कर्णाली उत्सवः कर्णालीमा आयोजना हुने राष्ट्रिय बहस

 

लोकतन्त्रमा कुनै पनि विषयहरूमा गरिने चर्चा र बहसले महŒव राख्छ । बहस र चर्चाले गर्दा विभिन्न दृष्टिकोणहरूलाई सुन्न र समावेशीता, समझदारीको संस्कृति बनाउन टेवा पुर्‍याउँछ । नीतिगत बहसहरूले कुनैपनि मुलुकको नीति निर्माणमा सहयोग गर्दछन् । सार्वजनिक बहसहरूले नागरिकमा रहेका गुनासा र जिज्ञासाहरूलाई सम्बोधन गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान प्रदान गर्दछन् । बहसले संवादको वातावरण बनाउँछ । ती संवादहरूको माध्यमार्फत् सिमान्त स्वरहरूलाई सम्बन्धित निकाय वा व्यक्तिसम्म पुर्‍याउने माध्यमहरू नै विभिन्न बहसहरू हुन् ।

विश्वमा यस्ता धेरै किसिमका बहसका चर्चित कार्यक्रमहरू छन् । नेपालमा पछिल्लो समय बहसहरू तीव्रस्तरमा बिस्तार भएको पाइन्छ । पोखरामा १२ वर्षअघि ‘नेपाल साहित्य महोत्सव’ सुरु भएको थियो । ‘जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण फागुनमा हुँदैछ । कर्णालीलाई चिन्ने र चिनाउने तथा कर्णालीमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस गर्नका लागि ‘कर्णाली उत्सव’ पनि आगामी फागुन ५ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा ऋति फाउण्डेसनद्वारा आयोजना हुँदैछ । पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक दलहरूले पनि यस्ता बहसहरूको आयोजना गरिरहेका छन् । नेपाली कांग्रेसले ‘वीपी साहित्य महोत्सव’ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको ‘नीति मन्थन्’ यसको उदाहरण हुन् । राष्ट्रियस्तरमा मात्रै होइन, स्थानीय तहहरूमा पनि विभिन्न बहस र विमर्शका उत्सवहरू भइरहेका छन् । जुम्लाको तातोपानीमा ‘लाम्रा संवाद’ तथा सुर्खेतको चौकुनेमा सम्पन्न ‘चौकुने साहित्य महोत्सव’ यसका उदाहरण हुन् । यसलगायत स्थानीयस्तरमा हिजोआज थुप्रै साहित्यिक एवम् नीतिगत बहसका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसका अलवा विभिन्न तहका सरकारहरूले लगानी सम्मेलन तथा मिडियाहरूले पनि विभिन्न सार्वजनिक बहसका कार्यक्रमहरू गरिरहेका छन् । सन् २००६ मा भारतमा आयोजना भएको ‘जयपुर साहित्य महोत्सव’को पहिलो कार्यक्रममा १८ जना वक्ताहरू थिए भने दर्शकहरू एक सय जना थिए । उक्त महोत्सव प्रत्येक वर्षको जनवरीमा सञ्चालन हुँदै आएको छ । भारतीय सञ्चारमाध्यममा लेखिएअनुसार यो महोत्सव विश्वकै सबैभन्दा ठुलो निःशुल्क साहित्यिक महोत्सव हो । उक्त महोत्सवमा नेपाललगायत विश्वका विभिन्न मुलुकहरूबाट सहभागीहरू पुग्ने गर्दछन् । सुरुवातमा यस्ता बहसका कार्यक्रमहरूमा दर्शक तथा सहभागीहरू कम हुने भएपनि बहसको निरन्तरतासँगै सहभागीहरू बढ्ने गरेको देखिन्छ । अर्थात् सहभागी दर्शकहरूले यस्ता नीतिगत बहसका कार्यक्रमहरूलाई महत्व दिइरहेको देखिन्छ ।

सार्वजनिक बहसका कार्यक्रमहरू प्रदेश तथा स्थानीयस्तरमा नै हुनु धेरै नै महत्वपुर्ण कुरा हो । संघीयतासँगै सरकारले गर्ने सेवाप्रवाहको विकेन्द्रीकरणसँगै नागरिकस्तरबाट हुने यस्ता खालका बहसहरूको पनि विकेन्द्रीकरण भइरहेको छ । स्थानीय समस्याहरूको समाधान गर्नका लागि स्थानीयस्तरमै सहज हुने विभिन्न विज्ञहरूका भनाइ छन् । त्यसैलै पनि संघीयतासँगै सरकारको विकेन्द्रीकरणसँगै स्थानीय समस्यामा स्थानीयस्तरमै बहस र उक्त बहसमार्फत ती समस्याको समाधान गर्न सकिन्छ ।

