अझै बनेन राउटे संरक्षण नीति
सुर्खेत: कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याउने भनेको दुई वर्ष बित्यो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ असार ७ गते सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लियो । तर, अहिलेसम्म उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढेका खबरहरू सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया भने अघि बढेका छैनन् । डेढ वर्ष पहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् । मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहेपनि अहिलेसम्म नीति बन्न सकेको छैन ।
राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर दुई वर्षदेखि मस्यौदा थन्क्याइएको छ ।
घट्दै राउटे जनसंख्या
लोपोन्मुख राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गा शाहीको गत बिहीवार निधन भयो । लामो समयदेखि उनी बिरामी परेकी थिइन् । पछिल्लो पटक राउटे बस्ती बसेको दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ गडाज्यूलामा उनको निधन भएको हो । दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाकै वडा नं. ३ मा सरेको राउटे परियोजनामार्फत् राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । परिवारका सदस्यको निधन भए राउटे समुदायले बस्ती नै सार्ने चलन छ ।
दुर्गाको निधनपछि राउटे समुदायको जनसंख्या एक सय ३७ मा झरेको छ । जेठसम्म राउटेको जनसंख्या एक सय ४२ थियो । त्यसयता समुदायका नौ जनाले ज्यान गुमाइसकेका छन् । गत जेठ २३ गते समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको ९१ वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि शान्ति शाही, तुल्सी शाही, महिनबहादुर शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने शिशु बालकुमारी शाही, एक महिने शिशु भैरव शाहीको निधन भएको शिक्षक खत्रीले जानकारी दिए । यो अवधिमा समुदायमा नौ जनाको निधन भएको छ भने तीन बालिका र एक बालकको गरी चार जनाको जन्म भएको छ । नयाँ जन्मिएका शिशुको संख्या थपिएसँगै अहिले समुदायको संख्या एक सय ३७ मा कायम भएको हो ।
अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा रहेको छ । समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ । हाल चिसो बढेसँगै राउटे समुदायमा स्वास्थ्य समस्या पनि बढ्दै गएको राउटे परियोजनाकी स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको उनको भनाइ छ ।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो । भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा उनीहरूलाई भत्ता दिने गरिएको छ । २०४० सालमा पहिलो पटक गरिएको गणनामा राउटेको जनसंख्या तीन सयको हाराहारीमा रहेको पाइएको छ । २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरको देखियो । अहिले राउटे समुदाय जहाँजहाँ पुग्छ, सोसेक नेपालले नियुक्त गरेका चार जना कर्मचारी त्यहीँ–त्यहीँ पुग्ने गरेका छन् । परिचयपत्र वितरणपछि दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछामको सेरोफेरोमै राउटेहरू आफ्नो बस्ती घुमन्ते रूपमा सार्ने गरिरहेका छन् । उनीहरू जहाँ गए पनि गुराँस गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरी कर्णाली सरकारले व्यवस्थापन मिलाएको छ । एउटै गाउँपालिकाबाट भत्ता वितरण भयो भने जनसंख्या यकिन गर्न तथा भत्ता वितरणमा एकरूपता आउने जनाएको छ ।
सशक्तीकरणमा जोड
प्रदेशको समाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे समुदायको सशक्तीकरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले आठ लाख बजेट विनियोजन गरेको छ ।
शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सचेतना फैलाउनका लागि कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । यस्तै, संघीय सरकारले राउटे समुदायलाई मासिक प्रतिव्यक्ति चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मितिः ९ माघ २०८०, मंगलवार ०५:०५
रजनी याेगी ।