‘हाम्रो जोडी भगवान्ले नै जुराएको हो’
पिता लछीराम अधिकारी र माता लिलावती अधिकारीको कोखबाट वि.सं. २०२९ सालमा पश्चिम सुर्खेतको बावियाचौरमा जन्मिएका तिलकराम अधिकारीको बाल्यकाल रमाइलोसँग बित्यो । कान्छा छोराका रूपमा जन्मिएका अधिकारीले बाल्यकालमा दुःखको अनुभव गर्न
पाएनन् । सबैको माया ममतामा नै उनले बाल्यकाल बिताए ।
उनी बाल्यकालमा अलि लजालु स्वभावका भए पनि जिज्ञाशु भने थिए । उनी साथीहरूसँग गाउँमा सुन्तला चोर्न भने निकै जाने गर्थे । बचपन सम्झिदंै उनी भन्छन्, ‘साथीहरूसँग लागेर सुन्तला चोर्न जाने गर्थें ।’ त्यतिमात्र होइन उनी घरमा मोही पारेर राखेको नौनी र घ्यू पनि जहिले चोरेरै खाने गर्थे । दुधको तर पनि कसैले थाहा नपाउने गरी उनले चोरी चोरी खान्थे । उनी भन्छन्, ‘त्यही बेलाका बाल्यकाल सम्झने हो भने त अझै पनि त्यही बालापनमै हराउँ कि जस्तो लाग्छ, अबका पुस्ताहरूको समेत हाम्रो जस्तो रमाइलो बालापन हुँदैन होला ।’
बावियाचौरमा उनले ५ कक्षासम्म
पढे । एसएलसी पास भने सालकोट पलैटेबाट गरेका थिए । उच्च शिक्षा उनले तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट गरेका
थिए । आईए र बीए बहुमुखी क्याम्पसबाट, बीएल नेपालगन्जबाट र एमए र बीएड काठमाडौंबाट पूरा गरेको उनले जनाए । तिलकरामको बाल्यकालको सपना भविष्यमा वकिल बन्ने थियो । तर, समयले उनलाई गाविस सचिव बनाइदियो । हुन त उनले द्वन्द्वकालमा वकिल पेशामा ११ महिना काम गरे तर, द्वन्द्वकालमा मुद्दा नै नआउने हुँदा उनले डासु डेनिसाको प्रोजेक्टमा दुई वर्ष भन्दा बढी काम गरे । पछि काठमाडौंबाट उनले लोकसेवामा नाम निकालेर २०५९ सालमा नुवाकोटबाट सरकारी जागिरको सुरुवात गरे । अहिले उनी सालकोटमा गाविस सचिवको रूपमा रहेर काम गरिरहेका छन् ।
…
उनी बहुमुखी क्याम्पस सुर्खेतमा आईए पढ्दै थिए । उमेर बढ्दै थियो । उमेरसँगै मन पनि चञ्चल थियो । आक्कल झुक्कल उनका आँखा क्याम्पसमा पढ्ने युवतीहरूमा जान्थ्यो । क्याम्पसमा पढ्ने धेरै केटीहरू थिए तर आफ्ना आँखाले कोही एक जनालाई विशेष खोजिरहेको अनुभूति उनलाई हुन थाल्यो । यसरी उनका आँखाले पछ्याइरहने युवती अरु कोही नभएर कुस्माकुमारी आचार्य थिइन् ।
दुवैले पढ्ने क्याम्पस एकै भए पनि विषय फरक थियो । त्यसैले उनीहरूको कहिलेकाहीं देखादेख मात्र हुन्थ्यो । बीए पढ्दा दुवै जना एउटै कक्षामा भए । एउटै कक्षामा हुँदा कुस्माको गु्रपमा चार जना केटी त्यसैमा अधिकारी मिसिन आउने गर्थे । तिलक मिलनसार थिए । उनी केटा साथीसँग भन्दा केटी साथीहरूसँग अलि बढी नजिक हुन्थे ।
तिलकलाई कुस्मा मन पर्न थालेकी
थिइन् । दुवै जना एउटै कक्षामा पढ्ने भएकाले पनि साथीकै रूपमा हेर्दै आएका तिलकले कति बेला कुस्मालाई मन पराउन थाले पत्तै भएन । भनिन्छ नि यो माया भन्ने चिज कति बेला को सँग कसरी हुन्छ थाहै हुँदैन । माया आफै हुन्छ । त्यस्तै माया तिलकलाई पनि भयो । कुस्मा र तिलक साथी हुँदा हुँदै एकअर्काेलाई मन पराउन थालेका थिए । तिलकले हिम्मतका साथ कुस्मालाई प्रेम प्रस्ताव पनि राखे । कुस्माको उत्तरमा हुन्छ नै भन्ने त आएन तर, सकारात्मक कुरा भने आयो । प्रेम प्रस्ताव राखिसकेपछि तिलकरामले नेपालगन्जबाट आफ्नो पढाइ सकेर फर्किए । उनीहरूले दुवैले एउटै प्रोजेक्टमा जागिर पनि गरे । सँगसँगै काम गर्दा मात्र कुस्माले तिलकको प्रेम प्रस्ताव स्वीकार गरेको जानकारी दिइन् ।