अब कुरा गरौँ कर्णाली उत्सवको । कर्णाली उत्सव ‘कुडा कर्णाली’का २०७६ सालदेखि सुरु भएको सार्वजनिक नीतिगत बहसको कार्यक्रम हो । उत्सव कर्णाली प्रदेशको सम्भावनाको विषयमा कुरा गर्ने, कर्णालीलाई चिन्ने र चिनाउने अभियानको रूपमा रहेको छ । जसको आयोजना विभिन्न सरकारी, निजी तथा गैरसरकारी संघसंस्थासँगको समन्वयमा ऋति फाउण्डेसनले गर्छ । हरेक वर्ष फागुनमा ३ दिनसम्म सञ्चालन हुने कर्णाली उत्सवको पाँचौँ संस्करण आगामी २०८० फागुन ५–७ गते वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा हुँदैछ ।

कर्णाली उत्सवले कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्य राखेको छ, साथै कर्णालीमै राष्ट्रिय बहस सम्भव छ भन्ने स्थापित गर्न खोजिरहेको छ । विचार र बहसको नियमित प्रवाहका माध्यमबाट कर्णाली उत्सवले कर्णाली क्षेत्रको विकास र प्रगतिमा महŒवपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । कर्णाली उत्सव विविध विषयमाथि विचार मन्थन गर्ने सार्वजनिक विमर्शको महोत्सव हो । कर्णालीको कला भाषा संस्कृती र सबैबीच एकआपसी अन्तरघुलन गर्ने विचारको कुम्भ मेला पनि हो ।

२०७६ सालमा सुरु भएदेखि कर्णाली उत्सवले विभिन क्षेत्रहरूमा नीति नीर्माताहरू, शिक्षाविद्बहरू, उद्यमीहरू, कलाकारहरू र स्थानीय समुदायहरूका सरोकारवालाहरूलाई समेटेको छ । कर्णाली भनेको अभाव, गरिबी, अशिक्षा अन्धविस्वास र कुरितीले भरिएको क्षेत्रको रूपमा व्याख्या भइरहँदा यो भ्रम हटाउनको लागि कर्णाली उत्सवले कोसिस गरिएको छ । नेपाली (खस) भाषाको उद्गमस्थल कर्णाली प्रदेशको जुम्ला रहेकाले खस भाषाको प्रयोगलाई प्रर्वद्धन गर्ने उद्देश्य पनि कर्णाली उत्सवले राखेको छ । कर्णालीका प्रतिभाहरूले प्रतिपादन गरेका सिद्धान्त, आविष्कार र सिर्जनाहरूलाई समेत विश्वव्यापी रूपमा पहिचान दिलाउँदै यसको विश्वव्यापी स्विकारोक्तिका लागि उत्सवले साझा मञ्च निर्माण गरेको छ । विचारको माध्यमबाट समस्याको समाधान खोजिन्छ र संगीत, नृत्य, कविता साझा, गजल साझा र अन्य साहित्यका संचालन हुन्छन् ।

उत्सवमा आफ्नो कर्मका माध्यमबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चिनाउने पैकेलो अर्थात् हिरोहरूले आफ्नो कथा समेत सुनाउँछन् । कर्णाली प्रदेशका अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयमा समेत बहस हुन्छ । बहस हुने विषयमध्ये आधाभन्दा बढी विषय भने कर्णालीकै हुन्छन् । त्यसैले त कर्णाली उत्सव कर्णालीमा बसेर गरिएको एक राष्ट्रिय बहस हो । उत्सवमा कर्णाली प्रदेशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाबारे छलफल गर्ने र कर्णालीको दिगो आर्थिक विकासमा ध्यान केन्द्रित गर्न कर्णाली प्रदेशमा पर्यटन, कला, संस्कृति, भाषा र साहित्यको प्रवद्र्धन गर्नु र सबै तहका सरकारलाई नागारिकप्रति उत्तरदायी बनाउनु उत्सवका उद्देश्यहरू हुन् ।

कर्णाली उत्सव ‘कुडा कर्नालीका’को चार वटा संस्करण सम्पन्न भइसकेका छन् । ती चार वटा संस्करणहरूमा कर्णालीको इतिहास, संस्कृति, भाषा, पर्यटन, शिक्षा, कला, साहित्य र समग्र विकासका विभिन्न विषयमा वक्ताहरूले छलफल गरेका छन् । चारवाटै संस्करणमार्फत देशको ध्यान कर्णालीमा ताने प्रयास भएको छ ।

