सामाजिक रूपान्तरण

महिलाहरूको महिनावारी प्रक्रियालाई लिएर समाज अझै पनि अन्धविस्वासले जकडिएको छ । महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने गरिएको छ । सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा अहिले पनि परम्पराका रूपमा महिनावारी भएका महिलालाई घरमा बस्न दिइँदैन । उनीहरूलाई राख्नका लागि भनेर अलग्गै छाउगोठ बनाइएको हुन्छ । महिनावारी भएका बेला घरबाहिर असुरक्षित तरिकाले बस्नुपर्ने बाध्यात्मक संस्कारका कारण महिलाहरूको स्वास्थ्य उच्च जोखिममा छ । महिनावारी बार्न असुरक्षित ठाउँमा बस्दा थुप्रै खालका हिंसामा पर्नुका साथै महिलाहरूको बर्सेनि ज्यानसमेत जाने गरेको छ । तर यस्तो गलत प्रथा निर्मूल हुन सकेको छैन ।

सामाजिक मान्यता, रुढीबादी सोच र धार्मिक अन्धविश्वासको प्रभाव समाजबाट हटेको छैन । यस्तो अमानवीय परम्पराका कारण महिलाहरू प्रताडित छन् । महिनावारीका पाँच–सात दिनसम्म घरभित्र बस्न दिइन्न । रजस्वला हुँदा घरभन्दा टाढा बनाइएका असुरक्षित गोठहरूमा बस्नुपर्छ । दुध, दहीजस्ता पोषणयुक्त खानेकुरा खान दिइँदैन । रजस्वला भएका महिलालाई धार्मिक स्थलमा जान र पूजापाठ गर्नबाट समेत वञ्चित गरिँदै आएको छ । महिलाहरू महिनावारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम हो । तर, समाजमा यसलाई धार्मिक पक्षसँग जोड्ने गरिन्छ । महिनावारीलाई पाप तथा अभिशापका रूपमा हेर्ने चलन आज पनि छ । यस्तै गलत बुझाइले गर्दा कुरीतिले प्रश्रय पाउँदै आएको छ । सरकारी र गैरसरकारी संघ–संस्थाले वर्षौंदेखि छाउपडी प्रथाविरुद्धका अभियान चलाइरहेका छन् । जसले सुरक्षित महिनावारी प्रवद्र्धनमा टेवा पुगेको छ । तर, ती कार्यक्रम पर्याप्त भने छैनन् । कतिपय गाउँमा कुप्रथाका अवशेष बाँकी नै छन् । यही सामाजिक कुरीतिले महिलाहरू पीडित बनिरहकै छन् । सभ्य भनिएको समाजमा पनि उनीहरूमाथि अमानवीय व्यवहारका श्रृंखला रोकिएका छैनन् । खासगरी, अशिक्षा, लैंगिक विभेद र चेतनाको कमीले छाउपडी कुप्रथाले निरन्तरता पाइरहेको छ । यद्यपि, पछिल्लो समय न्यूनीकरण भने हुँदै गएको छ ।

पछिल्लो समय असुरक्षित महिनावारी बार्ने चलन हट्दै गएको छ । सुरक्षित महिनावारी प्रवद्र्धनमा उल्लेखनीय प्रगति हुँदै गएको हो । अगुवा महिलाहरू आफै कुरीतिविरुद्ध जागेपछि गाउँमा छाउगोठ मात्रै भत्केनन्, सोचसमेत बदलिएको छ । विभिन्न समयमा यसविरुद्धका अभियानहरू पनि सञ्चालन हुँदै आएका छन् । यस्ता खालका अभियानलाई निरन्तरता दिन जरुरी छ । सामाजिक चेतनामा पूर्णतः परिवर्तन नआउँदासम्म सचेतनामूलक कार्यक्रमहरू अपरिहार्य हुन्छ । जसले मानिसहरूको सोचलाई बदल्न सघाउँछन् । विकृति र विसंगतिपूर्ण परम्पराहरूको अन्त्य गर्न योगदान पु¥याउँछन् ।

प्रकाशित मितिः   २६ माघ २०८०, शुक्रबार ०९:५८