सबैको नजर शिक्षा क्याम्पसमा

सात बजेदेखि मतदान, मतगणना भोलि हुने, शक्ति मापन गर्दै दलहरु

सुर्खेत, १७ फागुन ।
आठ वर्षपछि आज (बुधवार) स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका क्याम्पसमा स्ववियुको नेतृत्व छनौट गर्न चुनाव हुन लागेको हो । सुर्खेतमा रहेका विभिन्न क्याम्पसहरूमा पनि बिहान सात बजेदेखि मतदान सुरु हुँदैछ ।
जिल्लामा रहेका अन्य क्याम्पसहरूको तुलनामा वीरेन्द्रनगरमा रहेको सुर्खेत क्याम्पस शिक्षाको स्ववियु चुनावलाई सबैले महŒवकासाथ लिएका छन् । सदरमुकाममा रहेको, सबैभन्दा ठूलो र धेरै विद्यार्थीहरू अध्ययनरत रहेकाले पनि यो क्याम्पसमा हुने चुनावलाई सबैले महŒव दिएका हुन् । यो क्याम्पसको स्ववियु नेतृत्व हात पार्नका लागि जिल्लाका राजनीतिक दलहरूले समेत अन्तिम कसरत गरेका छन् । विद्यार्थी संगठनहरूले पनि नतिजा आफ्नो पोल्टामा पार्नका लागि प्रचार–प्रसार सकेका छन् ।
सुर्खेत क्याम्पस शिक्षामा एक हजार आठ सय ५७ मतदाता छन् । यसअघि यो क्याम्पसमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको
थियो । तर यस पटक नेतृत्व आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस, एमाले र नेकपा माओवादीको जिल्ला नेतृत्व नै लागेको छ । यो क्याम्पसमा चुनाव जितेमा जिल्लाको राजनीतिमा समेत पकड रहेको पुष्टी हुने र सोही सन्देश प्रवाह हुने निश्कर्षसहित दलहरू लागिपरेका हुन् । यस्तै यही चुनावले आफ्नो शक्ति मापन हुने आँकलन राजनीतिक दलहरूले गरेका छन् । यसकारण पनि स्ववियु चुनावको नतिजा आफ्नो पक्षमा पार्न दलहरूले निकै कसरत गरिरहेका छन् । जिल्लामा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यसअघि अमरदीप क्याम्पस नेवारेमा भने अनेरास्ववियुले निर्विरोध चुनाव जितिसकेको छ । आज नै जिल्लाका जनता बहुमुखी क्याम्पस विद्यापुर, भेरी शिक्षा क्याम्पस गुमी र हिमशिखर बहुमुखी क्याम्पस रामघाटमा चुनाव हुँदैछ । सिम्ता बहुमुखी क्याम्पस राकम र गुर्भाकोट बहुमुखी क्याम्पस सहारेमा भने विवादका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । चुनावमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, जनमोर्चा निटक अखिल छैठौं, नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, नेमकिपा निकट नेक्राविसंघ तथा मोहन वैद्य र विप्लवले नेतृत्व गरेका माओवादी निकट विद्यार्थी संगठनहरूले पनि भाग लिने भएका छन् । चुनावमा बिहान सातदेखि बेलुकी पाँच बजेसम्म मतदान प्रक्रिया जारी रहने भएको छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको क्याम्पसहरूले जनाएका छन् । विद्यार्थीहरूबीच हुन सक्ने सम्भावित झडप र विवाद रोक्न सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
सुर्खेत क्याम्पस शिक्षाका प्रमुख टंकप्रसाद आचार्यले चुनावका लागि सबै तयारी पूरा भएको जनाए । उनका अनुसार शिक्षा क्याम्पसमा स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र सात जना सदस्य पदका लागि मतदान हुनेछ । १९ सदस्यीय कार्यसमिति भए पनि बाँकी पदहरूमा भने समानुपातिक प्रणालीअनुसार उम्मेदवार छनौट गरिनेछ । उनले भने, ‘चुनावका लागि हामीले सबै तयारी पूरा गरेका छौं, बुधवार मतदान हुनेछ । मतगणना भने बिहीवार बिहानबाट मात्र सुरु गर्नेछौं, चुनाव शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाएका छौं ।’ आठ वर्षपछि हुन लागेको चुनाव भएकाले सबैले चासोका साथ लिएको उनको भनाइ छ । यस क्षेत्रकै ठूलो क्याम्पस भएकाले पनि सबैको नजर शिक्षा क्याम्पसमा परेको हुन सक्ने उनले बताए । आज हुने मतदानमा यो क्याम्पसमा एक हजार पाँच सयसम्म मत खस्ने उनको अनुमान छ ।
माउ पार्टीले नै प्रतिष्ठाको रूपमा यो चुनावलाई लिएपछि विद्यार्थी संगठनहरू पनि कसिएका हुन् । उनीहरूले मंगलवार दिनभर वीरेन्द्रनगरमा प्रचार–प्रसार गरे । सबै संगठनहरूले नतिजा आफूहरूको पक्षमा हुने दाबी गरेका छन् । २८ वर्षीय उमेर हदका कारण यसपटकको स्ववियु चुनावमा नाम चलेका विद्यार्थी नेताहरूले भाग लिन पाएनन् । सुर्खेत क्याम्पस शिक्षामा नेविसंघले क्याम्पसकै इकाई उपाध्यक्ष राजकुमार सिंजापतिलाई अध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै सचिवमा राजाराम ऐडी र कोषाध्यक्षमा अस्मिता खनाल प्रतिस्पर्धा गर्दैछन् । यस्तै अनेरास्ववियुले निर्वतमान क्याम्पस कमिटी अध्यक्ष चक्रबहादुर शाहीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सचिवमा हिक्मतबहादुर बस्नेत र कोषाध्यक्षमा सुवास बिसी चुनावी मैदानमा उत्रिएका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संगठनका जिल्ला अध्यक्ष महेश जिसीलाई नै स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै सचिवमा तिलक खत्री र कोषाध्यक्षमा माधव सापकोटालाई उम्मेदवार बनाएको हो ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७३, बुधबार १६:५३