वर्षौंपछि गाउँमा खानेपानी, सिँचाइले बढायो तरकारी खेती

सुर्खेत, २३ फागुन ।
गाउँमा खानेपानीको संकट । नजिकै मुहान नहुँदा गाग्री बोकेर घण्टौंसम्म धाउनुपर्ने । खानेपानीको जोहो गर्न मुस्किल हुने स्थानमा सिँचाइको त सम्भावना नै भएन । वर्षातको बेला आकाशे पानीको भरमा खेती लगाउनुपर्ने बाध्यता । खानेपानीकै सकस हुँदा सुर्खेतको तत्कालीन जिल्ला सदरमुकाम नै गढीबाट वीरेन्द्रनगर सारियो । पानीकै अभावले गर्दा मान्छेहरू गाउँ नै छाडेर अन्यत्र बस्ती सरे ।
तर वर्षौंदेखि खानेपानीको संकट व्यहोर्दै आएको गढीमा स्थानीय बासिन्दाकै सक्रियतामा अहिले खानेपानीको सुविधा उपलब्ध भएको छ । गाउँमा खानेपानीका धारा मात्र जडान भएका छैनन्, हिजोआज स्थानीयले रातको समयमा त्यही धाराको पानी संकलन गरेर बारीमा सिँचाइ गरिरहेका छन् । सिँचाइ सुविधा उपलब्ध भएपछि विगतमा धुलो उड्ने सुख्खा बारीमा अहिले तरकारी उत्पादन हुन थालेको हो । आफ्नै बारीमा तरकारी उत्पादन हुन थालेपछि स्थानीयको आम्दानीमासमेत वृद्धि भएको हो । पहिले गाग्री बोकेर पानीको जोहो गर्न समय खर्चिदैं आएका स्थानीय महिलाहरू अहिले तरकारी खेतीमा समय दिन थालेका छन् ।
अग्लो डाँडामा बस्ती रहेका कारण पानीको स्रोत छैन । वर्षौंको प्रयासपछि गैरसरकारी संस्थाहरूको सहयोग र गाउँलेको सक्रियतामा बस्तीमा पानी आएको हो । गाउँदेखि टाढा रहेको मुहानबाट पानी ल्याएर घर–घरमा घारा जडान गरिएको छ । दिनको समयमा घरायसी प्रयोजनमा खर्च हुने भए पनि रातको समयमा धाराको पानीलाई स्थानीयले ट्यांकीमा संकलन गर्दै आएका
छन् । संकलन भएको पानीलाई पालो प्रणाली अनुसार तरकारी खेतीमा सिँचाइ गर्ने व्यवस्था मिलाइएको स्थानीय देवीदत्त भण्डारीले बताए । स्थानीय शुभकामना कृषि उपज संकलन केन्द्रका अध्यक्षसमेत रहेका उनले भने, ‘अहिले त गाउँमै पानी आएको छ, अब गाग्री बोकेर धाउनुपर्ने अवस्था छैन । तरकारीमा पनि सिँचाइ गर्न सजिलो भएको छ, अहिले त बारीमै लटरम्म तरकारी फल्छ ।’ सिँचाइ सुविधासँगै
गाउँमा तरकारी उत्पादन बढ्न थालेपछि आम्दानी पनि बढेको उनको भनाइ छ ।
तरकारी उत्पादन वृद्धि भएपछि स्थानीयले आफ्नै सक्रियतामा गाउँमा तरकारी संकलन केन्द्र स्थापना गरेका छन् । गाउँमा संकलन भएको तरकारी सदरमुकाम वीरेन्द्रनगर निर्यात हुने गरेको छ । स्थानीय खगीसरा भण्डारीले भनिन्, ‘पहिला पानी ल्याउन जाँदा एक घण्टा समय लाग्थ्यो, खानेपानीको निकै दुःख थियो । अहिले त आँगनमै धारा छ, पानीको कुनै समस्या छैन ।’ उनका अनुसार धाराको पानीले बारीमा सिँचाइ गर्नसमेत पुगेको छ । उनले थपिन्, ‘पानीको सुविधा भएपछि पशुलाई पनि खुवाउन पुगेको छ, सिँचाइ भएपछि तरकारी खेती पनि बढ्यो । तरकारी बेचेरै घरखर्च चलेको छ, पानीले हाम्रो जीवन नै बदलियो ।’ गाउँमा खानेपानी उपलब्ध भएपछि व्यवसायिक तरकारी खेतीमा जुटेका स्थानीय रविलाल भण्डारीले भने, ‘पहिला त यो बारीमा स्याल दगुर्थे, उब्जनी नै हुन्थेन । बल्लतल्ल गाउँमा पानीको सुविधा भयो, अहिले त सबैले तरकारी खेती गर्न थालेका छन् ।’ उनका अनुसार गाउँलेहरू बेमौसमी तरकारी खेतीमा जुटेपछि रोजगारीका लागि भौंतारिनुपर्ने अवस्था छैन ।
३५ वर्ष पहिला तत्कालीन राजा वीरेन्द्रले यो स्थानमा खानेपानी ल्याउने आश्वासन दिएका थिए । तर राज्यले कुनै चासो नदिएपछि स्थानीयकै पहलमा अहिले गाउँमा खानेपानी आएको हो । जिल्लामा जलवायु परिवर्तनबाट जोखिममा परेका समुदायको लागि काम गर्दै आएको सुन्दर नेपाल संस्थाले आर्थिक सहयोग गरेपछि गाउँमा खानेपानी उपलब्ध भएको हो । संस्थाले सहयोग उपलब्ध गराएपछि गाउँमा धारा जडान, पानी संकलन गर्ने ट्यांकी निर्माण र तरकारी संकलन केन्द्र स्थापना भएका छन् । संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले भने, ‘हामीले अनुकूलन परियोजना अन्तर्गत गढीमा काम गरिरहेका छौं, खानेपानीको निकै समस्या थियो । हामीले त्यसमा आर्थिक सहयोग गरेका हौं, अहिले त गाउँमा सिँचाइको सुविधा पनि उपलब्ध भएको छ ।’ स्थानीयको जनश्रमदानले नै गाउँमा पानी ल्याउन सम्भव भएको उनको भनाइ छ । यसबाट गाउँका एक सय घर परिवार लाभान्वित भएका छन् ।
सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले सिँचाइ सुविधासँगै अब गढीलाई तरकारीको पकेट क्षेत्रको रूपमा विकास गरिने बताए । उनले भने, ‘जिल्लामा बाहिरबाट तरकारी आउने गरेको छ, अब यहाँ उत्पादन भएको तरकारीले नै जिल्लाको माग धान्न सक्छ । बरु अब गाउँमा पुग्ने बाटो निर्माणका लागि हामी सहयोग गर्नेछौं, यसले तरकारीलाई बजारसम्म लैजान सहज हुनेछ ।’ स्थानीयले तरकारी संकलन केन्द्रसम्म सडक निर्माणमा सहयोग गरिदिन आग्रह गरेका छन् । सडक निर्माण भएमा गाउँको तरकारी बजारसम्म लैजान सहज हुने उनीहरूको भनाइ छ ।