गृह जिल्लामा कमजोर रहेको देखाएको छ । सुर्खेतमा संस्थापन पक्षको नेतृत्व गरिरहेका सांसद हृदयराम थानी नै बलिया देखिएका छन् । यसअघि सम्पन्न गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा बहुमत हात परोका थानीले जिल्ला नेतृत्वमा समेत पकड जमाउन सफल भएका छन् । गाउँ तथा क्षेत्रीय अधिवेशनमा समेत कमजोर देखिएको खड्का प्यानलले जिल्ला अधिवेशनमा भने कडा टक्कर दिएको छ । संस्थापन पक्षले एक सय भन्दा बढी मत अन्तरले विजयी हुने दाबी गरे पनि झिनो मतअन्तरले मात्र विजयी भएको छ । 
दुवै प्यानलले क्षेत्र नं. ३ लाई निर्णायक मतका रूपमा लिएका 
थिए । सो क्षेत्रको मतलाई प्रभावित गर्न खड्का पक्षले सोही क्षेत्रका बिसीलाई सभापतिको उम्मेदवार बनाएको थियो । यस्तै आफू कमजोर रहेको क्षेत्र नं. १ मा संस्थापन पक्षले मत प्राप्त गर्न सोही क्षेत्रका अनन्त पौडेललाई कोषाध्यक्षको उम्मेदवार बनाएको थियो । यो रणनीतिमा संस्थापन पक्ष सफल भएको छ । यसैबीच कांग्रेस जिल्ला अधिवेशनमा रातारात समीकरण फेरबदल भएको थियो । संस्थापन पक्षका निवर्तमान जिल्ला कार्यवाहक सभापति उपेन्द्रबहादुर थापा आइतवार साँझसम्म संस्थापन पक्षमा नै देखिएका थिए । तर उनले रातारात देउवा पक्षका उम्मेदवार बिसीलाई समर्थन गर्दै भोट मागेका थिए । यसले देउवा पक्ष केही उत्साहित समेत बनेको थियो । यस्तै गाउँ तथा क्षेत्रीय अधिवेशनसम्म संस्थापन पक्षको निकट रहेका बिसी जिल्ला अधिवेशनमा आउँदा देउवा पक्षबाट सभापतिको उम्मेदवार बनेका थिए । पार्टीभित्र रातारात फेरिएको समीकरणलाई कांग्रेस कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थ र योगदानको मूल्याङ्कन नहुँदाको परिणामको रूपमा टिप्पणी गरेका छन् ।
सभापतिमा विजयी भएपछि रेग्मीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने प्रतिक्रिया दिए । साथै उनले आफ्नो जीतले समग्र कार्यकर्ता र पार्टीको नै विजय भएको भन्दै निर्वाचनमा पराजित भएकाहरूलाई समेत साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले अब जिल्लामा पार्टीभित्र रहेका गुटहरूको समेत अन्त्य भएको दाबी गरे । आफू अब पार्टीमा रहेका गुटहरू अन्त्य गर्ने र सङ्गठनलाई क्रियाशील बनाउनेतर्फ केन्द्रित हुने उनको भनाइ छ । ६ सय ८१ मतदातामध्ये सोमवारको निर्वाचनमा ६ सय ७४ मत खसेको थियो । तीन पदका लागि सोमवार निर्वाचन सम्पन्न भएको छ भने जिल्ला कार्यसमितिका सदस्यहरू यसअघि नै क्षेत्रीय अधिवेशनबाट निर्वाचित भइसकेका छन् । यस्तै जिल्ला कार्यसमितिको उपसभापति, एक जना सचिव, सहसचिव र केही सदस्यहरू नवनिर्वाचित कार्यसमितिले मनोनित गर्ने व्यवस्था कांग्रेसमा रहेको छ ।
युवाको वर्चश्व
कांग्र्रेसको यसपटकको अधिवेशनले युवा नेतृत्वलाई स्थान दिएको छ । कांग्रेसमा विगतदेखि नै पाका नेताहरूले मात्र नेतृत्व हाँक्दै आएका थिए । यसपाली भने सभापति, सचिव र कोषाध्यक्ष लगायतका मुख्य पदहरूमा युवाहरूको नै वर्चश्व देखिएको छ । 
सभापतिमा निर्वाचित कमलराजे रेग्मी, सचिव टोपबहादुर रावत र कोषाध्यक्ष अनन्तप्रसाद पौडेल तीनै जना युवा नेताहरू हुन् । पार्टीभित्र युवा पुस्ताले नेतृत्वको अवसर नपाएको र रुञ्चित गरिएको गुनासोहरू विगतदेखि नै सुनिने गरेका थिए । यो गुनासोलाई यसपटकको जिल्ला अधिवेशनले चिरेको छ । रेग्मी यसअघि क्षेत्र नं. २ को सभापति थिए भने सचिवमा निर्वाचित रावत नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री हुन् । यस्तै कोषाध्यक्षमा निर्वाचित पौडेल पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् । 
नवनिर्वाचित सभापति रेग्मीले अब पार्टीभित्र युवाहरूको पहुँच स्थापित भएको बताएका छन् । उनले कांग्रेसमा नेतृत्व गर्नसक्ने युवाहरू तयार भइसकेको भन्दै आगामी दिनमा समेत आफूले युवाहरूलाई नेतृत्वका लागि क्रियाशील बनाउने बताए । युवाहरू क्षमता र सिर्जनशीलतालाई अब हरेक पार्टीले स्थान दिनुपर्ने उनको भनाइ छ । 
प्रकाशित मितिः   २६ माघ २०७२, मंगलवार ०३:३१