पीएम कप क्रिकेट: कर्णालीको विजयी सुरुवात

 

सुर्खेत: कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतवार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको हो ।

गण्डकीले दिएको एक सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३ ओभर दुई बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै निश्चल रावलले २९ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २० रन बनाए । गण्डकीका लागि अंकित न्यौपानेले दुई विकेट लिए । विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रन बनाएको थियो । गण्डकीका लागि अम्रित गुरुङ र कमल परियारले समान २१–२१ रन बनाए । त्यस्तै आश्विन रानाले १६ रन बनाउँदा चन्द्र पौडेलले १४ रनको योगदान गरे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र शाहीले दुई–दुई विकेट लिए । त्यस्तै प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले एक–एक विकेट लिए । जितसँगै कर्णालीले एक खेलबाट दुई अंक जोडेको छ ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय टोलीहरू सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

प्रकाशित मितिः   १ माघ २०८०, सोमबार ०५:०१