एमाले सुर्खेतमा चर्किंदो कलह

सुर्खेत: नेकपा (एमाले) सुर्खेतमा देखिएको विवाद तत्काल सुल्झिने संकेत देखिएको छैन । दुई पक्षबीच भइरहेका विज्ञप्तिबाजीले सुलह हुने भन्दा पनि कलह बढाउने देखिएको छ ।
जिल्ला अधिवेशनको विषयलाई लिएर विवाद निम्तिएको हो । यसअघि जिल्ला कमिटी बैठकबाट निर्णय गरेर तोकिएको अधिवेशन अध्यक्ष अमृतबहादुर बिसीले एकलौटी रूपमा स्थगितको घोषणा गरेपछि भित्रभित्रै सल्किएको विवाद छताछुल्ल भएको छ । अहिले दुई पक्षबीच आरोप–प्रत्यारोपसहित विज्ञप्तिबाजी चलिरहेको छ ।
गत पुस २१ र २२ गते बिसीकै अध्यक्षतामा बसेको बैठकले नवौं जिल्ला अधिवेशन फागुन ४, ५ र ६ गते गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि अधिवेशनको तयारी चलिरहेको भएपनि बुधवार अध्यक्षले एक विज्ञप्तिमार्फत् अधिवेशन स्थगित भएको घोषणा गरे । उपाध्यक्षसहितका पदाधिकारीहरू भने त्यसको विपक्षमा उभिएका छन् ।
अध्यक्षले एकलौटी रूपमा अधिवेशन स्थगित गरेको भन्दै बिहीवार जिल्ला कमिटी सचिव कविन्द्रकुमार केसीले पनि प्रतिउत्तर विज्ञप्ति जारी गरे । उक्त विज्ञप्तिमा ‘अध्यक्ष बिसीले आफ्नै अध्यक्षतामा बसेको बैठकको सर्वसम्मत निर्णयविरुद्ध आफैले प्रेस विज्ञप्ति जारी गर्ने काम नितान्त व्यक्तिगत भएको ठहर गर्दै जिल्ला अधिवेशन तोकिएकै मितिमा हुने’ उल्लेख गरिएको छ । बिहीवार सचिवालय कमिटीको आकस्मिक बैठक बसेर उक्त विज्ञप्ति जारी गरेको हो । बैठक उपाध्यक्ष कूलमणि देवकोटाको अध्यक्षतामा बसेको थियो ।
सचिव केसीद्वारा हस्ताक्षरित विज्ञप्ति आएपछि अध्यक्ष बिसीले शुक्रवार पुनः दोस्रो विज्ञप्ति जारी गरेका छन् । उनले नवौं जिल्ला अधिवेशन स्थगित नै रहेको बताएका छन् भने पार्टीको वैधानिक व्यवस्थाअनुसार अध्यक्षले गर्ने कार्य विधान विपरित र एकल नहुने दाबी समेत गरेका छन् । अध्यक्ष बिसीले पार्टी हितकै लागि तत्काललाई अविधेशन स्थगितको निर्णय गर्नुपरेको बताएका छन् ।
त्यति मात्रै होइन, उनले उपाध्यक्षको अध्यक्षतामा बसेको बैठक अवैध भएको भन्दै त्यसो नगर्न समेत निर्देशन दिएका छन् । ‘अध्यक्षको सहमति र उपस्थितिविना विधानविपरित उपाध्यक्षको अध्यक्षतामा बैठक बस्ने पार्टीको विधानमा व्यवस्था नभएको हुँदा बैठक नबसाल्न र नबस्न सम्पूर्ण पार्टी पदाधिकारी सदस्यहरूलाई जानकारी गर्दछु’ विज्ञप्तिमा भनिएको छ । साथै उनले पार्टीको अर्को बैठक बसेर निर्णय नगर्दासम्म अधिवेशन स्थगित भएको र त्यससँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न मातहतका कमिटीलाई पनि निर्देशन दिएका छन् ।
अर्कोतर्फ शुक्रवार फेरि अध्यक्षबाहेकका पदाधिकारी सहितको सचिवालय बैठक बसेको छ । उपाध्यक्ष देवकोटाकै अध्यक्षतामा बसेको बैठकले पूर्वनिर्धारित मितिमै अधिवेशन हुनेगरी तयारीमा लाग्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाकाअनुसार बैठकले अध्यक्षको व्यक्तिगत र अप्रत्यासित विज्ञप्ति फिर्ता लिएर अधिवेशनमा जुट्न अध्यक्ष बिसीलाई आग्रह गरेको छ । यसका साथै अधिवेशन तोकिएकै मितिमा हुने भन्दै तयारीमा जुट्न मातहतका कमिटीहरूलाई निर्देशनसमेत जारी गरिएको छ ।
पछिल्लो तीन दिनयता एमाले सुर्खेतमा अध्यक्ष र अन्य पदाधिकारीहरूबीच विवादको श्रृंखला चलिरहेको छ । बिसीले संगठनभित्रैबाट सहयोग पाउन नसकेको, पार्टीभित्र संस्थागत गुटबन्दी झाँगिएको, स्थानीय कमिटीहरू संस्थागतरूपमा सञ्चालन हुन नसकेको, जनवर्गीय संगठनहरू प्रभावकारी नभएकोले यस्ता विषयलाई ठोस ढंगले समाधान गरेर मात्रै जिल्ला अधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्षबाहेकका पदाधिकारीहरू भने तोकिएकै मितिमा अधिवेश हुनुपर्ने पक्षमा छन् ।
यसअघि घोषित मितिअनुसार आउँदो फागुन ४, ५ र ६ गते हुने अधिवेशनका लागि माघ २७ गते प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । यद्यपि, जिल्ला नेतृत्वमै विवाद सिर्जना भएपछि अधिवेशन हुने या नहुने भन्नेमै अनिश्चियको अवस्था देखिएको छ ।
प्रकाशित मितिः २० माघ २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।