उत्सवको पहिलो संस्करण २०७६ साल फागुन १९, २० र २१ गते सम्पन्न भएको थियो । पहिलो संस्करण कर्णालीको पहिचानको कुरामा केन्द्रित थियो । जस्तैः कर्णाली के हो, कर्णालीको सबलता के हो भन्ने कुरामा बहस भयो । उत्सवको दोस्रो संस्करण २०७७ साल फागुन २६, २७, २८ र २९ गते आयोजना भएको थियो । दोस्रो संस्करणमा नीति निर्माणको कुरामा प्रदेशको ऐतिहासिक सामाजिक, राजनीतिक, आर्थिक तथा पर्यटकीय क्षेत्रका मुद्दामा छलफल बढी केन्द्रित थियो । तेस्रो संस्करण २०७८ साल फागुन २७, २८ र २९ गते भएको थियो । तेस्रो संस्करणमा बजेट, प्रादेशीक संरचना, स्थानीय संरचनाले कसरी काम गर्ने लगायतबारे छलफल भयो । कर्णालीमा रहेको सामाजिक समस्याहरू, समस्या समाधानका उपायहरू साथै कर्णालीको विकासको अवस्था योजनाहरूमा हुने ढिलासुस्ती र समाधानको कुरालगायत धेरै विषयमा वक्ताहरूले छलफल गरेका थिए । चौँथो संस्करण २०७९ साल फागुन ५, ६ र ७ गते सञ्चालन भएको थियो । शिक्षा, सीप, संघीयाताको पाँच वर्षको उपलब्धिका विषय र लोकन्त्रलगायतका विषयहरूमा चौँथो संस्करण केन्द्रित थियो । कर्णाली उत्सवका हरेक संस्करणहरूमा विद्वत प्रवचन, करिब १२ वटा सत्रहरू, हरेक दिन साँझ साङ्गीतिक एवम् साहित्यिक प्रस्तुतिसमेत रहन्छ । कर्णालीलाई आफ्नो कर्मका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने पैकेलो (खस भाषामा हिरो)हरूका कथा सुनाउने तथा विभिन्न प्रदर्शनीहरू समेत रहन्छन् । कर्णाली उत्सव ‘कुडा कर्नालीका’ को हालसम्मका चारवटै संस्करण सम्पन्न गरेर समग्र देशको ध्यान कर्णालीमा तान्ने प्रयास गरिएको छ । उत्सवमा भएका छलफलको सार विभिन्न अध्ययन अनुसन्धान तथा प्रतिवेदनको हिस्सा बन्न सक्छन् ।

मार्टिन चौतारीका प्रत्युष वन्तले ‘गफ विना विकास गर्नु भनेको वाहियात् विकास हो र देशभरी नै गफ गर्ने ठाउँहरू चाहिएको छ’ भनेका छन् । उनले भनेझैँ नेपाली समाजमा बहस छलफल श्रृंखला गर्ने ठाँउहरू धेरै आवश्यक छ । कर्णाली उत्सव पनि कर्णालीका कुरा गर्ने र कर्णालीमै बसेर राष्ट्रिय तथा अन्तराष्ट्रिय बहस सम्भव छ भन्ने भाष्य स्थापित गर्न उद्धत बहसको श्रृंखला हो । सम्बन्धित निकाय र व्यक्तिसँग भुइँमान्छेहरूले प्रश्न गर्ने माध्यम पनि हो कर्णाली उत्सव । वन्तले भनेका छन्, ‘नेपाली समाज र विश्वबारे बुझ्न धेरै कुरा छन् र ती कुरा, छलफल अहिलेको अवस्थामा गुगल (Google), एआई (AI) गरेर मात्र बुझ्न नसकिने रहेछ । त्यसको लागि बहस–छलफल गर्न जरुरी छ । बहस हरेक ठाउँमा गर्न सकिन्छ । बहस गर्नको लागि विशेष ठाउँ चाहिन्छ भने पनि हुँदैन, सानो ठाउँमा पनि छलफल कार्यक्रम चलाउन सकिन्छ ।’ अब कर्णालीभर र नेपालभर यस्ता नीतिगत बहस धेरै मात्रामा आवश्यक छन् । बहस हुनुपर्छ । कुनैपनि कुराको निश्कर्षमा पुग्नका लागि बहस हुनैपर्छ ।

लेखक कर्णाली उत्सवको आयोजक ऋति फाउन्डेसनमा कार्यरत छिन् ।

प्रकाशित मितिः   १६ माघ २०८०, मंगलवार ०५:०४