सडकलाई बजेट अभाव

निर्माणाधीन भेरी करिडोर अन्तर्गतका सडक निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम अघि बढाउन समस्या भएको हो । करिडोरअन्तर्गतका विभिन्न खण्डमा सडक स्तरोन्नतिका काम भइरहेका छन् । दु्रत गतिमा काम अगाडि बढिरहेको भएपनि छिन्चु–जाजरकोट सडक स्तरोन्नतिका लागि बजेट अभाव भएको हो । चालु आर्थिक वर्षबाट सडक स्तरोन्नतिको काम थालिएको छ । सडक डिभिजन कार्यालयका अनुसार भेरीगंगा नगरपालिकाको साधिखोलादेखि गुर्भाकोट नगरपालिकाको पोखरीसम्म २० किलोमिटर सडक निर्माण थालिएको हो ।

सडक स्तरोन्नतिका लागि २०८० वैशाख ५ गते के.एस कन्ट्रक्सन कैलालीसँग ठेक्का सम्झौता गरिएको छ । ७९ करोड ७८ लाखमा सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८३ वैशाख ४ गतेसम्म निर्माण गरिसक्नुपर्ने उल्लेख छ । चालु आर्थिक वर्षमा सरकारले न्यून बजेट विनियोजन गरेको छ । तीन करोड ७५ लाख मात्र विनियोजन गरिएको छ । यसअघि नै तीन करोड खर्च भइसकेको छ । हालसम्म करिब सात करोडको काम भइसकेको कार्यालयले जनाएको छ । तर बजेट न्यून हुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन समस्या भएको छ । दश महिनाको अवधिमा करिब सात करोडको काम भएको छ । अहिलेसम्म तीन करोड मात्र भुक्तानी भएको छ । छिन्चु–जाजरकोट सडक खण्डमा पक्की नाला निर्माण, टेवा पर्खाल निर्माणको काम भइरहेको छ । तर अर्थ मन्त्रालयले थप बजेट नदिए काम रोकिने अवस्थामा पुगेको छ ।

करिडोर निर्माण भएमा तिब्बतको मरिम्ला र भारतको रूपैडियाबीच सिधा सम्पर्क जोडिने छ । जाजरकोट, रूकुम र डोल्पाको भूगोललाई राष्ट्रिय राजमार्गको अवधारणाअनुरूप निर्माण कार्य अघि बढाइएको हो । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडिबुटीले बजार र उचित मूल्य पाउने अपेक्षा गरिएको छ । रूकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरू भएको थियो । सडक निर्माण थालिएको डेढ दशक पुगेको छ । सडक निर्माणको काम तीन वटा कार्यालयले छुट्टाछुट्टै रूपमा गरिरहेका छन् । त्यसमध्ये सडक डिभिजन कार्यालय सुर्खेतले छिन्चुदेखि छेडासम्म ६९ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । महङ्खवपूर्ण सडक सञ्जालमा बजेट अभावका कारण काम अवरुद्ध हुने अवस्था सिर्जना हुनु हुँदैन । यसका लागि सरकारले आवश्यक रकम व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २५ माघ २०८०, बिहीबार ०५:०३