मंगलगढी–काँक्रेविहार सडक: लापरबाही गर्ने ठेकेदारको धरौटी जफत

सुर्खेत: वर्षाैदेखि सडक अलपत्र पार्ने अमर–सिस्ने नेपाल–मेघा कम्पनीको धरौटी रकम जफत गरिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले कम्पनीको अग्रिम भूक्तानी रकम जफत गरेको हो ।

सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र पारेपछि कार्यालयले धरौटी रकम जफत गरेको हो । पटक–पटक ताकेता गर्दापनि काम नगरेपछि धरौटी रकम जफत गरिएको पूर्वाधार विकास निर्देशनालयका सव–इन्जिनियर प्रेमचन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार कम्पनीको धरौटी वाफतको ८७ लाख रकम जफत गरिएको छ । उनले भने, ‘नियम अनुसार ८७ लाख रकम जफत गरिएको छ । कम्पनीलाई अब कालोसूचिमा राख्ने तयारी भइरहेको छ ।’

कुनै अवरोध नहुँदा पनि निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले धरौटी रकम जफत गरेको हो । प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नुपरेको छ । वडादेखि नगरपालिकाले समेत पूर्वाधार विकास निर्देशनालय सुर्खेतलाई ठेक्का तोड्न भनिरहेका छन् । काम नगर्ने ठेकेदारको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत् काम गर्न सुझाव दिइएको हो । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार हेर्न आउने पर्यटकलाई सडकको नाजुक अवस्थाले दुःख दिने गरेको छ ।

सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको, काम गर्छु भन्दै झुक्याएको र अटेरी गरेका कारण कार्यालयले कानुनी कदम चाल्नु परेको निर्देशनालयका सब–इन्जिनियर पाण्डे बताउँछन् । सजाय स्वरूप धरौटी रकम जफत गरिएको भन्दै उनले कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उक्त सडक यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । तर अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मंसिर १४ मा अमर–सिस्ने नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको थियो । २०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको हो । पछिल्लो सम्झौताअनुसार २०८० फागुन १५ गतेसम्म काम सम्पन्न भइसक्नुपर्ने हो । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार कम्पनीले काम नगरेपछि अहिले कम्पनीको धरौटी जफत गरिएको छ ।

दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार दुई करोड ७७ लाख रूपैयाँ भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन करिब १८ दिन मात्र बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर पाण्डेले बताए ।

४३ प्रतिशत भौतिक प्रगति

सडक स्तरोन्नतिको काम थालिएको दुई वर्षसम्म ४३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सडकमा अहिलेसम्म नाला निर्माण, फिलिङ गर्ने लगायतका कामहरू मात्रै भएका छन् । ठेकदारको लापरबाहीका कारण बनेको पूर्वाधारका कामहरू पनि जीर्ण बनिरहेको निर्देशनालयले जनाएको छ ।

निर्माण अवधि सकिन १८ दिन मात्र बाँकी छ । निर्माण अवधि सकिए लगत्तै थप कानुनी प्रक्रिया थाल्ने कार्यालयले जनाएको छ । कार्यालयका सब–इन्जिनियर पाण्डेका अनुसार निर्माण अवधि रहँदै ठेक्का तोड्न नमिल्ने भएककाले धरौटी रकम मात्र जफत भएको छ । अन्य कदानुनी प्रक्रिया फागुनपछि थालिनेछ ।

प्रकाशित मितिः   २८ माघ २०८०, आईतवार ०५:०५