जेठभित्रै काँक्रेविहारको पुनर्निर्माण

सुर्खेत, २१ फागुन ।
काँक्रेविहार भग्नावशेषको पुनर्निर्माण आगामी जेठभित्रै सम्पन्न हुने भएको छ । बाह्र वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्दै आगामी जेठ मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्यसहित अहिले पुनर्निर्माणको कामले तीव्रता पाएको छ ।
काँक्रेविहार पुनर्निर्माणका लागि नौ करोड ६५ लाख ६६ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट २०७४ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने जनाइएको छ । निर्माणको जिम्मा सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले लिएको छ । काँक्रेविहार पुनर्निर्माणको योजना १२ वर्षअघि बनाइएको हो । उक्त योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । एक सय पाँच फिट उचाइको मन्दिर निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको पुनर्निर्माण कार्य पटक–पटक रोकिँदा ढिलाइ हुन पुग्यो । रोकिएको कामले अहिले पुनः तीव्रता पाएको छ ।
काँक्रेविहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन् गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरू निकालिएको थियो । उत्खनन् स्थलमा पुरातत्व विभागले २०६१ साल मंसिरदेखि शिखरशैली मन्दिर बनाउने काम सुरु गरिएको थियो । पटक–पटक गरेर लाखौं रूपैयाँ खर्च भइसक्दा पनि पुनर्निर्माण कार्यले पूर्णता पाउनसकेको छैन । पुरातत्व विभागले काँक्रेविहार पुनर्निर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी गत वर्षदेखि पुनर्निर्माणको काम सुरु गरिएको थियो ।
बीचैमा केही समय निर्माणको काम रोकिएकाले समयमै निर्माण सम्पन्न हुनेमा स्थानीयले आशंका गरेका छन् । काँक्रेविहारको जानकार एवम् स्थानीय जीवनकुमार शाक्य निर्माणको काम अझै धेरै बाँकी रहेकाले निर्धारित समयमो सम्पन्न हुन नसक्ने बताउँछन् । उनले भग्नावशेष वरपरको बार्ने काम सम्पन्न भए पनि मन्दिर निर्माणको काम सम्पन्न नहुने बताए । उनले जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्नुपर्नेमा समेत जोड दिए । काँक्रेविहारको पुनर्निर्माण सम्पन्न भएमा पर्यटन विकासमा समेत सघाउ पुग्ने उनी बताउँछन् । काँक्रेविहारको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।
जतिसक्दो छिटो काँक्रेविहारको मन्दिर निर्माण कार्य सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । पुरातात्विक हिसाबले निकै महŒवपूर्ण मन्दिर भएकाले काँक्रेविहारको पुनर्निर्माण सुर्खेतका लागि पनि महŒवपूर्ण हुने स्थानीय डम्मर जिसी बताउँछन् । पुनर्निर्माण कार्यमा ढिलाइ हुँदा उत्खनन्का क्रममा भेटिएका पुरातात्विक वस्तुहरू टुक्रिएर नष्ट हुन थालेका छन् । बुद्धको मूर्ति र ढुङ्गामा कुँदिएका कलात्मक सिर्जना छरपस्ट छन् । पुरातत्व विभागले १८ वर्षदेखि उत्खनन् गरी मूर्ति र बुट्टा कुँदिएका ढुङ्गालाई एकत्रित गरेको थियो । काँक्रेविहारलाई पुरानो स्वरूपमा ल्याउने योजना छ ।
जिल्लाको पर्यटन विकासका लागि पनि काँक्रेविहारलाई महŒवका साथ हेर्ने गरिएको छ । काँक्रेविहार हेर्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गए पनि मन्दिरको पुनर्निर्माण कार्य पूरा नहुँदा पर्यटकहरू खिन्न हुने गरेको काँक्रेविहार भग्नावशेषका संरक्षक शेरबहादुर कार्की बताउँछन् । कार्कीका अनुसार शनिवार मात्रै करिब दुई सय जनाले काँक्रेविहार अवलोकन गरेका छन् । उनले जतिसक्दो छिटो काम सम्पन्न भए हेर्न आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि हुने बताए ।
उत्खनन्का क्रममा बुद्धका साथै सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रासमेत फेला परेकाले काँक्रेविहारलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले आस्थाको केन्द्र मान्दै आएका छन् । तत्कालीन सिंजा साम्राज्यका राजा अशोक मल्लले वि.सं. १३२५ मा काँक्रेविहारको निर्माण गरेको बताइन्छ ।