सडक निर्माणमा ठेकेदारको लापरबाही

 

सुर्खेत: छिञ्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक निर्माण कार्य अलपत्र परेको हो ।

गुर्भाकोट नगरपालिका वडा नं. १, ५ र ६ सहित भेरीगंगा नगरपालिकाको वडा नं. ६, ७, १० र १२ छुनेगरी सडक निर्माणको काम थालिएको थियो । सडक निर्माण सुरु गरिएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको जिम्मा पाएको कन्काई÷गणपति जेभीले काम नगर्दा सडक अलपत्र परेको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतले २०७९ वैशाख २ गते कन्काई/गणपति जेभीसँग सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेदेखि नै निर्माण कम्पनीले काममा आलटाल गरिरहेको छ । २०८१ असोजसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर, सडक निर्माण सुरु भएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । साढे नौ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । २० करोड ९० लाखमा कन्काई÷गणपति जेभीसँग सडक निर्माणको ठेक्का सम्झौता गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । वाल निर्माण, कल्भर्ट निर्माण र कालोपत्रेसम्मका काम गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणको काम हुन नसकेको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले बताए । उनका अनुसार सात महिनादेखि सडक निर्माणको काम अघि बढेको छैन । पटकपटक काम अघि बढाउन ताकेता गरिएको भएपनि निर्माण कम्पनीले काम अघि नबढाएको पौडेलले बताए ।

निर्माण कम्पनी लाचार बन्दा सडक निर्माण कार्य अलपत्र परेको गुर्भाकोट नगरपालिकाले जनाएको छ । सम्झौता भएदेखि नै सडक निर्माणको काम अघि नबढेको नगरप्रमुख हस्त पुनले बताए । सडक निर्माणको कामले गति नलिँदा स्थानीले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नुपरेको उनले बताए । पर्याप्त बजेट र काम गर्ने वातावरण हुँदा हुँदै पनि निर्माण व्यवसायीले काम नगरेको पुन बताउँछन् । काममा बेवास्ता र मनोमानी गर्ने ठेकेदारलाई ताकेता र फोन गर्दागर्दै आजित बनिसकेको उनको भनाइ छ । ‘निर्माण व्यावसायीले पहुँचको भरमा ठेक्का पार्छन् तर मन दिएर काम गर्दैनन्’, नगरप्रमुख पुनले भने ‘त्यसको प्रत्यक्ष मार हामी र जनताले खेप्नु परेको छ ।’ नगरपालिकामा आधा दर्जन ठूला योजना अलपत्र परेको भन्दै उनले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्नुपर्ने माग सम्बन्धित कार्यालयमा गरिरहेको बताए ।

सडक डिभिजन कार्यालय सुर्खेतले काम अलपत्र पारेपछि निर्माण कम्पनीलाई पटकपटक पत्रचार गरेको छ । तत्काल काम सुरु नगरे कारबाही प्रक्रिया अगाडि बढाउने कार्यालयका सूचना अधिकारी पौडेल बताउँछन् । उनले भने, ‘फागुन पहिलो हप्तासम्म काम सुरु नगरे ठेक्का रद्द गर्ने तयारीमा कार्यालय लागेको छ । कार्यालयले काम गर्न बेला–बेला ताकेता गर्ने गरेको छ ।’ उनले सडक निर्माणको काम अलपत्र पार्ने ठेकेदारको ठेक्का रद्द गर्ने जानकारी दिए ।

गुर्भाकोट नगरपालिकाका ठाउँठाउँमा ठूला आयोजना अलपत्र परेका छन् । छिञ्चु–घारीवन–काल्चे सडक, गोचे खोलाको पक्की पुल निर्माण र मेहेलकुना अस्पताल भवन निर्माण अलपत्र अवस्थामा छन् । ठेकेदारको लापरबाहीले आयोजना अलपत्र परेका हुन् ।

तीनवटै आयोजनाको काम अलपत्र पार्ने ठेकेदारको ठेक्का सम्झौता रद्द गर्न माग गरिएको नगरपालिकाले जनाएको छ । सम्बन्धित कार्यालयलाई ठेक्का रद्द गर्न र नयाँ ठेक्कामार्फत् काम गर्न भनिएको नगरप्रमुख पुनले बताए । वर्षाैंसम्म काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न नसक्नु ठूलो कमजोरी भएको भन्दै उनले नगरपालिकामा आधा दर्जनभन्दा धेरै योजना अलपत्र परेको बताए । उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीले दश वर्ष अघिदेखिका योजना अलपत्र छन् । काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्न र नयाँ ठेक्कामार्फत् काम अघि बढाउन माग गरेका छौँ ।’

प्रकाशित मितिः   १२ माघ २०८०, शुक्रबार ०५:०५