सहकार्यका लागि प्रतिष्ठानसँग सम्झौता
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्यका लागि सम्झौता गरेको छ । नीति निर्माणसँग सम्बन्धित अनुसन्धानात्मक कार्यका लागि सम्झौता गरिएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल र प्रतिष्ठानका व्यवस्थापन विभाग प्रमुख लक्ष्मणप्रसाद भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहको पनि उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार सार्वजनिक नीति सम्बन्धी अनुसन्धान, नीति प्रयोगशालाको क्षमता विकास, तालिम, सेमिनार र कार्यशालाहरूसहित अनुसन्धान क्षमता विकास कार्यक्रममा विश्वविद्यालय र प्रतिष्ठानबीच सहकार्य हुनेछ । त्यसैगरी अनुसन्धान प्रसार र प्रकाशन, मानव संसाधन, सूचना तथा तथ्याङ्क र प्रविधि लगायत स्रोतसाधनको सहयोग र आदानप्रदान गर्ने जनाइएको छ । यो सम्झौता पाँच वर्षसम्म कायम रहनेछ भने आवश्यकताअनुसार पुनः नवीकरणसमेत हुन सक्नेछ ।
प्रकाशित मितिः २८ माघ २०८०, आईतवार ११:५४
साझा बिसौनी ।