नागरिकको स्वास्थ्यमाथि खेलबाड

सुर्खेत, १९ फागुन ।
वीरेन्द्रनगर–१६ का पवन नेपालीलाई काम विशेषले हरेक दिन बजार धाइरहनुपर्दछ । आधा घण्टाको दूरीमा रहेको वीरेन्द्रनगर बजार पुगेर घर फर्कदासम्मको सडकको यात्रा उनलाई निकै सकसपूर्ण लाग्छ । कारण, धुलाम्ये सडक ।
अहिले फोरलेन सडक निर्माणको काम भइरहेको छ । निर्माणाधिन फोरलेन सडकको धुलोले आसपासका नागरिक र पैदल यात्रुहरूलाई हैरान बनाएको छ । ‘पसलका लागि आवश्यक सामग्री ल्याउनका लागि दिनमा एकपल्ट बजार गइरहनुपर्छ’ पवन भन्छन्, ‘धुलो सम्झने हो भने त हिँड्नै मन लाग्दैन ।’ सडकको धुलोकै कारण वीरेन्द्रनगरवासीले सास्ती व्यहोर्नु परिरहेको छ ।
सडक स्तरोन्नति गर्ने क्रममा निस्केको धुलोले स्थानीयवासी बिरामी पर्न थालेका छन् । सडक स्तरोन्नतिका क्रममा सडकमा पानी नहाली काम गर्दा निर्माणक्षेत्रका बासिन्दा बिरामी हुन थालेका हुन् । केही समय अघि स्थानीयको चर्को विरोधपछि पानी हाल्न थालिए पनि नियमित नभएको र अत्याधिक धुलो उत्पादनले समस्या भइरहेको नागरिकहरू बताउँछन् । एकातर्फ बजारभित्रको सडक, त्यसमाथि पनि मुख्य राजमार्ग । सवारी साधनको अत्याधिक चाप हुनाले धुलो उत्पादन पनि अत्याधिक हुने गरेको छ । सडक आसपासका घर र पसलले सबैभन्दा बढी नोक्सानी व्यहोर्नुपरिरहेको छ । खजुरामा फेन्सी पसल सञ्चालन गरिरहेका राजेन्द्र गुरुङले भने, ‘बिहानभरी लागेर सफा ग¥यो, साँझसम्म पसलका सामानभरी धुलोले ढाकिएको हुन्छ ।’
धुलोकै कारण बालबालिकाहरूमा रुघाखोकी लगायतका समस्या देखिएको गुरुङ बताउँछन् । उनका अनुसार सडक निर्माणक्षेत्रका उपभोक्तामा धुलोबाट श्वासप्रश्वासको रोगको संक्रमण बढेको छ । सडकबाट उडेको अत्याधिक धुलोका कारण बालबालिका र वृद्धवृद्धाहरूमा अनेक किसिमका रोगले सताउने गरेको उनले जनाए । सडकमा यात्रुवाहक बस, मालबाहक ट्रक, ट्रयाक्टर र मोटरसाइकलको चाप अत्याधिक छ । जसले गर्दा अत्याधिक मात्रामा धुलो उड्ने गरेको छ । स्थानीयको विरोधपछि खजुरा क्षेत्रमा निर्माण कम्पनीले नै सडकमा पानी छ्याप्न ट्यांकरको व्यवस्था गरेको छ । तर कहिले दिन बिराएर त कहिले दिनमा एकपटक मात्र पानी हाल्ने गरिएको गुनासो स्थानीयको छ । दिनमा कम्तीमा पनि दुई पटक पानी हालेर काम गर्न अनुरोध गरे पनि कम्पनीका प्रतिनिधिहरूले बेवास्ता गरेको स्थानीय पवन नेपालीले बताए । ‘गर्मी बढीसकेको छ । एकपटक हालिएको पानी एकछिनमै सुकिहाल्छ त्यसपछि अवस्था उस्तै हो’ उनले भने, ‘निर्माण कम्पनीले मात्र होइन सम्बन्धित सरकारी निकायले पनि स्थानीयको स्वास्थ्यप्रति बेवास्ता गरिरहेका छन्, यसले बिरामीको संख्या बढाउँदैछ ।’ उनले थपे, ‘सडक आसपासका प्रत्येक घरमा रुघाखोकीका बिरामी बढेका छन् । तत्काल समस्या समाधान नगरे बिरामीको संख्या थप बढ्दै जानेछ ।’
निर्माणाधिन सडक वरपर मात्र नभइ वीरेन्द्रनगर क्षेत्रमा नै वायु प्रदूषण बढीरहेको स्थानीय बताउँछन् । नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै स्थानीयले तत्काल धुलो व्यवस्थापनको योजना बनाउने माग गरेका छन् । धुलाम्मे सडक, सवारीसाधनको बढ्दो चाप तथा फोहोरमैलाका कारण वायु प्रदूषण बढेको हो । वायु प्रदुषणले गर्दा स्वास्थ्यलाई प्रतिकूल असर गर्ने पदार्थहरू श्वास फेर्दा श्वास नली हुँदै फोक्सो तथा रक्तसञ्चार प्रणालीसम्म पुग्ने र मानव स्वास्थ्यमा प्रतिकूल असरहरू देखा पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । वायुमण्डलमा धुलो र धुवाँमा रहेने कर्ण श्वास नली हुँदै फोक्सोमा पुगेपछि श्वासप्रश्वाससम्बन्धी रोग, दम, निमोनिया, खोकी, ब्रोङ्काइटिस, एलर्जीदेखि क्यान्सरसम्मका रोगहरूको संक्रमणलाई बढाएको उनीहरूको तर्क छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा मात्र नभइ कृषि क्षेत्रमा पनि नकारात्मक असर गर्दछ । वायु प्रदुषणको समस्यालाई न्यूनीकरण गर्न सवारी साधनको संख्या घटाउनुपर्ने तथा फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने विश्व स्वास्थ्य संगठनले आव्हान गरेको छ । यसका साथै खाना पकाउन स्वस्थ र सफा इन्धन प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ । वायु प्रदूषण न्यूनीकरण गर्न सडकको धुलो व्यवस्थापन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीहरूको छ । त्यसैगरी आफ्नो स्वास्थ्यप्रति सजग भइ सडकमा हिँड्दा माक्र्सको प्रयोग गर्न समेत स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

प्रकाशित मितिः   २० फाल्गुन २०७३, शुक्रबार १७:०७