विमानस्थल विस्तारको पक्षमा प्रदेश सरकार

सुर्खेत: सुर्खेत विमानस्थल विस्तार गर्न कर्णाली प्रदेश सरकारले पनि पहल गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले विमानस्थल विस्तारका लागि थालेको पहलमा प्रदेशले पनि साथ दिने भएको हो ।
मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारले नीति तथा कार्यक्रममै विमानस्थल विस्तारको विषयलाई समेटेको बताउँदै आवश्यक समन्व्य गर्ने बताएका छन् । विमानस्थल विस्तारका लागि नगरपालिकाको कार्यपालिका बैठक र सर्वदलीय बैठकले गरेको निर्णय बुझाउन गएको टोलीसँग मुख्यमन्त्री शर्माले तत्कालका लागि सुर्खेत विमानस्थल विस्तारको विकल्प नभएको बताए । अर्काे विमानस्थल विस्तार हुन धेरै समय लाग्ने भएका कारण पनि तत्कालका लागि भइरहेको विमानस्थल विस्तारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले जनाए ।
नगरपालिकाको समन्वयमा गत पुस २४ गते सर्वदलीय/सर्वपक्षीय बैठक बसेर विमानस्थल विस्तारका लागि पहल गर्न ६ बुँदे निर्णय गरेको थियो । त्यसकै भोलिपल्ट बसेको नगरकार्यपालिकाको बैठकले पनि सोही निर्णयलाई पारित गरेको थियो । नगरप्रमुख मोहनमाया ढकालले दुवै बैठकबाट भएको निर्णय बुधवार मुख्यमन्त्री शर्मालाई हस्तान्तरण गरेकी छिन् । विमानस्थल विस्तारका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिदिन माग गर्दै निर्णयको छायाँप्रति मुख्यमन्त्रीलाई बुझाइएको ढकालले बताइन् ।
सर्वदलीय र नगरपालिकाको कार्यपालिका बैठकले सुर्खेत विमानस्थललाई सुरक्षित र भरपर्दो बनाउनका लागि विमानस्थल विस्तार गर्ने, विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको प्रचलित दरभाउअनुसार मुआब्जा उपलब्ध गराउने, प्रभावित क्षेत्रमा रहेको विद्यालयलाई भौतिक संरचनासहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नेलगायतका निर्णय गरेको थियो । त्यसैगरी सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका अन्य विमानस्थलमा नियममित हवाई सेवा सञ्चालन गर्न पहल गर्ने, विमानस्थलको भौतिक संरचना निमार्णको लागि सरोकारवाला निकायसँग पहल गर्ने र निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्दै संघीय सरकारसँग समन्वयका लागि पहल निर्णय भएको थियो । सोही निर्णयअनुसार मुख्यमन्त्रीलाई निर्णयको छायाप्रति हस्तान्तरण गरिएको हो ।
निर्णय बुझाउन प्रतिनिधिसभा सदस्य हृदयराम थानी, कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रतिनिधिहरू पनि पुगेका थिए । थानीले सुर्खेतमा अर्काे विमानस्थल बनाएपनि अहिलेको सुर्खेत विमानस्थललाई विस्थापित गर्न नहुने बताए । प्रदेशसभा सदस्य कँडेलले सबै सरोकारवालाहरू विमानस्थल विस्तार गर्नुपर्छ भन्ने पक्षमा उभिएका कारण तत्काल विमानस्थल विस्तार गर्नुपर्ने उल्लेख गरे ।
प्रकाशित मितिः ४ माघ २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।