माला (कविता)

नारायणविक्रम जिसी (लाटीकोइली–८, सुर्खेत)

आज फेरि नचाहँदा नचाहँदै चुडिन विवश फूलहरू
हजारौं गलाहरूमा सजिएका मालाहरू
कहिले नेताजीका चाकडीमा कहिले पण्डितका सेवामा तत्पर मालाहरू… स्वागतमा ।

एउटा फुलिरहेको फूललाई बोटबाट लुटेर
कसैलाई खुशी बनाउन तयार मालाहरू
फूलको अस्तित्व, अस्मीता लुट्ने मानिसहरू
मालामा आफूलाई सजाउन खोजिरहेका छन् ।।

अनिर्णतिका मालाहरू उनिदैंछन्, कसैका गला सिंगार्न हिजो जसले सोझा जनता झुक्याउने काम ग¥यो
उसैका लागि आज खास माला उनिदैंछ ।

फूलहरू निर्दोष छन्, उनीहरू मालामा उनिनका लागि
हिजोसम्म देश लुट्ने लुटेराका लागि सजिदैंछन् ।
फूलहरू एउटा माला बनेर ।

तुषारो अनि घामपानी सहेर फुलिरहेका निर्दोष फूलहरू
आज बिहानै एकाएक बोटबोटै चुडिदैंछन्,
ध्वाँसो अनि ठेउके नेतालाई स्वागत गर्न बुनिदैं छन् ।

विस्मित फूलहरू एउटा सिङ्गो मालामा
उनिदैंछन् केही क्षणका लागि मात्र ।

गाउँको जात्रा पर्व भयो माला, बाटो उद्घाटन भयो माला
छिन्न भिन्न फूलहरू स्वागत गर्न एकाएकार हुँदैछन्
मालामा, विशेष अनि खास मालामा ।

मानिसको जीवन चुडिएझैं मालाको जीवन चुडिदैंछ ।
पत्र–पत्र भएर जीवन फुलिरहेको फूललाई फुल्नका
लागि दिऔं ।

सुन्दरतालाई लुटी कस्तो स्वागत ? फूल माला बन्नको लागि होइन फुल्न अनि झर्नका लागि हो, त्यसैले फूलको जीवनलाई बचाऔं ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७३, आईतवार १७:१२