न्यायको पहुँचमा महिला: बदलिँदै सोच, हट्दै कुरीति
सुर्खेत: दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ कि नन्दा वली ६० वर्षकी भइन् । उनीसँग छाउपडी कुप्रथाका कारण विगतमा भोग्नु परेका थुप्रै अनुभव छन् । महिनावारीको बेला नन्दाले गाईको गोठमा कैयौँ कहालीलाग्दा रात कटाइन् । तर अहिले अवस्था फेरिएको छ । आफ्ना छोरी–बुहारीले छाउ बार्नु नपरेकोमा उनी खुसी छिन् ।
घरभन्दा निकै टाढा असुरक्षित कटेरा बनाइन्थे । जसलाई (छुइँ) अथवा छाउ बार्ने भनिन्छ । नन्दालाई केही वर्षअघिसम्म महिनावारी भएका बेला घरभित्र बस्नु हुन्न भन्ने लाग्थ्यो । समाज र परिवारले नन्दालाई यस्तै सिकाएको थियो । ‘छुइँछाइ गरे अनिष्ट हुने डर लाग्थ्यो,’ उनी भन्छिन्, ‘यो सबै अन्धविश्वास रहेछ, अहिले आएर पो बुझियो ।’ नन्दाका छोरी–बुहारी र नातीनीले छुइँ मान्दैनन् । अहिले महिनावारी बार्ने चलन हटिसकेको छ । ‘महिनावारी हुँदा दही–दुध खान्छन् । घरमै बस्छन् । अहिले मेरा छोरी–बुहारी सुरक्षित छन् । पहिले थाहा भएन्, हामीले दुःख पायौँ’ उनले भनिन् । महिनावारी भएको समयमा अरुभन्दा अगाडि खाना खानुहुँदैन भन्ने, दही–दुध बार्ने, मन्दिर नजिकैको नदी नतर्ने जस्ता समस्या भोगेको उनले सुनाइन् ।
सोही वडाकी ४० वर्षीया लक्ष्मी बुढा पनि समाजबाट कुरीति हट्दै गएको बताउँछिन् । ‘केही वर्ष पहिलेसम्म महिनावारीका सात दिनसम्म घरभित्र पस्न दिइन्थेन’ उनले भनिन्, ‘अन्य समयभन्दा यसबेला आफूहरूले झनै कडा परिश्रम गर्नुपथ्र्यो । पोषिलो खाने, आराम गर्ने र सरसफाइमा ध्यान दिने चलन थिएन । अहिले धेरै परिवर्तन भएको छ ।’ बालविवाह, बहुविवाह, छाउपडी विस्तारै हट्दै गएको उनले सुनाइन् ।
पदमकला बुढा महिनावारी भएको समयमा घरभित्र बस्छिन् । त्यति मात्रै होइन महिनावारी भएको समयमा गोठमा बस्दा हुुन सक्ने खतराका बारेमा गाउँका महिलालाई सचेत गराउँछिन् । महिनावारी हुन थालेको अधिकांश समय गोठमा बस्दै आएकी बुढा अहिले घरमै सुरक्षित रूपमा बस्न थालेकी हुन् ।
२७ वर्षीया निर्मला शाही पनि महिनावारी हुँदा घरभित्रै बस्छिन् । ‘म छाउ हुँदा घरमै बस्छु, पहिला दिदीहरू गाई गोठमा बस्नुहुन्थ्यो,’ शाहीले भनिन्, ‘छाउ हुँदा मेरो हातले बनाएको खानेकुरा पनि चल्छ, अहिले सचेतनाका कारण समाज र परिवारमा गरिने व्यवहारमा परिवर्तन आएको छ ।’ उनी जस्तै मनिशा शाहीले पनि कहिल्यै छाउ बारेकी छैनन् । पहिलेभन्दा समाज फेरिएको छ ।
पछिल्लो समय असुरक्षित महिनावारी बार्ने चलन हट्दै गएको छ । सुरक्षित महिनावारी प्रवद्र्धनमा उल्लेखनीय प्रगति हुँदै गएको हो । गुराँस गाउँपालिकाको वडा नं. ३ को छर्चिमा केही वर्षपहिलेसम्म घरैपिच्छे छाउ बार्न बनाइएका गोठ थिए । महिलाहरू रजस्वला हुँदा त्यही बस्थे । बर्खे झरी र हिउँदको जाडो खेप्न बाध्य थिए । असुरक्षित बसाइँले स्वास्थ्य त बिग्रन्थ्यो नै ज्यानसमेत जोखिममा रहन्थ्यो । पछिल्लो समय अगुवा महिलाहरू आफै कुरीतिविरुद्ध जागेपछि गाउँमा छाउगोठ मात्रै भत्केनन्, सोचसमेत बदलिएको छ ।
समुदायस्तरमा छलफल
दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ छर्चिमा समुदायस्तरीय छलफल गरिएको छ । संस्थागत सुधारमार्फत् न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गतको महिला सशक्तीकरण मञ्चले छलफल चलाएको हो । छलफलमा घरेलु हिंसा, विभेद, छाउपडी प्रथा, बालविवाह, यौन हिंसाका पीडितलाई कानुनी पहुँचका विषयमा सचेत गराइएको छ । सहभागीहरूले बाहविवाह, बहुविवाह र छाउपडीजस्ता कुरीति हट्दै गएको बताएका छन् ।
छलफलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव शंकरबहादुर केसीले समाजमा रहेको कुरीति हटाउन सबै एकजुट हुनुपर्ने बताए । बालविवाह, लैङ्गिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय, जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा समेत उनले जानकारी गराएका छन् ।
कानुन तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीले समुदायबाट परिवर्तनको सुरुवात भएको बताइन् । उनले बालविवाह, घरेलु हिंसा, महिलामाथि हुने विभेद तथा दुव्र्यवहारबाट पीडित भएका महिलालाई न्यायको पहुँचमा पु¥याउन स्थानीय तहमा न्यायिक समिति गठन भएको बताइन् । समुदायमा कानुनी ज्ञानको अभावमा घरेलु हिंसा दबिएर रहेको पाइएको भन्दै न्यायिक समिति चनाखो हुनुपर्नेमा जोड दिइन् । बालविवाह, बहुविवाह, घरेलु हिंसा न्यूनिकरणमा सरकारले विशेष कार्यक्रम राखेको उनले जानकारी दिएकी छन् ।
गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८०/०८१ मा २१ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ११ वटा उजुरी फछ्र्यौट भएको र नौ वटा उजुरी प्रक्रियामा रहेको गाउँपालिका कि उजुरी प्रशासक सिता वलीले जानकारी दिइन् । जसमध्ये एउटा उजुरी माथिल्लो निकायमा दर्ता भएको छ ।
प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार १०:३८
रजनी याेगी ।