चौरजहारी नयाँ सहर आयोजना

पाँच सय ८५ रोपनी जग्गा एकीकरण

सुर्खेत: चौरजहारी नयाँ सहर आयोजना निर्माण कार्य अघि बढाउन जग्गा एकीकरणको काम तीव्र पारिएको छ । स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको हो ।

माघ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाका लागि पाँच सय ८५ रोपनी जग्गा प्राप्त गर्न स्कीकृति प्रदान गरेको छ । केही स्थानमा ब्लग योजना निर्माण सम्पन्न गरेर भौतिक पूर्वाधार निर्माणका काम सुरु गरिएको आयोजनाले जनाएको छ । स्थानीयको जग्गा सरकारको नाममा गरी एकमुष्ट बनाएर मुख्य तथा सहायक सडक निर्माणको काम सुरु गरिनेछ । चौरजहारी नगरपालिका वडा नं. १ स्थित घारीगाउँमा जग्गा एकीकरण कार्य सुरु भएको आयोजनाका सवइन्जिनियर नेत्र बुड्थापाले बताए । उनका अनुसार आयोजनाका विभिन्न चरणका काम भइरहेका छन् । उनले भने, ‘जग्गा एकीकरण गरेर पूर्वाधार निर्माण गर्नु नै प्रमुख कार्य हो । सरकारको निर्णयले काम गर्ने बाटो खुलेको छ ।’

सरकारले स्वीकृति प्रदान गरेको जग्गा एकीकरण गरेर पूर्वाधार निर्माणका काम थालिने थापाले बताए । आधुनिक बस्ती विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरणको काम भइरहेको हो । पूर्वाधार निर्माणको काम पूरा भएपछि सो जग्गा जग्गाधनीलाई फिर्ता गरिनेछ । जग्गा एकीकरण आयोजनाअन्तर्गत जमिनलाई आधुनिक बस्ती बसाल्न उपयुक्त बनाउनका लागि पूर्वाधार निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ ।

 

नयाँ ठेक्का सम्झौता

चालु आर्थिक वर्षमा चौरजहारी नयाँ सहर आयोजना निर्माणका लागि दुई वटा योजनाको ठेक्का सम्झौता गरिएको छ । बहुवर्षीय योजना अन्तर्गतका दुई वटा योजनाको ठेक्का सम्झौता गरेर काम अघि बढाइएको आयोजनाका सवइन्जिनियर बुड्थापाले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० को बहुवर्षीय कार्यक्रमअन्तर्गत सभाहल निर्माणका लागि ठेक्का सम्झौता भइ काम सुरु भएको छ । २०८० असार २० गते नेपाल आदर्श निर्माण कम्पनी प्रा.लि. काठमाडौसँग ठेक्का सम्झौता गरिएको हो । २०८२ असार ३० गतेसम्म निर्माण सम्पन्न गर्नेगरी १२ करोड ९८ लाखमा ठेक्का सम्झौता गरिएको जनाइएको छ । डीपीआर निर्माण गरेर सभाहल निर्माण कार्य थालिएको छ ।

यसैगरी बहुवर्षीय कार्यक्रमअन्तर्गत नै कभर्ड हल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । गत असार २० गते कभर्ड हल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । पहिलो चरणअन्तर्गतको स्टक्चर निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । २०८१ असार २५ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । एम.बी कन्टक्सन चौरजहारीसँग एक करोड सात लाख ६३ हजारमा कभर्ड हल निर्माणको सम्झौता गरिएको हो । पहिलो चरणअन्तर्गत ८० प्रतिशत काम सकिएको आयोजनाका सवइन्जिनियर थापाले जानकारी दिए । यो वर्ष कभर्ड हल निर्माणको पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, दुई वटा योजना ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । ल्याण्डफिल्ड साइटसम्म पुग्नका लागि आठ सय मिटर सडक स्तरोन्नति गरिनेछ । त्यसका लागि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त योजनाको ठेक्का सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । जसका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

रूकुमपश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण भइरहेका छन् । पहाडबाट तराईमा हुने बसाइसराइ रोक्न आर्थिक वर्ष २०६७/०६८ सालबाट चौरजहारीलाई नयाँ सहरको रूपमा निर्माण गर्न सुरु गरिएको हो । २०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भयो । नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ ।

विभिन्न खण्ड बनाएर निर्माण कम्पनीमार्फत् सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाको ५२ प्रतिशत काम सम्पन्न भएको छ । अहिलेसम्म ५० किलोमिटर सडकको ट्रयाक खोलिएको छ । साढे सात किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै पाँच सय ६५ वटा सौर्य बत्ती जडान, चार वटा विभिन्न भवन तथा एउटा बसपार्क निर्माणको काम सम्पन्न भएको जनाइएको छ । अहिले ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम् सहरी सुविधा दिने गरी सहर बनाउने सरकारी योजनाअनुरूपको काम भइरहेको छ ।

२० वर्षे सहर निर्माणको योजनाअन्तर्गत काम थालेको १२ वर्ष पुग्यो । बजेट पर्याप्त भए तोकिएकै समयमा काम गर्न सकिने आयोजनाले जनाएको छ । न्यून बजेट हुँदा काम गर्न कठिन भइरहेको जनाइएको छ । बजेट अभाव हुँदा समयमै ठेक्का लगाउन नसकिएको, काम अपुरो हुनेगरेको, थप बजेट माग गर्नका लागि अर्थ मन्त्रालयमा धाइरहनुपर्ने लगायतका समस्या हुनेगरेको हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा १७ करोड मात्र बजेट विनियोजन गरेको छ । जसले गर्दा काम गर्न सास्या हुने आयोजनाले जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्न दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः   १६ माघ २०८०, मंगलवार ०५:०५