पीएम कपमा कर्णालीको दोस्रो जित

सुर्खेत: प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ । कर्णालीले बुधवार लुम्बिनी प्रदेशलाई ६४ रनले हराएको हो ।

जितको लागि एक सय ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा एक सय २४ रनमा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले ७७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४७ रन बनाए । मिर्नल गुरुङ २२, कृष्ण कार्की र निर्मल गुरुङले १०–१० रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीका अनुज चनाराले सात ओभरमा तीन मेडनसहित १८ रन खर्चेर दुई विकेट लिए । दीनेश अधिकारीले ६ ओभरमा एक मेडनसहित १८ रन खर्चेर तीन विकेट लिए । दीपेन्द्र रावतले ५.२ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । दिवान पुनले एक विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । कर्णालीका दीनेश अधिकारीले ५९ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ५६ रन बनाए । त्यस्तै दीपेन्द्र रावतले ६९ बलमा तीन चौका र एक छक्कासहित ४७ रन बनाए । एक समय ८६–७ को अवस्थामा पुगेको कर्णालीलाई आठौँ विकेटका लागि दीपेन्द्र र दीनेशले ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । हिमान्शु शाही २५, रविन्द्र शाही ११, राजेश खड्का सात र प्रकाश जैसी नौ रनमा आउट भए । लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले तीन–तीन विकेट लिए । मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले एक–एक विकेट लिए ।

कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने सुदूरपश्चिमसँग एक सय ३४ रनले पराजित भएको थियो । तीव्र गतिका बलर दीनेश अधिकारी र स्पिनर दीपेन्द्र रावतको अलराउन्ड प्रदशनमा तेस्रो खेलमा भने जित दर्ता गर्न सफल भएको हो ।

 

प्रकाशित मितिः   ४ माघ २०८०, बिहीबार ०५:०२