बेतन कर्णालीको ‘ईआइए’ स्वीकृत

सुर्खेत: बेतन कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भएको छ । सुर्खेत र अछामको सिमानामा निर्माण हुने जलविद्युत आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली २०७७ को नियम ९ को उपनियम (८) बमोजिम इआइए स्वीकृत गरेको हो । अब (पीपीए) सम्झौता र आयोजना निर्माणको बाटो खुलेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख उपेन्द्र न्यौपानले बताए । उनका अनुसार इआइए स्वीकृतसँगै आयोजनाले निर्माणको चरणमा प्रवेश गरेको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षदेखि मुख्य आयोजनाको काम सुरु हुनेछ । आयोजनाको कार्य अघि बढाउन लगानी जुटाउने काम थालिएको छ । लगानीको सुनिश्चितता गरेपछि आयोजनाको ड्याम निर्माण, सुरुङ निर्माण र पावरहावस निर्माण लगायतका काम अघि बढाइने छ ।

यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो । आयोजनास्थल, अतिक्रमित हुने क्षेत्र र लागत अनुमान पनि टुँगो लागेको छ । आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पुर्‍याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र तीन ४५ मिटर लामो पेनस्टल पाइपबाट टरवाइनमा खसालिने छ ।

आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा विद्युतगृह, बेस क्याम्प हाउस, हेड टनेललगायतका मुख्य संरचनाहरू अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुनेछन् । बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ । आयोजना २०८० मा सुरु भइ पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः   १ माघ २०८०, सोमबार ०५:०२