विश्वविद्यालयको ‘सिनेट’ प्रधानमन्त्रीको क्वाटरमा !

सुर्खेत, १८ फागुन ।
वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) प्रधानमन्त्री पुष्पकमल दाहालको क्वाटरमा हुने भएपछि जिल्लामा तीव्र विरोध भएको छ । सुर्खेतमा केन्द्रीय कार्यालय भए पनि राजधानीस्थित प्रधानमन्त्रीको निजी सचिवालय (क्वाटर) बालुवाटारमा सिनेटको स्थान तोकिएपछि स्थानीयले असन्तुष्टी जनाएका हुन् । तत्काल स्थान परिवर्तन गरेर जिल्लामै सिनेट सम्पन्न गर्नुपर्ने जिल्लाबासीको माग छ ।
विश्वविद्यालयको आर्थिक आय–व्यय, नियमावली संशोधन, आङ्गिक क्याम्पस तथा सम्बन्धन प्रदान र अन्य महŒवपूर्ण योजनाहरू स्वीकृत गर्ने सिनेट जिल्लाबाहिर तोकिएको भन्दै सिनेटका सभासद्हरूले नै असन्तुष्टी व्यक्त गरेका हुन् । सार्वजनिक चासो र महŒवको सिनेट प्रधानमन्त्रीको निजी क्वाटरमा आयोजना गर्न लागिएको भन्दै विरोध सुरु भएको हो । विश्वविद्यालयले आउँदो चैत २ गतेका लागि प्रधानमन्त्रीको बालुवाटारस्थित निजी सचिवालयमा सिनेट सम्पन्न गर्ने भन्दै पत्राचार गरिसकेको छ । यस क्षेत्रका नागरिकको आन्दोलनको बलमा स्थापना भएको यो विश्वविद्यालय सुर्खेतमा रहेको तर, सिनेट राजधानीमा हुँदा यसअघि पनि विरोध हुँदै आएको थियो ।
विश्वविद्यालयले भने यसपालीको सिनेट प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको व्यस्तताले गर्दा जिल्लामा आयोजना गर्न नसकिएको दाबी गरेको छ । गत जेठमा भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वीरेन्द्रनगरमा नै सिनेट सम्पन्न भएको थियो । उक्त कार्यको यहाँका सर्वसाधारणलेसमेत प्रशंसा गरेका थिए । जिल्लामै सिनेट हुँदा अपनत्व बढ्ने भन्दै स्थानीयले प्रधानमन्त्रीको क्वाटरमा सम्पन्न गर्न लागिएको भन्दै दुःख व्यक्त गरेका
छन् । पदाधिकारीको मनोमानीका कारण राजधानीमा सिनेट तोकिएको र यसले आफूहरूको भावनामा चोट पुगेको उनीहरूको गुनासो छ । साथै उनीहरूले तत्काल स्थान परिवर्तन गरेर जिल्लामै सिनेट सम्पन्न गर्न विश्वविद्यालसँग आग्रह गरेका छन् ।
सिनेटका सभासद्समेत रहेका एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेलले कुनै पनि हालतमा जिल्लामै सिनेट हुनुपर्ने बताए । उनले भने,‘जिल्लाको भावनालाई वेवास्ता गरिनु हुँदैन, प्रधानमन्त्रीको क्वाटरमा सिनेट किन ? अरु काममा तामझाम गर्दै खर्च गर्ने विश्वविद्यालयले, अब कुलपतिलाई जिल्लामै ल्याएर सिनेट गर्ने आँट गरोस् ।’ सिनेटको लागि एक दिनको समय दिन नसक्ने प्रधानमन्त्रीले किन विश्वविद्यालयको कुलपति हुनु ? भन्दै उनले प्रश्न गरे । विश्वविद्यालयका सबै क्रियाकलाप जिल्लामै हुँदा यस क्षेत्रका जनतामा अपनत्व बढ्ने र विश्वविद्यालयको साख पनि बढ्ने उनको भनाइ छ । विश्वविद्यालय स्थापना भएपछिका प्रायः सिनेटहरू राजधानीमा सम्पन्न गरिएपछि यसअघि पनि सर्वत्र आलोचना भएको थियो । यसपालीको सिनेट पनि राजधानीमा हुने भएपछि आलोचना सुरु भएको छ ।
यता विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले प्रधानमन्त्रीको व्यस्तताले बालुवाटारमा सिनेट आयोजना गरिएको जिकिर गरे । उनले भने,‘यो नियमित सिनेट हो, कुनै दीर्घकालीन निर्णय पारित हुँदैनन् । विश्वविद्यालयको दीक्षान्त समारोहको मिति टुङ्गो लगाउन हतारमा सिनेट आयोजना गरेका हौं, विस्तृत सिनेट त आउँदो साउनमा जिल्लामै हुनेछ ।’ यसपालीको सिनेट राजधानीमा भए पनि अन्य महŒवपूर्ण निर्णयहरू नहुने उनको भनाइ छ । स्थानले कुनै फरक नपर्ने भन्दै मल्लले कुलपति समेत रहेका प्रधानमन्त्रीसँग सुर्खेत आउने समय नभएकाले राजधानीमा आयोजना गर्नु परेको उल्लेख गरे । उनका अनुसार सिनेटले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको मिति निर्धारण गर्नेछ । सम्भवतः सिनेटले विश्वविद्यालयको वार्षिकोत्सवको अवसर पारेर आउँदो असार ३ गतेका लागि दीक्षान्त समारोह तोक्नेछ ।
मप विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले भने सिनेट जहाँ भए पनि त्यसले पारित गर्ने एजेण्डाहरू महŒवपूर्ण हुने प्रतिक्रिया दिए । सम्भव भएसम्म जिल्लामै सम्पन्न गर्दा सकारात्मक सन्देश प्रवाह हुने भन्दै उनले राजधानीमा गरे पनि निर्णयहरू विश्वविद्यालय समृद्धिको पक्षमा हुनुपर्ने बताए । स्थापनाकालदेखि नै विभिन्न विवादमा मुछिंदै आएको यो विश्वविद्यालयको सिनेट यसपाली राजधानीमा तोकिएपछि पुनः विवाद उत्पन भएको हो । विश्वविद्यालयले यही फागुन ४ गते सिनेटका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सिनेटका लागि पत्राचार गरेको थियो । तर प्रधानमन्त्री दाहालले आफ्नो कार्यतालिका व्यस्त रहेको र जिल्लामा आउन समय नभएको भन्दै आफ्नो निजी सचिवालय बालुवाटारमा सिनेटको स्थान तोकेका हुन् ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७३, बिहीबार १७:००