अनेरास्ववियु विजयी

सुर्खेत, २० फागुन ।
सुर्खेत क्याम्पस शिक्षामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु विजयी भएको छ । शुक्रवार सम्पन्न मतगणनामा अनुरास्ववियुका चक्रबहादुर शाहीको प्यानल कोषाध्यक्ष बाहेकको पदमा विजयी भएको हो । स्ववियु अध्यक्षमा चक्रबहादुर शाही १२ मतको अन्तरले विजयी भएका हुन् ।
अध्यक्षमा विजयी शाहीले तीन सय ८७ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महेश जिसीले तीन सय ७५ मत प्राप्त गरे । यस्तै कांग्रेस निकट नेविसंघका अध्यक्ष पदका उम्मेदवार राजकुमार सिंजापतिले दुई सय ७४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै सचिवमा अनेरास्ववियुकै हिक्मतबहादुर बस्नेतले तीन सय ७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी अखिल क्रान्तिकारीका तिलकबहादुर खत्रीले तीन सय ४९ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीका माधव सापकोटाले तीन सय ८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी अनेरास्ववियुका सुवाश विसीले भने तीन सय ५५ मत प्राप्त गरेका छन् । यस्तै निर्वाचन भएको सात जना सदस्य पदमा भने अनेरास्ववियुले जीत हात पारेको छ । सदस्यहरूमा अनेरास्ववियुका निर्मला न्यौपाने, अक्कलबहादुर सिंजापति, हरिप्रसाद चौलागाई, अशोक शाही, सुमन खत्री, गीता ज्ञवाली र विवेक बुढा निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा एक हजार एक सय ७० मत खसेको थियो । जम्मा मतदाता एक हजार आठ सय ५७ थिए । विवादका कारण मतगणनामा ढिलाइ भएको थियो ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७३, शनिबार १७:१४