हिमपातले भूकम्पपीडितलाई सास्ती
सुर्खेत: वर्षात् र हिमपातले भूकम्पपीडितहरूलाई समस्यामा पारेको छ । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडितहरू चिसोको मारमा परेका हुन् ।
बिहीवार परेको पानीले चिसो बढेको छ । चिसोसँगै त्रिपालमा बसोबास गरिरहेका भूकम्पपीडित वृद्धवृद्धा, बालबालिका, सुत्केरी र गर्भवतीलाई सास्ती थपिएको हो । अस्थायी टहरा गतिला नभएकाले हावापानी छिर्ने र बस्ने ठाउँ ओसिलो भएकाले थप समस्या निम्तिएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते राती गएको भूकम्पका कारण सल्यानको दार्मा गाउँपालिकामा दुई हजार दुई सय परिवार अस्थायी आवासमा छन् । वर्षात्पछि लेकमा भएको हिमपातले अन्य दिनको तुलनामा बिहीवारदेखि धेरै चिसो भएकाले अस्थायी टहरामा बस्न गाह्रो भएको र चिसोका कारण शारीरिक समस्या बढ्दै गएको दमको रोगको सिकार भएको दार्मा गाउँपालिका–५ भालुखोलाका ६५ वर्षीय चन्द्रबहादुर खड्काले बताए ।
अस्थायी टहरामा बस्दै आए पनि चिसोबाट बच्न कठिन भएको र शरीर कटकटी खाने, रुघाखोकी लाग्ने, पेट गडबडी हुने, ज्वरो आउनेजस्ता समस्या बल्झिरहेको देउपोलेका ४० वर्षीय घमण्ड खड्काले बताए । ‘अस्थायी टहरा बनाए पनि गतिलो छैन, वर्षात्को पानी चुहिएको छ,’ उनले भने, ‘पर्याप्त मात्रामा न्याना कपडा नहुँदा पनि पानी पर्दाभित्र बस्न गाह्रो भएको हो ।’ अस्थायी टहरा नबाए पनि चिसोबाट बच्न हम्मेहम्मे परेको उनको भनाइ छ ।
वर्षात्पछिको चिसोले गर्दा आफ्नोभन्दा बच्चालाई समस्या भएको दार्मा गाउँपालिका–५ लिरेडाँडाकी १९ वर्षीया सुत्केरी महिला विन्दु खड्काले बताइन् । चिसोकै कारण सुरुदेखि नै बच्चालाई बेलाबेलामा विभिन्न किसिमको समस्या देखिइरहेको उनले जानकारी गराइन् । अहिले अस्थायी टहरामा बस्दै आए पनि समस्या अहिले पनि जहाँको त्यहीँ रहेको उनको भनाइ छ ।
पहिला त्रिपालमा बस्दा बिरामी परेको साता दिनपछि उपचारपश्चात् ठिक भएपनि वर्षात्पछिको चिसोले समस्या दोहोरिने चिन्ताले सताएको भालुखोलाकी २३ वर्षीया सुत्केरी पुष्पा केसीले बताइन् । चिसोबाट बच्न भूकम्प गएदेखि विभिन्न किसिमका संघर्ष गर्नुपरेको उनले जानकारी गराइन् । सरकारले भूकम्पपीडितका लागि खासै चासो दिएजस्तो नदेखिएको उनको गुनासो छ ।
जाजरकोटको कुशे गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात हुन्छ । हिमपातले पीडितहरूलाई निकै पीडा दिइरहेको गाउँपालिकाका उपाध्यक्ष देवीका कुमारी सिंहले बताइन् । उनका अनुसार घर कुनै पनि बस्न लायक छैनन् । टहराको बसाइपनि सहज नभएको उनको भनाइ छ । उनले भनिन्, ‘हिउँ परेपछि जम्दो रहेछ, टिनमा पानी जमेको अहिले त भित्र ओछ्यानहरू पुरै भिज्न थालेका छन् । कुशेमा पाँच हजार दुई सय ८७ घरमा क्षति पुगेको थियो ।’
प्रकाशित मितिः २० माघ २०८०, शनिबार ११:०५
साझा बिसौनी ।