माओवादीको जिल्ला सम्मेलन स्थगित, चुनावका लागि उम्मेदवार छान्दै

सुर्खेत, २० फागुन ।
नेकपा माओवादी केन्द्र सुर्खेतको जिल्ला सम्मेलन स्थगित भएको छ । यही फागुन २१ र २२ गतेका लागि तोकिएको जिल्ला सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो । माओवादी सुर्खेतले शुक्रवार पत्रकार सम्मेलन गर्दै तत्कालका लागि जिल्ला सम्मेलन स्थगित भएको जनाएको हो ।
जिल्ला सम्मेलनका लागि भन्दै पार्टीले वडा, गाउँ र नगर अधिवेशनहरू सम्पन्न गरिसकेको थियो । तर पार्टी केन्द्रको निर्देशन अनुसार जिल्ला सम्मेलन स्थगित गरिएको हो । माओवादी सुर्खेत जिल्ला सम्मेलन आयोजक समितिका संयोजक कृष्णबहादुर जिसीले केन्द्रको परिपत्र अनुसार सम्मेलन स्थगित गरिएको बताए । उनले भने, ‘सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको छ, अब सबै शक्ति चुनावमा लगाउनुपर्नेछ । त्यसका लागि हामीले जिल्ला सम्मेलन स्थगित गरेका हौं, अब हामी चुनावमा होमिनेछौं ।’
आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनाव घोषणा भएसँग माओवादी सुर्खेतले विभिन्न निर्णयहरू गरेको छ । यस्तै पार्टीले यो अवधिमा भएका उपलब्धीहरू पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जिल्लामा तीन वटा गाउँपालिका समिति, पाँच वटा नगरपालिका समिति र ८८ वटा वडा समिति गठन भएको जानकारी दिइएको छ । यो अभियानमा पार्टीका दुई हजार दुई सय २० सदस्य निर्वाचित भएको माओवादीको भनाइ छ । यस्तै यही अवधिमा विभिन्न पार्टी त्यागेर नौ सय जना पार्टीमा भित्रिएको माओवादीको दाबी छ । संयोजक जिसीले भने, ‘अन्य पार्टीबाट मान्छेहरू भित्रिएका छन्, निराश भएका हाम्रै कार्यकर्ता पनि पुनः पार्टीमा फिर्ता भए । विभाजित भएका कार्यकर्ता पनि एकताबद्ध भएका छन्, अब हाम्रो पार्टी थप सशक्त हुनेछ ।’ उनले अब स्थानीय चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने योजनासमेत सुनाए ।
स्थानीय तहको चुनावको लागि माओवादीले सुर्खेतमा वाईसीयल र पूर्वलडाकुलाई परिचालन गर्ने भएको छ । चुनावमा उम्मेदवारको सुरक्षा र पार्टीको पक्षमा मतदान गराउन स्वयम्सेवकको रूपमा उनीहरूलाई परिचालन गर्न लागिएको माओवादीले जानकारी दिएको छ । त्यसका लागि जिल्लामा रहेका सात सय पूर्वलडाकु परिचालन गरिने माओवादीको भनाइ छ । स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट भाग लिने उम्मेदवारको छनौट प्रक्रिया सुरु भएको भन्दै माओवादीले लोकप्रिय उम्मेदवारको सर्वेक्षण भइरहेको जानकारी दिएको हो । जिसीले थपे, ‘हामीले आन्तरिक रूपमा उम्मेदवार छनौट सुरु गरेका छौं, जनताले पत्याउने खालका उम्मेदवार छान्नेछौं । अहिले योग्य र पार्टीमा त्याग गरेका नेताको खोजी सुरु भएको छ, समावेशी सिद्धान्तलाई पनि ध्यान दिनेछौं ।’ उनले अब पार्टीको सबै ध्यान स्थानीय तहको चुनावमा केन्द्रित भएको बताए ।
सोही अवसरमा पार्टीले आउँदो चैत ११ गते वीरेन्द्रनगरमा बृहत आमसभा गर्न लागेको जानकारी दिइएको छ । उक्त सभालाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् । पूर्वसभासद्समेत रहेका माओवादी नेता नरबहादुर विष्टले सुर्खेतमा आफ्नो पार्टी पहिलो शक्ति हुने बताए । त्यसका लागि आफूहरूले अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको विकास निर्माण र संविधान निर्माणमा खेलेको भूमिकाको आधारमा पनि माओवादी पहिलो पार्टी हुने उनको जिकिर थियो ।
उनले भने, ‘वर्षौपछि स्थानीय चुनाव हुँदैछ, यसलाई सफल बनाउनु पर्नेछ । हामी त चुनावमा जुट्यौं, अब जिल्लाका अन्य पार्टी पनि यसमा जुट्नेछन् ।’ स्थानीय चुनावमा लोकप्रियता र सक्रियताको आधारमा उम्मेदवारहरू छनौट हुने भन्दै उनले अब नेताको नजिकका र चाकडी गरेकै आधारमा कसैले टिकट नपाउने बताए । उनले अब चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७३, शनिबार १७:१६