उनीहरू भन्छन्, ‘हाम्रो जोडी भगवान्ले नै जुराएका हुन्, त्यसैले टाढा हुँदाहुँदै पनि नजिक बनायो ।’ उनीहरूले वि.सं. २०५६ सालमा भागी विवाह गरे । विवाहपछि कुस्माको माइती केही समयसम्म रिसाए । हरेक बाबुआमाले आफ्ना सन्तान प्रति ठूला ठूला सपना सजाएका हुन्छन् । तीनै सन्तानले बाबुआमाको मन टुक्र्याएर जाँदा जो कोहीको बाबुआमा रिसाउनु स्वभाविकै पनि हो । कुस्माको बाबुआमा पनि कुस्मासँग केही समय रिसाए पनि फेरि बाबुआमाको मन न हो आफ्ना सन्तानले जति नै ठूलो गल्ती गरे पनि माफी दिइहाल्छन् । त्यस्तै माफी कुस्माले पनि पाइन् ।
विवाहपछि छोरी र बुहारी हुनुमा कुस्माले धेरै नभएपनि थोरै फरक अनुभव भने गरिन् । छोरी हुँदा अरुले पकाएर दिएको खान पाउनु र बुहारी हुँदा सम्मानका साथ अरुलाई पकाएर खुवाउनुमा फरक छ । यस्तै अनुभव कुस्माले पनि गरिन् ।
पिता हरिलाल आचार्य र माता पार्वती आचार्यको कोखबाट वि.सं. २०३० सालमा वीरेन्द्रनगर–१० मा जन्मिएकी कुश्माको बाल्यकाल राम्रोसँग नै बित्यो । पाँच भाइबहिनीमध्येकी कान्छी छोरी कुश्मा बाल्यकालमा कडा स्वभावकी थिइन् । घरकी कान्छी छोरी भएकाले पनि सबैको माया ममतामा हुर्किएकी कुस्मा बाल्यकालमा अलि बाँठी पनि थिइन् । कक्षा एकदेखि कक्षा चारसम्म ईत्राम स्कुलमा पढेकी कुश्माले कक्षा ८ देखि एसएलसी भने जन माविबाट पास गरिन् । उनले बहुमुखी क्याम्पसबाट बीएसम्मको पढाइ गरिन् । अहिले उनले सालकोटको सूर्यप्रकाश माविमा अध्यापन गराइरहेकी छिन् ।
विवाह पछि यो जोडी एकआपसमा झगडा गरेका छैनन् । उनीहरू भन्छन्, ‘हाम्रो झगडा गर्ने फुसर्द नै हँदैन, दुवै जना
आ–आफ्नो काममा व्यस्त हुने भएकाले पनि झगडा गर्ने समय नै हुँदैन ।’ उनीहरू व्यस्त हुँदा हुँदै पनि एकअर्काेको समय निकालेर घुम्न भने जाने गर्छन् । एकअर्काेको जन्मदिन वा विवाह गरेको वर्ष आउँदा एकअर्काेलाई गिफ्ट आदानप्रदान गरेर मनाउँदैनन् । उनीहरू भन्छन्, ‘हामीले एकअर्काेको जीवन नै गिफ्ट गरिसकेका छौं त्यसैले पनि यो भन्दा ठूलो जीवनको गिफ्ट अरु होइन जस्तो लाग्छ ।’
यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । अधिकारीलाई कुश्माको आफ्नो घरपरिवार र आफन्तलाई गर्ने बानी व्यवहार र कदर एकदमै राम्रो लाग्ने गर्छ । उनले भने, ‘मलाई सामाजिक काममा लाग्नको लागि प्रेरणा दिने र हरेक कदममा साथ र हौसला दिने बानी मन पर्छ ।’ कुश्माले नै आफूलाई कुलत बाटो हिँड्न छोडेर सही मार्गमा लाग्न प्रेरणा दिएको तिलक बनाउँछन् । त्यस्तै कुश्माको कहिले काहीँ अलि बढी रिसाउने बानी र पढाइलाई निरन्तरता दिन नमान्ने बानी भने तिलकलाई मन पर्दैन । कुश्मालाई पनि अधिकारीको अरुलाई निःस्वार्थ भावनाले सहयोग गर्ने बानी मनपर्ने गर्छ । सबैसँग हाँसेर बोल्ने बानी मनपर्ने गर्छ ।
यो जोडीको साथमा दुई छोरा र छोरी छन् । घरको काममा कुश्मालाई तिलकरामले समय भएसम्म सघाउने गर्छन् । कुश्मा भन्छिन्, ‘उहाँको समय नि हुँदैन फेरि उहाँको रुचि सफल होस् भन्ने म चाहन्छु त्यसैले पनि घरको काम म आफै गर्ने गर्छु ।’ यो जोडीका अनुसार दाम्पत्य सम्बन्धलाई सफल र दिगो बनाउनको लागि एकअर्काेबीचमा विश्वास हुन जरुरी छ । जब एकअर्काेप्रति नै विश्वास छैन भने त्यो सम्बन्ध कहिल्यै पनि दिगो हुन सक्दैन । एकअर्काेलाई सम्मान पनि गर्न सकेको खण्डमा सम्बन्धलाई मजबुत बनाउन सकिन्छ । उनीहरू भन्छन्, ‘जीवन भनेको भगवानले दिएको एउटा सुन्दर उपहार हो, र मान्छेले जिउने जीवनको एउटा यात्रा पनि हो ।’ जो व्यक्तिले कसरी जीवनलाई कस्तो बनाउने भन्ने कुरा पनि स्वयम् व्यक्तिमा नै भर पर्ने कुरा हो । उनीहरूका अनुसार जीवनसाथी भनेको जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको अन्त्यसम्म साथ दिने साथी पनि भगवान्ले नै जुराएर पठाएका हुन्छन् । त्यो पनि भगवान्ले जीवन जिउनको लागि सहज होस् भन्दै दिएको एक उपहार नै हो ।
साझा बिसौनी संवाददाता ।